आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

मोरङ र सुनसरीमा मात्र पाँचवटा ठूला अक्सिजन प्लान्ट

प्रदेशका ठूला अस्पतालमा छैन अक्सिजनको अभाव, सिलिण्डरको भने संकट
मङ्गलबार, १४ वैशाख २०७८, ०७ : १८
मङ्गलबार, १४ वैशाख २०७८

विराटनगर । कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ ।

तर प्रदेश १ मा अक्सिजनको अभाव झेल्नु नपर्ने अवस्था रहेको अक्सिजन प्लान्ट उद्योगीहरुले जनाएका छन् । उनीहरुका अनुसार प्रदेशमा अक्सिजन उत्पादनको अवस्था सन्तोषजनक रहे पनि सिलिण्डर भने कुनै पनि समय अभाव हुन सक्ने देखिएको छ ।

डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको उद्योगीहरुले बताएका छन् ।

प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरु पनि यहीँ भएका कारण विरामीको चाप सधैं उच्च हुने गरेको छ । तर, कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजनको सिलिण्डरको भने यहाँ ठूलो अभाव छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् । तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ ।

‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ’, उनले भने ‘तर, सिलिण्डर अभावका कारण ठूलो परिमाणमा अक्सिजन चाहिँदाचाहिँ समस्या हुनसक्ने स्थिति छ । यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं ।’

उद्योगीले चाहेजति अक्सिजन आपूर्ति गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि सचिव कार्कीले बताए ।

सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

सुनसरी र मोरङ जिल्लामा पाँचवटा अक्सिजन प्लान्ट छन् । ती उद्योगले दैनिक ४ सयदेखि ५ सय वटासम्म सिलिण्डर ‘फिल’ गरिरहेका छन् ।

विराटनगरस्थित विनायक अक्सिजन इण्डष्ट्रीका प्रमुख अमित सारडाका अनुसार ती उद्योगसँग यसको तेब्बर बढी अक्सिजन भर्ने क्षमता छ । तर, क्षमता अनुसार सिलिण्डर भने नभएको उनले बताए ।

‘अक्सिजनको अभाव प्रदेश १ का ठूला अस्पतालले सामाना गर्नुपर्ने अवस्था छैन,’ उद्योगी सारडाले भने, ‘समस्या यति हो, अहिले पनि हामीसँग पर्याप्त सिलिण्डर छैन । जसका कारण चाहेर पनि भनेजति अक्सिजन भर्न पाइएको छैन ।’

उद्योगी सारडाका अनुसार मोरङ र सुनसरी क्षेत्रमा पाँचवटा ठूला अक्सिजन प्लान्ट भएका उद्योग छन्, जसले चाहिने जति अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् ।

अक्सिजन उत्पादक उद्योगीहरुका अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि सबैतिर पुगेका सिलिण्डरहरु ‘होल्ड’ भएर बसेका छन्, जसले गर्दा सिलिण्डरको रोटेसन ठप्पजस्तै छ ।

उद्योगी सारडाले अस्पताल, क्लिनिकहरु र घरमा पुगेका अक्सिजन सिलिण्डर आवश्यक नपर्नेहरुले पनि ओगटेर राखिदिएकाले समस्या रहेको सुनाए । जसका कारण क्षमता भएर पनि अक्सिजन भर्न नपाइएको उनले बताए ।

सिलिण्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिण्डरकै रहेको बताए । नचाहिनेहरुले पनि ओगटेर राखेपछि सिलिण्डर अभाव भएको छ,’ पाण्डेले भने, ‘अहिले हामी खाली सिलिण्डरको तीव्र खोजीमा छौं ।’

अधिकांश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट

प्रदेश १ मा मोरङ, सुनसरी र झापामा रहेका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउन नपर्ने अवस्था छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैले उत्पादन गरिरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार आफूलाई चाहिने मात्रामा उत्पादन हुँदै आएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।

मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए ।

अधिकांश पाइपलाइनमा

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ संक्रमितको उपचारका लागि ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको उनको भनाइ छ ।

विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले ६० लाखको लागतमा प्लान्ट निर्माणको काम भइरहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप