आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरको कोभिड–१९ उपचार केन्द्र दुई सातामै भरियो

थप एक सय बेडको कोभिड अस्पताल सञ्चालनको तयारी
सोमबार, १३ वैशाख २०७८, १३ : २५
सोमबार, १३ वैशाख २०७८

विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो ।

अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा. एपोलो भगतले बताए ।

अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् ।

‘अस्पतालमा आएकामध्ये अक्सिजनको मात्रा घटेका अति सिकिस्तलाई मात्र भर्ना लिने गरेका छौं,’ भगतले भने, ‘अस्पतालमा भेटिलेटरसहितको सबै बेड भरिएको छ ।’ आईसीयू र भेन्टिलेटर बिरामीले भरिएकाले अब गम्भीर खालका कोरोनाभाइरस संक्रमितलाई पनि अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

प्रदेश सरकारको निर्देशनअनुसार अक्सिजन लिनु नपर्ने प्रकारका संक्रमितलाई भने भर्ना नलिइएको डा. भगतले बताए । उनले सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमै पठाउने गरेको उनको भनाइ छ ।

प्रदेशमा कोरानाको दर शून्यमा भरेपछि सो अस्पताल बन्द गरिएको थियो । कोरोनाको दोश्रो लहर सुरु भएसँगै प्रदेश सरकारले चैत २४ गते कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा ल्याएको हो ।

प्रदेशका कोभिड अस्पतालमा कति छ क्षमता ?

सामाजिक विकास मन्त्रालयका अनुसार धरानको बीपी प्रतिष्ठानमा कोभिड उपचार केन्द्रकै लागि ७२ वटा आइसीयू र १९ वटा भेन्टिलेटरसहितको एक सय बेड सञ्चालनमा छन् । कोशी अस्पतालमा आइसीयू ६ वटा, भेन्टिलेटर ५ वटा, मेची अस्पतालमा ६ वटा आइसीयू सञ्चालनमा छन् ।

प्रदेश सरकारको पहलमा स्थापित कोशी कोभिड अस्पतालमा कूल १८० बेडमध्ये पछाडि थपिएको एक सय वटा बेड अक्सिजनसहितका छन् । तर, विद्युतीय उपकरणहरुको सेटिङ भइनसकेका कारण ती सय बेड सञ्चालनमा आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ ।

‘बेडहरु तयारी अवस्थामा छन्’, अस्पतालका संयोजक एपोलो भगतले भने, ‘तर, अक्सिजन सञ्चालनका लागि चाहिने विद्युतीय उपकरणहरु धमाधम जडान भइरहेको छ । त्यसैले तीन/चार दिनमा सकेर सञ्चालनमा आउनेछ ।’

यो अस्पतालमा ३० वटा भेन्टिलेटर र ५० वटा एचडीयु कक्ष छन् । सामाजिक विकास मन्त्रालयको अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख डा संगिता राईले  संक्रमतिको उपचारको व्यवस्थापनका लागि अस्पतालमा बेड र जनशक्ति अभाव नहुने गरी तयारी भइरहेको बताइन् ।

भोलिबाट थप एक सय बेडको अस्पताल सञ्चालन गर्ने तयारी

कोरोनाको दोश्रो लहरसँगै विराटनगरसहित प्रदेशभरी सक्रिय संक्रमितको दर उच्च हुँदै गएपछि प्रदेश सरकारले भोलिबाट थप एक सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । विराटनगरको कोभिड १९ उपचार केन्द्रको दोश्रो ब्लकमा रहेको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो ।

कोरानाको लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनको तयारी भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

‘अस्पतालका सबै शय्यामा अक्सिजन सप्लाईका लागि प्राविधिक बाँकी काम साँझसम्ममा पूरा हुनेछ,’ सचिव कार्कीले भने, ‘आज सम्पूर्ण तयारीको काम सकेर भोलिबाट आवश्यक सेवा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ ।’

प्रदेश सरकारले भोलिबाट अस्पतालबाट थप सेवा सञ्चालन गर्ने निर्णय बमोजिम सोही अनुसार काम भइरहेको उनले बताए ।

सचिव कार्कीले पछिल्ला दिनमा कोरोना संक्रमितको दर बढेदै गएको अवस्थामा प्रदेशमा थप एक सय शय्याको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनमा आएसँगै संक्रमितहरुको उपचारमा सहज हुने विश्वास लिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप