मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरु असन्तुष्ट

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ४४
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अस्पतालहरुमा भएका अक्सिजन प्लान्टहरु बिग्रिएको अवस्थामा रहेको तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको बताए । उनले अक्सिजन प्लान्ट पनि तत्काल थप्न माग गरे । त्यसबाहेक पीसीआर परीक्षण गत वर्षको जति पनि नभएको भन्दै समुदाय स्तरमा पुगेर परीक्षण गर्नुपर्ने बताए । देशभरका अस्पतालहरुमा रहेको भेन्टिलेटर, अक्सिजन र बेडहरुको अडिट गरी विरामीले सहजै पाउने व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनीहरु रहेको तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरुसँग छलफल नगरेको बताए । यसबाट मन्त्रालय कति लापरवाही छ भन्ने कुरा प्रष्ट भएको पनि बताए । वीर अस्पताल, पाटन अस्पताल, धरान अस्पताल लगायतका अस्पतालमा रहेका अक्सिजन प्लान्टहरु बिग्रिएको तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको पनि बताए ।

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड विरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पीसीआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने बताए । उनले जनशक्ति, औषधी, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन मन्त्रालयलाई आग्रह गरे ।

नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले कोभिड विरामीको उपचारको लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताए । गत वर्षभन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । सरकार योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको पनि बताए । उनले पनि अस्पतालमा आवश्यक पर्ने अक्सिजनको अभाव रहेको बताए ।

नेकपा (मओवादी केन्द्र)की सांसद अन्जना विशंखेले पहुँचहुने सांसदहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालहरुमा समान्य माक्स समेत नजाने अवस्था रहेको बताइन् ।
सांसदहरुले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनको लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भएपनि करारमा लिनु पर्नेमा जोड दिएका छन् । अहिले काम गरिराखेका स्वास्थ्यकर्मीहरुले गत वर्षको पाउनुपर्ने सुविधा समेत नपाएको अवस्थामा उनीहरुको मनोवल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप