निषेधाज्ञामा पनि ‘निफ’ नरोकिने
कोरोनाको कहरका कारण सरकारले फिल्म हल फेरि बन्द गरेको छ । फिल्म प्रदर्शन रोकिए पनि फ्लोरमा रहेका फिल्मका छायाँकन भने भैरहेका छन् ।
सरकारले १६ गतेबाट गर्न लागेको निषेधाज्ञामा भने ति फिल्मका छायाँकन पनि रोकिनेछन् ।
तर, निषेधाज्ञाले पनि ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१’ भने नरोकिने भएको छ । कोरोनाको कहरका कारण अनलाइनमार्फत आयोजना हुन लागेको यो फेष्टिभलाई अहिलेको परिस्थितीले केही फरक नपर्ने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
महोत्सवका लागि यो पटक नेपाली चलचित्र ‘लाटो कोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमाखान्डो’ फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएका छन् ।
विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त महोत्सवमा ३१ देशका ६३ चलचित्र मात्र प्रस्तिस्पर्धामा रहेका छन् । ति सबै अनलाइन मार्फत देखाइनेछ ।
‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकासको अभिप्रायले सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्म अलग्गै क्याटागोरीमा प्रतिस्पर्धा गर्नेछन् । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।
यसैगरि, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डल र राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ ।
महोत्सव वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।