शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा गोलमाल : ५० को दशककै संसदीय विकृतिको झल्को !

बिहीबार, १६ वैशाख २०७८, ११ : ३८
बिहीबार, १६ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा बैठकमा पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफल भइरहँदा बुधबार राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको चर्चा चल्यो । अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको जनमोर्चाका तीनमध्ये एक सांसद बुधबार प्रदेशसभा बैठकमै पुगेनन् ।

कुल ६० सदस्यीय प्रदेशसभामा अविश्वास प्रस्ताव पारित गर्नका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २७ सांसदमात्र छन् । त्यसैले, अन्य दलको समर्थनविना एमाले नेतृत्वको सरकारले निरन्तरता नपाउने निश्चित छ ।

तर, प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल मिलेर मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने लगभग निश्चित भइसकेको थियो । यी चार दल मिल्दा प्रदेशसभामा पूर्ण बहुमत अर्थात ३१ सांसद जुट्छन् ।

तर, यसमा एक सांसद मात्र कमी भएको अवस्थामा अविश्वास प्रस्ताव पारित हुन सक्दैन । अर्थात्, एक जनामात्र सांसद कम भए अविश्वास प्रस्ताव विफल हुन्छ ।

बुधबार प्रदेशसभा बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमबहादुर शाहीको अत्तोपत्तो रहेन । बेलुकामात्र थाहा भयो, उनी अस्पताल भर्ना भएका रहेछन् । अघिल्लो दिन प्रदेशसभामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनी भोलिपल्टै अर्को ठाउँमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएकोे भन्दै अस्पताल भर्ना भएका थिए ।

पीसीआरले जन्माएको आशंका

प्रदेश सरकारले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको चाल पाएर एकाएक हिउँदे अधिवेशन अन्त्य गरिदियो । विपक्षी दलहरु मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन दिए । सोही आधारमा वैशाख १३ देखि प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

 

बैठकको सुरुमै सत्ता पक्षले पीसीआर परीक्षण गरेरमात्र बैठक सञ्चालन गर्न माग गरेको थियो । दोस्रो दिन सत्ता पक्षले बैठक सञ्चालन हुनै दिएन । सत्ता पक्षको माग बमोजिम सांसदहरुको पीसीआर परीक्षण गरियो भने तीन जना सांसदमा संक्रमण पाइयो । उनीहरुलाई संसद बैठकमा सहभागी हुन नदिने तर मतदानमा भाग लिन मिल्ने गरी व्यवस्था गरियो ।

तर, तेस्रो दिन जनमोर्चाका सांसद शाही एकाएक पार्टीको सम्पर्कमा नरही प्रदेशसभामा समेत अनुपस्थित रहेपछि विपक्षी दलहरुले अनेक आशंका गरे । अविश्वास प्रस्ताव दर्ता हुने छाँट देखेर एकाएक प्रदेशसभाको अधिवेशन अन्त्य गराएका मुख्यमन्त्री गुरुङले संसदीय अभ्यासका क्रममा ५० को दशकमा देखिएका विकृतिलाई प्रदेशसभामा भित्र्याउन खोजेका त होइनन् भन्नेतर्फ पनि दलहरुले आशंका जनाए ।

अविश्वास प्रस्तावमाथि बुधबार प्रदेशसभामा छलफल भइरहेको समय आफ्नो पार्टीका एक सांसद बेपत्ता भएपछि जनमोर्चाकी सांसद प्यारी थापासहितको टोली संसद भवनबाट बाहिरिएर खोजीमा जुटेको थियो । सम्भावित ठाउँमा पुग्दासमेत सांसद शाहीको अत्तोपत्तो नभएपछि उनीहरु १ घण्टापछि रित्तै फर्किएका थिए ।

लगत्तै उनले आफ्नो दलका सांसद बेपत्ता भएको भन्दै सभामुख समक्ष खोजी गर्न र बैठक स्थगित गर्न मागसहित निवेदन दिइन् । सांसद थापाले शाहीको खोजीमा दौडधुप गरिरहँदा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा भने सांसद अनुपस्थित भएकोमा बेखबरजस्तै देखिन्थे । उनी सांसद शाही बेपत्ता भएकोबारे आफूलाई जानकारी नभएको बताइरहेका थिए ।

जे होस्, बुधबारको नाटकीय घटनाले अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया केही समयका लागि लम्बिएको छ । सुरुमा प्रदेशसभा अधिवेशन अन्त्य गरेर दुई साता सत्ता लम्ब्याएको प्रदेश सरकारले विशेष अधिवेशनको दोस्रो दिन बैठक अवरुद्ध गरेर प्रक्रियालाई लम्ब्याएको थियो । तेस्रो दिन सांसद बेपत्ता प्रकरणले प्रदेशसभाको अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । यी सबै घटनाक्रमले कतै न कतै सत्ता पक्षलाई नै फाइदा पुग्ने देखिएकाले सत्ता पक्षबाटै विभिन्न चलखेल हुन थालेको दलहरुको आँकलन छ ।

रिपोर्ट छानविनको माग

प्रदेशसभा चलिरहँदा हराएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको कोरोना रिपोर्ट दुईथरी आएपछि छानविन गर्न माग गरिएको छ । चरक अस्पतालमा उपचाररत सांसद शाहीलाई मंगलबार प्रदेशसभामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । बुधबार लाइफ केयर डाइग्नोस्टिकको ल्याबबाट आएको उनको रिपोर्ट भने पोजेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएका उनको दुईवटा रिपोर्टमा फरकफरक नतिजा देखिएको हो । एकैदिन फरकफरक रिपोर्ट आएपछि ल्यावको विश्वसनियतामै प्रश्न उब्जिएको भन्दै सांसदहरुले प्रयोगशालामाथि नै छानविन हुनुपर्ने बताएका छन् ।

सत्ता पक्षको बेग्लै तर्क

जनमोर्चाकी सांसद प्यारी थापाले सांसद शाही बेपत्ता भएको भन्दै निवेदन दर्ता गराएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि संसदको बैठक स्थगित गरिदिए । सभामुखले बैठक स्थगित गरेपछि एक सांसद अनुपस्थित हुँदैमा सदनको महत्त्वपूर्ण कारवाही रोकेको भन्दै सत्तारुढ दल एमालेले आपत्ति जनाएको छ । एमालेका सचेतक मायानाथ अधिकारीले सभामुखको भूमिकामा प्रश्न उठाएका छन् ।

उनले एकजना सांसद बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा संसद नै स्थगित हुनु विडम्वनापूर्ण भएको बताए । अविश्वास प्रस्ताव पारित नहुने संकेत देखेर सभामुखले नियतवस् प्रक्रिया लम्ब्याउन खोजेको आरोप सत्तारुढ दलको छ ।

सभामुखले यसअघि कार्यव्यवस्था परामर्श समितिकै सल्लाहअनुसार काम गर्दै आएको भए पनि अहिलेको प्रकरणमा उनले एकपक्षीय व्यवहार देखाएको एमालेका प्रमूख सचेतक मायानाथ अधिकारीले बताए ।

यसैवीच, चरक अस्पतालमा भर्ना भएका जनमोर्चा सांसद शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार बेलुका अस्पतालमै पुगेका थिए । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

सांसद शाहीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार भइरहेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै संयोजक न्यौपानेले बताए । उनले शाहीलाई मुख्यमन्त्रीले भेट्न खोजे पनि अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डको कारणले भेट्न नदिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप