बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको पूर्व सन्ध्यामा नेप्सेमा दोहोरो अंकको गिरावट

बुधबार, १५ वैशाख २०७८, १७ : ५९
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कोभिड–१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा यता निषेधाज्ञाको अघिल्लो दिन नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घट्न पुगेको हो । 

बुधबार नेप्से १३.७९ अंकले घटेर २ हजार ५ सय ८५ अंकमा झरेको छ ।  यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव १२ अंकमा कायम भएको छ ।  बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । गत आइतबारदेखि लगातार घट्दो क्रममा रहेको नेप्से कारोबार बुधबार ३ अर्ब ९९ करोडमा सिमित भएको छ । जबकी गत आइतबार करिब ७ अर्बको कारोबार भएको थियो । तुलनात्मक गत आइतबारदेखि बुधबारसम्म आइपुग्दा नेप्से कारोबारमा झण्डै ५० प्रतिशतकै गिरावट आएको छ । 

बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा महिला लघुवित्त र विशाल बजार कम्पनी रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड र प्रोग्रेसिप फाइनान्स लिमिटेड रहेका छन् ।  महिला लघुवित्त र विशाल बजारका लगानीकर्ताहरूले समान ९.९९ प्रतिशत कमाउँदा पोखरा फाइनान्स र प्रोग्रेसिप फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ६.१५ प्रतिशत र ४.४९ प्रतिशतले गुमाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप