शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आधा दर्जन बैङ्कको नाफा अर्बभन्दा माथि, कुन बैङ्कको वित्तीय अवस्था कति बलियो ?

सोमबार, १३ वैशाख २०७८, १७ : ५५
सोमबार, १३ वैशाख २०७८

बैङ्कहरूले नाफा कमाएको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । चालू आर्थिक वर्ष (२०७७÷७८) को नौ महिनामा (साउनदेखि चैतसम्म) वाणिज्य बैङ्कहरूले नाफा कमाएका छन् । कोरोना महामारीका बीचमा पनि वाणिज्य बैङ्कका अधिकांश सूचकमा राम्रो प्रगति देखिन्छ । हालसम्म आधा दर्जन वाणिज्य बैङ्कहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सरकारको स्वामित्वमा रहेको वाणिज्य बैङ्कले सबैभन्दा बढी नाफा गरेको छ । पाँच बैङ्कको नाफा अर्बभन्दा बढी छ भने सिभिल बैङ्कको नाफा भने ५० करोड माथि रहेको देखिन्छ ।

कुन बैङ्कको वित्तीय सूचक कति बलियो ?

प्रभु बैङ्क

प्रभु बैङ्कको अधिकांश सूचकमा सुधार छ । बैङ्कको खुद नाफा ४४.०८ प्रतिशतले वृद्धि भई २ अर्ब १० करोड ९६ लाख रुपैयाँ पुगेको छ । वितरण योग्य नाफा पनि १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ छ । रिजर्भ कोष पनि बढेको छ । प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ८६ पैसाले बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ । प्रभु बैङ्कले आगामी दिनमा साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने योजना बनाएको छ ।

नेपाल बैङ्क

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैङ्कले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १३.३० प्रतिशतले बढी हो । गत वर्ष बैङ्कले १ अर्ब ९९ करोड ६५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख ५२ हजार रुपैयाँ छ । अघिल्लो वर्ष बैङ्कको वितरणयोग्य नाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक थियो । बैङ्कको खुद ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ अर्ब २१ करोड ८२ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता सञ्चालन नाफा पनि २९.३२ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड ९३ लाख ३६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा नेपाल बैङ्कको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ७० रुपैयाँ २२ पैसा छ ।

राष्ट्रिय वाणिज्य बैङ्क

हालसम्म यस बैङ्कले सबैभन्दा बढी नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैङ्कको खुद नाफा ७.६९ प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैङ्कले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैङ्कको वितरण योग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ८.९८ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ६.१५ प्रतिशतले बढेको छ । बैङ्कले निक्षेप सङ्कलन ६९.९७ प्रतिशत र कर्जा लगानी १२७.०८ प्रतिशतले बढाउन सफल भएको छ । बैङ्कले खराब कर्जासमेत घटाएको छ । खराब कर्जा ४.६४ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा सीमित भएको छ । चैत मसान्तसम्ममा यसको बेस रेट ५.५० प्रतिशत छ ।

सिटिजन्स बैङ्क

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैङ्कको अधिकांश सूचकमा आकर्षक वृद्धि छ । बैङ्कको खुद नाफा ४१.६१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैङ्कले १ अर्ब ९ करोड १२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा २२७.५७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ६२ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

 अघिल्लो वर्षको यसै अवधिमा बैङ्कको वितरणयोग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ ।

सिभिल बैङ्क

यता सिभिल बैङ्कको नाफा भने अर्ब पुग्न सकेको छैन । यद्यपि यसको नाफा भने बढेकै छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिभिल बैङ्कको नाफामा ३९.३९ प्रतिशतले बढेर ५० करोड २५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैङ्कले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैङ्कको वितरणयोग्य नाफा ३० करोड ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैङ्कको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । सञ्चालन नाफा २६.४२ प्रतिशतले बढेर ६८ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ ।

बैङ्कको खराब कर्जा १.८३ प्रतिशतले घटेर १.१३ प्रतिशतमा झरेको छ । गत वर्ष खराब कर्जा २.९६ प्रतिशत थियो । बैङ्कको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा छ ।

कुमारी बैङ्क

कुमारी बैङ्कले पनि नाफा अर्बभन्दा माथि पु¥याएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा सुधार गरेको यस बैङ्कको खुद नाफा ७५.५८ प्रतिशतले वृद्धि भएको हो । बैङ्कको नाफा १ अर्ब ८० रुपैयाँभन्दा धेरै छ । उता वितरणयोग्य नाफा पनि झण्डै १ अर्ब पुगेको छ । प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २४ पैसाले बढेर १७ रुपैयाँ ३७ पैसा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप