बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर कोरोना नियन्त्रणमा खर्च गर्न सांसदहको माग

सरकारले नै उद्घाटनको नाममा भीड जम्मा गरिरहेको आरोप
आइतबार, १२ वैशाख २०७८, २० : ५४
आइतबार, १२ वैशाख २०७८

सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको बताए । राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्दै प्रश्न गरे । अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि बताए । कोभिड विरुद्धको खोप आफै सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भएपनि विरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरुमा भयावह स्थिति आइसकेको बताए । सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैले गरेका निर्णयहरु कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ कि गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको बताए । राज्यले आफै मापदण्ड बनाई नागरिक र विभिन्न निकायहरूलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफैले विभिन्न मेला गर्ने, भिडभाड गर्ने, उद्घाटनको नाउँमा भिड गराउने काम गरिरहेको बताए ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लान्टहरुलाई मर्मत गरेर सञ्चालन गर्न तर्फ सरकारको ध्यान नगएको बताए । कोभिड संक्रमित विरामीलाई अक्सिजन अत्यावस्यक छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले ध्यान नदिएको बताए । सरकारसँग भएका प्लान्टहरु बिगारेर कमिसनको खोजीमा हिंड्ने र जनतालाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको पनि बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको बताए । यसमा संलग्न उद्योगी व्यवसायीहरु को को हुन नामावली संकलन गरेर जनतालाई थाहा दिनुपर्ने बताए । अहिले सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन खोजिएको पनि बताए ।

बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित विरामीको उपचारका लागि के कस्तो काम भइराखेको छ भन्ने सम्बन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ । कोभिडको बाहनामा सुशासनका विषयहरुमा कमजोरी हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप