बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजमोले सरकारलाई सोध्यो : सांसद शाहीलाई बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?

बिहीबार, १६ वैशाख २०७८, ०९ : ३९
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)ले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको अवस्थाबारे जानकारी गराएको छ । जनमोर्चाकी उपाध्यक्ष  तथा प्रवक्ता दुर्गा पौडेलद्वारा विहीबार जारी विज्ञप्तिमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद शाहीको अविश्वासको प्रस्तावको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको उल्लेख छ ।

गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको भन्दै मतदानको बेला सांसद शाहीको अनुपस्थितिले आश्चर्य र दुःख भएको पौडेलको भनाइ छ । उनलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको उनले जानकारी दिइन् ।

'गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ?,' उनको प्रश्न छ ।

 त्यो कुरा बुझ्न आफूहरु असमर्थ भएको पौडेलले बताइन् ।

'अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्थाबारे जानकारी गराउन माग गरेकी थिइन् । यस्तै उनले सांसद शाही संसदमा उपस्थित नहुँदासम्म अविश्वासको प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न सभामुख समक्ष निवेदन दिएकी थिइन् ।

त्यसका आधारमा गण्डकी प्रदेशको संसदलाई सभामुखले अनिश्चितकालका लागि स्थगित गरेको जानकारी प्राप्त भएको पौडेलले जानकारी दिइन् ।

गण्डकी प्रदेशको संसदको गतिविधिलाई आफूहरुले अस्वभाविक रुपमा लिएको उनको भनाइ छ । 'संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । खिमविक्रम शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि हामीले जानकारी दिनेछौँ,' विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहाेस्  विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप