बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जडेजा चम्किएको खेलमा चेन्नईको सानदार जित

आइतबार, १२ वैशाख २०७८, १९ : ४१
आइतबार, १२ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६९ रनले पराजित गरेको छ । अलराउन्डर रविन्द्र जडेजाले बलिङ, ब्याटिङ र क्षेत्रमासमेत उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नईले सानदार जित हासिल गरेको हो ।

आइतबार मुम्बईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य पछ्याएको बेंग्लोर २० ओभरमा नौ विकेट गुमाएर १२२ रनमै सीमित रह्यो ।

चेन्नईका लागि रविन्द्र जडेजाले विस्फोटक ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । उनले २८ बलमा चार चौका र पाँच छक्काको मद्दतमा २२१ भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका हुन् । फाफ डुप्लेसिसले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ५० रन बनाए । यस्तै, ऋतुराज गायकवाडले ३३, सुरेश रैनाले २४ र अम्बाती रायडुले १४ रन बनाए ।

बेंग्लोरका लागि हर्षल पटेलले ४ ओभरमा ५१ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै युजवेन्द्र चहलले एक विकेट लिए ।

विशाल लक्ष्यका बाबजुद ब्याटिङतर्फ बेंग्लोरमा कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । उसका लागि देवदत्त पाडिक्कलले सर्वाधिक ३४ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ र केल जेमिसनले १६ रन बनाए ।

बेंग्लोरका एक ब्याट्सम्यानलाई रनआउट गराएका जडेजाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रनमात्र खर्चिएर तीन महत्वपूर्ण विकेट लिए । त्यस्तै, इमरान ताहिरले चार ओभरमा १६ रन दिएर दुई विकेट लिए ।

जितसँगै अंकतालिकामा चेन्नई शीर्ष स्थानमा पुगेको छ । चेन्नईले पाँच खेलमा चार जित र एक पराजय ब्यहोर्दै ८ अंक हासिल गरेको छ । समान खेल र समान नतिजाका बाबजुद रनरेटका आधारमा बेंग्लोर दोस्रो स्थानमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप