बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली अस्पतालमा अक्सिजन अभाव

मङ्गलबार, १४ वैशाख २०७८, २२ : ५२
मङ्गलबार, १४ वैशाख २०७८

कञ्चनपुर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् ।

अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले अस्पतालमा अक्सिजनको अभाव हुन थालेको बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकताअनुसार अक्सिजन दिन नसकेको बताए । “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ”, डा.रोकायाले भने, “सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ ।” पचास श्ययाको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । 

त्यसैगरी सोमबार राति भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको जानकारी दिए । उनले प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए । “महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हुँदैछ”, जोशीले भने, “सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा थियो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप