फिचर

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीका ‘असफलता’ का किस्सा

‘आजसम्म कसैसँग झुक्न जानिएन’

person explore access_timeबैशाख १३, २०७८ chat_bubble_outline0

 

सफलताको सम्बन्ध कामसित हुन्छ । सफल मानिसहरु सधैं गतिशील हुन्छन् । उनीहरुले गल्ती गर्लान्, तर कहिल्यै मैदान छाड्दैनन् ।...

एकजना पुराना अमेरिकी विश्लेषकको माथिको भनाइपूर्वगर्भनर एवं योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको हकमा लागु हुन्छ । क्षेत्रीले असफलतामा मैदान छाडेनन्, उनीसँग असफलताको लामो सूची छ ।

एउटा मानिस आफ्नो जीवनयात्रामा पटक–पटक असफल भएर पनि कसरी सफलताको शिखरमा पुग्न सक्छ भन्ने उत्प्रेरक उदाहरणका लागि पूर्वगर्भनर क्षेत्रीले भोगेका असफलताहरु हेरे पुग्छ ।

भारतीय स्कुलमा चिनियाँ सामाग्री पढेको भन्दै निकाल्न खोजिनु, विद्यार्थीकालमा प्रहरीको निशानामा परेर जाँच दिन नपाउनु, सरकारी जागिरमा नाम निकालेर पनि हाकिमबाट बर्खास्तीमा पर्नु, पटक–पटक अन्तरवार्तामा फालिनु, अनुशासनको कारबाही भन्दै बल्ल–बल्ल पाएको जागिरबाट निकालिनु लगायत दर्जनौं असफलताका किस्सा छन् उनीसँग ।

तर, क्षेत्रीले आफूलाई हरेक किस्साको एउटा योद्धाका रुपमा उभ्याइरहे । मैदानबाट भागेनन् । अन्ततः त्यही गल्ती र त्यही मैदानले उनलाई नेपाल राष्ट्र बैंकको गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो ।

जीवनको उत्तरार्द्धमा पुगेका क्षेत्रीसँग अब यिनै किस्सा मात्र बाँकी छन् सुनाउन । उनले आफ्नो विगत बडो शानसँग हामीलाई सुनाइरहेका छन् । उनी गर्वका साथ भन्छन्, ‘आजसम्म कसैसँग झुक्न जानिएन ।’

कर्मचारीका छोरा

हाल विभिन्न आर्थिक विषयमा मिडियामार्फत विचार–विश्लेषणहरुपस्कँदै आएका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री उमेरले ७३ वर्ष पार भएका छन् । उनी वि.सं.२००५ सालमा तत्कालीन गण्डकी अञ्चलको पश्चिम ४ नम्बर स्याङ्जाको सदरमुकाम नुवाकोटमा जन्मेका हुन् ।

उनका बुबा अदालतमा जागिरे र आमा गृहणी थिइन् । ७ कक्षासम्म स्याङ्जामा पढेपछि परिवारको पोखरा बसाइसराइले पढ्ने स्कुल पनि परिवर्तन भयो  ।

पोखरामै रहेको भारतीय पेन्सनरहरुले पढ्ने सोल्जर्स बोर्डबाट उनले एसएसलसी सम्मको शिक्षा आर्जन गरेका छन् । भारतीय सेनाका छोराछोरी मात्र कम भएपछि सर्वसाधारणका छोराछोरीले पनि सो स्कुलमा पढ्न पाउँथे ।

नौ कक्षामा पढ्दै गर्दा उनले चाइनिज पत्रिका बेइजिङ रिभ्यू, सचित्र पढ्न थालेको थाहा पाएर भारतीय स्कुलमा पढेर चाइनाको प्रचार प्रसार सामाग्री पढेको भन्दै उनलाई सो स्कुलबाट निकाल्ने प्रयास गरियो । एक वर्ष मात्र स्कुल बाँकी भएकाले केहीले अहिले ननिकाल्न भनेपछि एसएलसीसम्मको शिक्षा त्यही पूरा गर्न पाए ।

पोखराबाट भागेर काठमाडौं

क्षेत्रीले आफ्नो स्नातकसम्मको अध्ययन पोखराको पृथ्वीनारायण क्याम्पसमा गरे । स्नातक तेस्रो वर्ष पढ्दै गर्दा स्वतन्त्र विद्यार्थीको चुनावका लागि उनले अध्यक्षमा उम्मेद्वारी दिए । २०२५ सालमा पीएन क्याम्पसको तत्कालीन विद्यार्थी युनियनको अध्यक्ष बने ।

 ‘विद्यार्थीको नेता भएपछि उनीहरुको हकहितका लागि लड्नैपर्यो’, उनी भन्छन्, ‘विद्यार्थीका विभिन्न माग राखेर उनीहरुले चरणबद्ध आन्दोलन गर्न थालें ।’

 देशको राजनीतिक व्यवस्था पञ्चायत व्यवस्था भएकाले सो व्यवस्थाको विरोधी भन्दै प्रहरी प्रशासनले उनीहरुको आन्दोलनमा हस्तक्षेप गर्न थालेको सुनाउँदै क्षेत्री थप्छन्, ‘हामी माग पूरा नभएसम्म आन्दोलन गरिरहने अडानमा रह्यौं । प्रहरीले हस्तक्षेप गर्दै गयो । २ पटकसम्म गोलीकाण्ड भयो । लाठीचार्जबाट मेरो टाउकोमा लागेको खत अझै बाँकी छ । आन्दोलन गरेका विद्यार्थीहरुले आन्दोलन छोड्न थालेपछि प्रहरीलाई बल मिल्यो । यसकारण म पनि त्यहाँबाट भागें ।’

उनी भागेपछि घरमा पुलिसले सोधखोज गर्न थाले । उनी भने पोखराबाट पैदल हिँडेर चितवन पुगे र त्यहाँबाट ट्रक चढेर काठमाडौं हानिए ।

अनि शुरु भयो असफलताको शिलशिला

स्नातक तह तेस्रो बर्षको परीक्षा नजिकिँदै थियो । पोखरामा परीक्षा दिन फर्के प्रहरीले समात्छ, नफर्के एक वर्ष नोक्सान हुन्छ । उनलाई कुनै पनि हालतमा परीक्षा दिनु थियो । त्यतिबेला प्राइभेट परीक्षा दिन पाउने भएकाले उनले त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षाका लागि फारम भरे । त्यहीँबाट परीक्षा पनि दिए र पास भए । उनलाई बुबाले एक दिन भनेछन्, ‘छोरा तेरा लागि नेपालको पृष्ठभूमि राम्रो छैन, तैंले अब कानुन विषय लिएर पढ्नुपर्छ ।’

बुवको बचन उनले हारेनन् । कानुन राति र दिउँसो अर्थशास्त्र पढे । बुबाको रहर पनि पूरा भयो आफ्नो रहरलाई पनि मार्न नपरेपछि उनी दंग भए । दुबैमा राम्रो अंक ल्याएर पास भएपछि हिम्मत बढ्यो । सर्टिफिकेट लिएर जागिरका लागि उनीभिड्नथाले  ।

नेशनल ट्रेडिङमा २२ जना अफिसर मागेको रहेछ । औद्योगिक अर्थशास्त्र पढेका उनले भनेजस्तो भयो । ४७५ रुपैयाँ मासिक खाने गरी अस्थायी जागिरमा नियुक्ति लिए । त्यसले उनलाई खान, बस्न, भाडा तिर्न पुगेकै थियो । तर, सो कम्पनीका कर्मचारीहरुको भ्रष्टाचार देखेर आफू पनि मुछिने डरले जागिरबाट राजीनामा दिए ।

त्यसपछि कृषि विकास बैंकमा मागिएको अधिकृतका लागि जाँच दिए । तर, अन्र्तवार्तामा फालिए । सोही समय एनआइडीसी बैंकमा पनि नाम निकाले । तर, त्यसमा पनि अन्र्तवार्तामा फालिए । कृषि आयोजना सेवा केन्द्रमा पनि त्यस्तै भयो । अन्ततः फेरि कृषि विकास बैंकमा जाँच दिए र पास गरे । त्यहाँबाट उनले मासिक सात सय कमाउन थाले ।

बैंकले लुम्बिनीको दयानगर शाखामा पोस्टिङ गरिदियो । ३ महिना त्यहाँ बसे । तत्कालीन समयमा सरकारी जागिर खान प्रहरी प्रतिवेदन चाहिन्थ्यो । तर, उनको प्रहरी रेकर्ड राम्रो थिएन । तीन महिनापछि प्रहरी प्रतिवेदन अनुकुल नभएकाले केन्द्रीय कार्यालयमा हाजिर हुन आउनुहोला भनेर पत्र पाएपछि उनीहरुले आफूलाई निकाल्ने सोचेर आफैं राजीनामा दिए ।

त्यसपछि उनले राष्ट्र बैंकमा परीक्षा दिए । सात सय परिक्षार्थीमा उनको नाम  १ नम्बरमा निस्कियो । त्यसमा पनि प्रहरी प्रतिवेदन बाधक बन्ने उनले आँकलन गरेका थिए । तर, उनको सोचाइ फेल खायो ।  उनी एक वर्षको परीक्षणकालसहित नियुक्त भए । त्यसपछि स्थायी नियुक्ति पाए  ।

राष्ट्र बैंकले पनि जागिरबाट निकालिदियो

२०३६ सालको जनमत संग्रहले राष्ट्र बैंकको कर्मचारीलाई पनि छपक्कै छोप्यो । क्षेत्रीसहित १४÷१५ जना कर्मचारी विभिन्न माग राखेर आन्दोलन गर्न थाले ।  प्रहरीले उनीहरुलाई हिरासतमा लियो  र  पछि छोडिदियो । 

२०४६ सालमा आफ्ना केही माग बैंकले पूरा गरिदिएपनि निजामति कर्मचारीको माग पूरा नभएको भन्दै कर्मचारीहरु भद्रकालीअगाडि धर्ना दिन बसे । उनीहरु अन्यायमा परेको देखेर क्षेत्रीपनि सँगै धर्नामा बसे । त्यसपछि उनलाई अनुशासनको कारबाही भन्दै राष्ट्र बैंकले निलम्बन ग¥यो ।

निलम्वनमा परेपछि उनीसहित १४ जना राष्ट्र बैंकका कर्मचारीहरु पुनर्बहालीका लागि अदालत धाउन थाले । ‘अन्याय भयो भने सहनै नसक्ने मेरो बानी छ, यसकारण म पटक–पटक अप्ठेरोमा पर्छु,’ क्षेत्री ती दिन सम्झन्छन्,  ‘जीन्दगीको उर्वर समय मुद्दा मामिला झेल्दै बिताएँ ।’

लामो समयपछि उनीहरुको पक्षमा अदालतले फैसला ग¥यो अनि सबै कर्मचारीहरु राष्ट्र बैंक फर्किए । तर, त्यहाँका हाकिमले उनलाई पेन्सन हुने समयसम्म तलब दिन्छौं, तर कार्यालय नआउन भने । कानुनले नै आफ्नो पक्षमा फैसला गरेपछि उनको आत्मबल बढ्यो र हाकिमलाई जवाफ फर्काउँदै भने, ‘तपाई त हाम्रो जागिर नै खान चाहनुहुन्थ्यो । तर, अदालतले दिएन । तपाई को हो ? तपाईले भन्दैमा हामी किन घरमा बस्ने ? हामी कार्यालय आउँछौं ।’

क्षेत्रीले राष्ट्र बैंकले निलम्बन गरेको समय पनि त्यतिकै खेर फालेनन् । डा. बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रिय विकास बोर्डमा प्रतिनिधिका रुपमा काम गरे । र, राष्ट्र बैंकबाट रिटार्यड हुनेबेलामा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भए ।

कार्यकक्षमै प्रहरीको खानतलासी

राष्ट्रिय योजना आयोगको सदस्य बनेकै बेला काठमाडाैँमा भएको एउटा बम काण्डका कारण उनको कार्यकक्षमै आएर प्रहरीले खानतलासी ग¥यो । घटना स्मरण गर्दै उनी भन्छन्, ‘बबन सिंह बम काण्डको दिन १२ बजेतिर दुईवटा कुकुर लिएर मेरो कोठामा खानतलासी गरियो । मैले इन्स्पेक्टरलाई खानतलासीका लागि हाम्रो सचिवसँग अनुमति लिनुभएको छ? भनेर सोधें । बमको थ्रेट छ भनेको सुनेर आएको हो भन्ने जवाफ आयो ।’

क्षेत्रीले आक्रोशित हुँदै आयोगका उपाध्यक्षलाई  थर्काए, ‘अहिलेसम्म एउटै टिमका हौं भन्नुहुन्थ्यो, आज पुलिस लगाएर खानतलासी गराउनुभयो होइन ?’

गर्भनर बन्न प्रचण्डको अफर गरे

प्रचण्ड प्रधानमन्त्री भएको समय थियो । प्रचण्डले क्षेत्रीलाई राष्ट्र बैंकमा गर्भनर बन्न प्रस्ताव गरे  । तर, हक्की स्वभावका क्षेत्रीलाई यो कुरा चित्त बुझेन । ‘तपाईहरुले जानेर हो वा नजानेर, मलाई माननीय बनाइसक्नुभयो । सहायक मन्त्रिस्तरको मानिस अब गर्भनर हुनु भनेको माननीयबाट श्रीमानमा झर्नु हो’ प्रचण्डलाई उनले जवाफ दिए । 

हामी युद्धमा हुनेबेला हाम्रो सत्ता आएछ भने गर्भनर तपाईलाई बनाउँछौं भनेका थियाैँ, तपाई यस्तो कुरा नगर्नुस्, प्रचण्डले भनेको क्षेत्रीले स्मरण गरे ।

उनले  प्रचण्डको आग्रह हार्न सकेनन् ।  र,एक वर्षका लागि गर्भनर बनेर राष्ट्र बैंक छिरे । तत्कालीन गर्भनर विजयनाथ भट्टराईलाई भ्रष्टाचारको मुद्दा लागेर हटाएको थियो । उनैको बाँकी कार्यकालका लागि क्षेत्री त्यहाँ गएका थिए । पछि अदालतले भट्टराईलाई सफाइ दिएपछि क्षेत्री ६ महिनामै गर्भनरबाट हट्नुपर्‍यो । उनले ६ महिनामा ५ सयका नोटको डिनोमेसनमा मात्रै हस्ताक्षर गर्न भ्याए ।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला क्षेत्रीले राष्ट्रिय योजना आयोगमा डेढ वर्ष उपाध्यक्षको भूमिका निभाए  ।  सम्भवतः उनको पेशागत जीवनको अन्तिम सरकारी पद बन्यो ।

अहिले उनी आफ्ना ती उतार–चढावहरु सम्झिएर दिन बिताउँदैछन् ।

क्षेत्रीको पेशागत यात्रा नेपाल राष्ट्र बैंकको गर्भनर तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसम्म पुगेर रोकिएको छ । झुक्न नजान्ने स्वभावकै कारण जिन्दगीका एक तिहाइ समय अड्डा अदालत धाउँदैमा बित्यो । ऐस आराम र सम्पत्तिप्रति मोह नराखेकै कारण उनले आलिशान महल बनाउन सकेनन् । यही कारण उनलाई आफ्नाले नै गर्भनर भएर के गरिस्, उपाध्यक्ष भएर के गरिस् भनेर घोचपेच गर्छन्  । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।