मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

बल्ल स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र निकाल्दै सरकार

मङ्गलबार, १४ वैशाख २०७८, १५ : १०
मङ्गलबार, १४ वैशाख २०७८

नेपालीमा एउटा उखान छ ‘जब पर्‍यो राति, तब...’ । अहिले याे उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बल्ल स्वास्थ्य सामग्री खरिद गर्न सार्वजनिक बोलपत्र निकाल्दैछ ।

मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बोलपत्र गर्दै अस्पतालका लागि आवश्यक मोड्युलर अप्रेशन थिएटर र ओआर कम्प्लेक्ससहित डाक्टरका लागि आवश्यक उपकरणहरुको खरिद सूचना निकालेको छ । पूर्ण प्याकेजमा खरिद आह्वान गरेको मन्त्रालयले प्रस्तावित स्वास्थ्य सामग्रीहरूमा ओआर स्टिम, ओटी इक्युमेन्ट, ओटी कम्प्लेक्स र डिसमेन्टेलिङ्ग एण्ड सिभिल वर्कस् खरिदका लागि बोलपत्र गरेको हो ।

वैशाख १४ गते पहिलो पटक सार्वजनिक बोलपत्र आह्वान गरेको मन्त्रालयले ढिला गरी जेठ १३ गते भित्र खरिद प्रस्ताव पेस गरिसक्नु पर्ने बताएको छ । जसका लागि ५०० रुपैयाँको दरखास्त शुल्क सहित २४ लाख रुपैयाँ बैंक जमानत समेत राख्नु पर्ने जनाएको छ ।

त्यसो त गत फागुन २१ गते नै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सार्वजनिक बोलपत्र मार्फत कोभिड–१९ को परिक्षण किट्स पीसीआर मेसिनसहितको अन्य किट्स खरिदको बोलपत्र आह्वान गरेकोमा उक्त बोलपत्रको खरिदकर्ता समेत आज मात्र छनोट गरिएको छ ।

प्याकेजमा पीसीआर मेसिन, डीएनए प्रोफाइलिङ्ग किट्स एण्ड एसोसरिज, डीएनए किट्स केमिकल रिएजेन्ट एण्ड एसोसरिजका खरिदका लागि भएको सार्वजनिक बोलकबोलमा भर्खर मात्र तीन वटा कम्पनी छनोट भएका छन् ।

यता, गत प्रदेश तर्फ पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेशले गत माघ २८ र फागुन २ गते नै सार्वजनिक बोलपत्र मार्फत् स्वास्थ्य सामग्री खरिद बोलपत्र गरेकोमा मंगलबार मात्र खरिदकर्ता छनोट गरेको छ । यसले कोभिड–१९ को संक्रमणले मुलुक नराम्रोसँग प्रभावित हुँदासमेत अत्यावश्यक स्वास्थ्य सामग्री खरिद हुने अवस्था देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप