मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा भारत : अमेरिकी राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग मोदीको टेलिफोन वार्ता

सोमबार, १३ वैशाख २०७८, २३ : ३९
सोमबार, १३ वैशाख २०७८

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार राष्ट्रपति बाइडेनसँग आफ्नो मुलुकमा गहिँरिदै गएको कोरोना संकट र त्यसको चूनौती सामना गर्ने विषयमा केन्द्रीत रहँदै टेलिफोन सम्वाद गरेका हुन् । टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना संकटमा फसेको भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्  ।

बाइडेनसँगको टेलिफोन सम्वादलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत अमेरिका भारतलाई सहयोग गर्न तयार रहेको बताएका छन् । मोदीले भनेका छन्- ‘हामीले कोरोना खोपको कच्चा माल र औपधिहरुको आपूर्ति श्रृंखलालाई कसरी सुव्यवस्थित गर्ने भन्ने बारेमा छलफल गर्यौं । भारत र संयुक्त राज्य अमेरिकाबीच स्वास्थ्य सेवा साझेदारीले कोभिड १९ द्वारा विश्वमा उत्पन्न चूनौतीहरुको सामना गर्न सक्छ । हामीले दुबै देशहरुमा महामारीले सिर्जना गरेको अवस्थाका बारेमा विस्तारपूर्वक कुरा गर्यौं ।’

यसअघि अमेरिकाले भारतलाई कोरोना खोपको कच्चा पदार्थ उपलव्ध गराउन रोकेको थियो । तर पछिल्ला दिन कोरोना महामारीको चपेटामा पर्दै गएपछि केही दिन अघिमात्रै  अमेरिकाले भारतलाई कोभिशिल्ड कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चा पदार्थ दिन सहमत भएको थियो । योसँगै अमेरिका भारतलाई स्वास्थ्यसम्बन्धी अन्य धेरै मद्दत गर्ने तयारीका साथ अगाडि आएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सोमबारै मोदी जापानका प्रधानमन्त्री यशोहिडे सुगासँग पनि टेलिफोन वार्ता गरेका छन् ।  टेलिफोन संवादका क्रममा जापानका प्रधानमन्त्री सुगाले संगठित र सामूहिक प्रयासले मात्र महामारी विरुद्ध लड्न सकिने बताएका छन् । त्यसका लागि देशहरुबीच पारस्पारिक सहयोग धेरै महत्वपूर्ण हुने र जापानको तर्फबाट भारतलाई सहयोग गर्ने बचन समेत प्रधानमन्त्री सुगाले मोदीलाई दिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजार बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १ करोड ७५ लाख ८१ हजार ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भैसकेको वल्ड्रोमिटरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप