शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अपडेट : पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

आइतबार, १२ वैशाख २०७८, २० : ५७
आइतबार, १२ वैशाख २०७८

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए   । 

उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी  भएको निर्णय नै हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । 

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​

यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।  त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।

तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

आइतबार अबेर जारी विज्ञप्ति हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप