शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित भर्ना लिनै छाडियो, उपचारका लागि निजीमा जानुपर्ने बाध्यता

बिहीबार, १६ वैशाख २०७८, १६ : ०६
बिहीबार, १६ वैशाख २०७८

विराटनगर । प्रदेश १ मा सरकारीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालले कोरना संक्रमित नयाँ बिरामीलाई भर्ना लिन छाडेका छन् । अस्पताल आउने सबैजसो गम्भीर प्रकृतिका बिरामी भएकाले त्यस्ता बिरामीका लागि आवश्यक अक्सिजनसहितको बेड अभावमा भर्ना लिन छाडिएको हो ।

सरकारी अस्पतालमा भर्ना लिन छाडेपछि निजी अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । प्रदेश १ का तीन ठुला अस्पतालले अहिले छुटै कोभिड उपचार केन्द्र सञ्चालन गरी संक्रमितहरुको उपचार गरिरहेका छन् ।

झापाको बिएण्डसी, विराटनगरको नोबेल र विराट शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको कोभिड युनिटमा गम्भीर खालका संक्रमितहरु भर्ना भएका छन् । उनीहरुलाई अक्सिजनको सहायतामा उपचार गरिरहेको ती अस्पतालले जनाएका छन् ।

सरकारी अस्पतालमा बेड भए पनि छैन सुविधा

प्रदेश सरकारले सञ्चालन गरिरहेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक सय ८० बेड छन् । तीमध्ये ३२ बेडमा मात्र बिरामी छन् । अक्सिजनसहितको ३२ बेडमात्र रहेकाले थप गम्भीर खालका बिरामी भर्ना गर्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । सरकारी अस्पतालले भर्ना लिन नमानेपछि बिरामीहरु बाध्य भएर निजी अस्पतालतिर जानु परेको छ । निजी अस्पतालमा उपचार गर्दा उपचार शुल्क बिरामीले नै तिर्नुपर्छ । सरकारी अस्पतालमा भने निःशुल्क उपचार हुँदै आएको छ ।

विराटनगरस्थित विराट शिक्षण अस्पतालको कोभिड अस्पतालमा ६०, नोबेल अस्पतालको कोभिड अस्पतालमा १७ र झापाको बिएण्डसी अस्पतालको कोभिड युनिटमा ३ जना गम्भीर खालका संक्रमितको उपचार भईरहेको छ ।

विराटनगर शिक्षण अस्पतालका निर्देशक डा डेनिस कार्कीले कोरोनाको दोश्रो लहर सुरु भएसँगै अक्सिजनसहितको छुट्टै १२० बेडको कोभिड युनिट सञ्चालनमा ल्याएकोमा अहिलेसम्म ६० जना गम्भीर खालका संक्रमित भर्ना भई उपचाररत रहेको बताए ।

उनले केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढेकाले संक्रमितहरु अस्पतालमा भर्ना हुने क्रम पनि बढेको बताए । अस्पतालले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने संक्रमितलाई मात्र अस्पताल भर्ना गरेको उनले बताए ।

‘अस्पतालको आफ्नै पिसिआर मेसिन छ,’ निर्देशक कार्कीले भने, ‘दैनिक परीक्षणमा १ सयजना जतिमा कोरोना संक्रमण देखिएको छ ।’ गम्भीर खालकालाई अस्पताल भर्ना गरेर अरुलाई होम आइसोलेशनमा पठाउने गरेको उनले बताए ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले पनि केहीदिन यता कोरोना संक्रमण भएर गम्भीर खालका स्वास्थ्य समस्या भएका बिरामीहरु अस्पताल आउने क्रम बढेको बताए ।

उनले अस्पतालले कुल १५० बेडको छुट्टै कोरोना युनिट सञ्चालनमा ल्याएकोमा संक्रमित थपिने क्रम बढिरहेको बताए । उनका अनुसार हाल भेन्टिलेटरसहितको २५ बेडको कोभिड युनिट सञ्चालनमा रहे पनि बिरामीको संख्यामा हुने वृद्धिसँगै बेड संख्या पनि क्रमिक रुपमा वृद्धि गर्दै लैजाने बताए ।

उता झापको बिएण्डसी अस्पतालमा भने विराटनगरका दुई अस्पतालको तुलनामा कम बिरामी छन् । अस्पतालका जनसम्पर्क प्रमुख प्रनिस गिरीका अनुसार अहिले अस्पतालले सञ्चालनमा कोरोना युनिटमा २० बेड छन्, जसमा पाँच बेड भेण्टिलेटरसहितको छ । हाल कोराना युनिटमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख १० गतेबाट विराटनगरका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि छुट्टै कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप