भूकम्पको सम्झना : जोन, ऋषि र पेम्बाको डेन्जर रेस्क्यु
म ती दिनहरुमा विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमा इन्स्ट्रक्टरमा थिएँ । स्थायी घर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१०, सन्तपुरमा भए पनि जागिरका सिलसिलामा म कुरिनटारमा कार्यरत थिएँ । वैशाख ११ र १२ गते मेरो बिदा थियो र म काठमाडौं आएको थिएँ । त्यही बेला भूकम्प आइहाल्यो ।
मलाई थाहा भयो— अब देशमा हाम्रो भूमिका जरूरी छ । तत्काल मेरो सम्पर्क भयो, गृह मन्त्रालयको नेसनल इमर्जेन्सी अपरेसन सेन्टरका डीएसपी जीवन केसीसँग । उहाँले तत्काल हाजिर हुन बोलाउनुभयो । उहाँसँग सल्लाह गरेपछि तत्काल मैले कुरिनटारबाट ३१ जनाको उद्धार टोली काठमाडौंतर्फ परिचालित गराएँ, जसले मेरो कमान्डमा उद्धार कार्यलाई अगाडि बढाउने तयारी थाल्यो । १२ गते दिउँसो तीन बजेतिर हिँडेको त्यो टोली साँझपख काठमाडौंमा पुगेदेखि नै हामी उद्धारमा खटिहाल्यौं ।
सुरूमा हामी कलंकी हुँदै नयाँ बसपार्क क्षेत्र लगायतमा पुग्यौं । भवनहरु भत्किनाले पुरिएका मानिसलाई निकाल्नतिर लाग्यौं । सुरूमा सामान्य अवस्थामा ट्र्यापमा परेकाहरुको उद्धार ग¥यौं । ‘मल्टी स्ट्रक्चर’ हरुभित्र ट्र्यापमा परेकाहरुबारे तुरून्तै पत्ता लगाउन नसकिने अवस्था थियो । अर्कातर्फ परकम्पहरु आइरहेकाले उनीहरुलाई बाहिर निकाल्न उत्तिकै कठिन थियो । हामी सटर र गेटभित्र फसेकाहरुलाई निकाल्नतिर लाग्यौं । कोही घरबाहिर हातगोडा भाँचिएर लडिरहेका थिए भने, कोही घाइते भएर सडकछेउ चिच्याइरहेका थिए । उनीहरुलाई हामीले छिटछिटो टिपेर बोक्दै अस्पताल पठाउने काम गर्यौं ।
पहिलो दिन उद्धारमा हामी यति व्यस्त भयौं, त्यसको कुनै लेखाजोखा नै छैन । हामीले पीडितहरूको परिचय पनि सोध्न भ्याएनौं; तिनको रेकर्ड राख्न पनि भ्याएनौं । प्रभावित क्षेत्रमा एकदमै कोलाहल मच्चिइरहेको थियो । ठूलठूला परकम्प आइरहेकै थिए । रातिसम्म पनि सयौं मान्छे घरघरमा फसिरहेका थिए । त्यसैले उनीहरुलाई छिटोभन्दा छिटो बाहिर निकाल्ने कामलाई नै हामीले प्राथमिकता दियौं ।
कोको व्यक्ति र कति जना भन्ने पनि हिसाब राख्न सकिएन । कतिपय घरबाट आधा दर्जनभन्दा धेरैलाई पनि झिक्यौं । हामीले चार समूहमा विभाजित भएर विभिन्न ठाउँमा पुगी जीवितहरुको उद्धार गरेका थियौं । रेकर्ड राख्न थालेपछि भने सशस्त्र प्रहरीको टोलीले झन्डै ४ सय जनालाई जीवितै उद्धार गर्यो।
दोस्रो दिन हामी गोङ्गबुको बसपार्क, मित्रनगर लगायत क्षेत्रमा पुग्यौं । बेलुका नयाँ बसपार्कको हिल्टन होटलमा भएको उद्धार कार्य उल्लेखनीय छ । रातभर पानी परिरहेको थियो । साततले हिल्टन होटलको बेसमेन्टमा जीवितै व्यक्ति पुरिएका थिए । सातै तलाका ढलान काट्दै प्वाल बनाएर हामी भित्र छिर्यौं । पुरिएका व्यक्तिसमक्ष पुग्न हामीले निकै मिहिनेत गर्नुपरेको थियो भने, जोखिम पनि उत्तिकै थियो ।
कुनाबाट ढलान काट्दै मान्छे मात्र छिर्न सक्ने प्वाल बनाएर बेसमेन्टसम्म पुग्ने क्रममा लगातार परकम्प आइरहेको थियो । बाँकी भवन भत्किएर हामीलाई नै च्याप्ने खतरा थियो । काम गर्न निकै अप्ठ्यारो थियो । सशस्त्रका आईजी कोषराज वन्त पनि हाम्रो मनोबल बढाउन त्यहाँ आउनुभएको थियो । हाम्रो टिमले पानी परिरहेको अवस्थामा पनि रातभर काम ग¥यो ।
अथक प्रयासपछि अन्ततः हामी त्यहाँ फसेका रसुवाका २० वर्षीय युवक जोन केसीसम्म पुग्यौं । एक जना मात्र छिर्न सक्ने प्वालबाट छिरेर काठ, प्लाई र रडहरु काट्दै, घस्रँदै जाँदा मैले झन्डै एक मिटर परबाट उनको अनुहार देखें । अनुहारभरि धूलैधूलो थियो र उनका आँखा मात्र देखिन्थे । उनी एकदमै साँघुरो ठाउँमा फसेका रहेछन् । उनको शरीर घरले थिचिरहेको थियो ।
‘दाइ, दाइ !’ घाँटी सुके जस्तो स्वरमा उनी कराए ।
‘अब हामी आयौं । तपाईंलाई बाहिर निकाल्छौँ; चिन्ता नगर्नुस् ।’ मैले उनलाई सान्त्वना दिएँ ।
मैले उनलाई दुवै हात चलाउन भनें । उनले हातहरु चलाउन खोजे । गोडा पनि चलाउन भन्दा उनले चल्दैन भने । उनको कम्मरमुनिको भाग सबै पुरिएको रहेछ । उनले आफूलाई तिर्खा लागेको बताए । हामीले पानी पिउन दियौं । उनले एक घुट्की मात्र पिउन सके । त्यसपछि उनले जाडो भएको बताए । उनी लगलग कामिरहेका थिए । म बाहिर निस्केर नजिकै रहेको अर्को भत्केको घरमा पुगेँ र त्यहाँबाट टावेल निकालेर पुनः उनीकहाँ गएँ । मैले लट्ठीको टुप्पोमा राखेर त्यो टावेल उनलाई दिएँ । उनले एक हातले टावेल तानेर आफूलाई ढाके । उनलाई हामीले बाहिर झिक्ने प्रयास पनि ग¥यौं तर सकेनौँ । उनलाई सान्त्वना दिएर हामी त्यस दिन फर्कियौँ । उनी रातभर उद्धारको प्रतीक्षामा बसिरहे ।
भूकम्पको तेस्रो दिन हामीले पुनः जोन केसीलाई निकाल्न प्रयास ग¥यौं । चिनियाँ टोली आएर अर्को रूट बनाउने कोसिस ग¥यो । टर्कीको टोली पनि आयो । हामीले उनीहरुसँग मेडिकल ब्याकअप माग्यौं । हामी पालैपालो जोन फसेको स्थानसम्म पुग्यौं । छिर्ने बाटो अझ फराकिलो बनाउन प्रयास ग¥यौं । जोन भने आफ्ना गोडाहरु काटेर भए पनि बाहिर निकालिदिन हामीलाई अनुरोध गरिरहेका थिए ।
तेस्रो दिन रातको बाह्र बज्यो; उनलाई निकाल्न सकिएन । तापनि हामीले हरेस खाएनौं; निरन्तर काम गरिरह्यौं ।
चौथो दिन लागिसक्दा पनि उनलाई बाहिर निकाल्न निकै मुस्किल भइरहेको थियो । तापनि निरन्तरको प्रयासपछि चौथो दिन झिसमिसेमा साढे दुई बजेतिर हामी उनलाई निकाल्न सफल भयौं । उनलाई थिचेका बिमहरु काटेर निकाल्दा उद्धार टोलीलाई पनि चोटपटक लाग्यो । जोखिमका बीच उनलाई बाहिर निकालेर हामीले अस्पताल पठायौं ।
जोनलाई निकालेपछि हामी बसपार्कनजिकै मित्रनगरस्थित पश्चिम पोखरा गेस्ट हाउसभित्र थिचिएको मृत शरीर निकाल्नतिर लाग्यौं । जीवितै उद्धार गर्न सकिने सम्भावना करिब–करिब मरिसकेको थियो । पुरिएको मृत शरीर कहाँनेर छ भन्ने पत्तो लगाइसकेकाले हामी मृत शरीर निकाल्नतिरै लागेका थियौं । पहिले हामीले गेस्ट हाउसवरपर सर्च ग¥यौं ।
‘भित्र कोही पुरिएको हुनुहुन्छ भने आवाज दिनुहोस्; बोल्न सक्नुहुन्न भने पाँच पटक कुनै चीजले ढकढक गर्नुहोस्’ भन्दै हामी धेरै पटक चिच्यायौं ।
मृत शरीर मात्रै छ भन्ने ठानिएको त्यस ठाउँबाट ‘ढकढक’ गरेको आवाज आयो । हामी निकै अचम्मित भयौं । हामीले त त्यहाँ एउटा मात्र मृत शरीर भएको जानकारी पाएका थियौं ! तर, त्यही घरभित्रबाट जीवित मान्छेले आवाज दिएपछि हामी त्यहाँ कोही पुरिएको निष्कर्षमा पुग्यौं ।
फ्रान्सेली टिम आयो । उनीहरुको उपकरण प्रयोग गर्दा पनि त्यहाँभित्र जीवित व्यक्ति रहेको पत्तो लाग्यो । त्यसपछि हामीले संयुक्त रुपमा काम थाल्यौं । उनीहरुले उपकरण केही प्रयोग गरेनन् । हाम्रो टिमले ढलान र रडहरु काट्ने र भित्र छिर्ने प्वाल बनाउने काम ग¥यो ।
बिहान नौ बजेदेखि हामीले भत्किएको घरको माथिबाट प्वाल बनाउन थालेका थियौं । साढे सात तलामाथिबाट छिर्दै हामी तेस्रो तलाबाट प्वाल बनाएर भित्र छिर्न खोज्यौं । पुरिएका व्यक्ति दोस्रो तलामा रहेछन् । उनी अर्घाखाँचीका ऋषिराम खनाल रहेछन् । उनीनजिकैको ढलानमा प्वाल बनाएर हामीले उनको अवस्थाबारे जान्न खोज्यौं ।
प्वालबाट उनलाई देखेपछि हामीले बाँकी ढलान र रडहरु काट्दै गयौं । अनि हामी उनीसमक्ष पुग्न सफल भयौं । उनको शरीर पुरिएको थियो; नजिकै अर्को एउटा लास पनि थियो । लास कुहिएर दुर्गन्ध आउन थालिसकेको थियो । किनभने, भूकम्पको झन्डै बयासी घण्टा बितिसकेको थियो । पानी भीषण परिरहेको थियो ।
खनालको गोडामुनि प्लाइउड थियो भने माथि सिमेन्टको बिमले थिचेको थियो । उनी ‘ऐया, ऐया’ भन्दै बिस्तारै कराइरहेका थिए । हामीले उनीसँग धेरै कुरा गरेनौं । शान्त रहन भन्यौं । उनी आफूसँग भएका अरु दुई जना पनि जीवितै रहेको बताउँदै थिए ।
दुर्भाग्य, उनीसँग भएका अरु दुई जनाको पहिले नै मृत्यु भइसकेको थियो । शव पनि कुहिसकेको थियो । उनले बताएअनुसार उनीहरु पुरिएको कैयन् घण्टासम्म पनि जीवितै थिए; बोलिरहेकै थिए र पछि बोल्न छाडेका थिए । खनालले आफू आफ्नै पिसाब पिएर बाँचेको बताए । एउटा हात चल्ने भएकाले त्यो हातले रूमाल समाती रूमालमा पिसाब फेरेर त्यही चुसेर आफू बाँचेको उनले बताए । मान्छेले जीवनका लागि जे पनि गर्नुपर्दो रहेछ ! उनी निकै दयनीय अवस्थामा थिए । छिनछिनमा बेहोस हुने र फेरि होस आउने गथ्र्यो । हामीले उनीछेउ बेलाबेलामा अक्सिजन सप्लाई गरिरहेका थियौं । डाक्टर पनि बोलाएका थियौं ।
खनाललाई बाहिर निकाल्न बिम काटेर उठाउनुपर्ने थियो । अर्कातर्फ घरको भित्ता भत्केर उनको गोडा पनि च्यापेको थियो । उनलाई थिचेको बिम काट्न नै हामीलाई सात–आठ घण्टा लाग्यो । पुरिएको र दुर्गन्धित भइसकेको लासमाथि सुतेर हामीले खनाललाई पुरेको ढलान काटेका थियौं । लास दबिएको अवस्थामा रहेकाले तत्काल बाहिर निकाल्ने अवस्था थिएन । त्यो लास इटहरीका कार्की थरका व्यक्तिको रहछ । हामीले खनाललाई निकाल्न प्रयास गरिरहँदा नजिकै अर्को शव पनि भेटियो । त्यो शव रोल्पाका दुर्गा बस्नेतको रहेछ । त्यो शव पनि तत्काल निकाल्न सक्ने अवस्था थिएन । हामी खनाललाई निकाल्न केन्द्रित थियौं । हामीले उनीमाथि रहेका सिमेन्टका टुक्राहरु हटायौं । माथिबाट चिपिङ ह्यामरले हिर्काएर सिमेन्टका टुक्राहरु फुटाउँदै निकाल्दै ग¥यौं । किनभने, उनलाई पुरेका ढलानका टुक्रा सिंगै बाहिर निकाल्न सकिने अवस्था थिएन ।
हामीले साना टुक्रा बनाएर माथिपट्टिको सानो प्वालबाट बाहिर निकाल्दै गयौं । हामी निकै थकित थियौं तर उनलाई जीवितै निकाल्न सकिने अवस्था भएकाले जे पनि गर्ने भनेर निरन्तर खटिरहेका थियौं । मेसिन चलाउँदा घर थर्किइरहेको थियो । परकम्प पनि आइरहेका थिए । मान्छेहरु परकम्प आयो भन्दै भागिरहेका थिए । हामीले मेसिनको कम्पनका कारण परकम्प आएको पनि थाहा पाएनौं । अलिक ठूलो परकम्प आएर घर ढलेको भए हामी जुनसुकै बेला ‘प्यानकेक’ हुने थियौं । तर, त्यस्तो दुर्भाग्य भएन ।
दिउँसो तीन बजेतिर म एकै छिनका लागि बाहिर निस्केको थिएँ । लगत्तै भित्र छिरेर काम गरिरहँदा राति दस बजेको पनि पत्तो पाइनँ । मैले घडी हेर्न पनि भ्याइरहेको थिइनँ । राति साढे दस बजेतिर खनालको उद्धार गर्न हामी सफल भयौं । उनलाई निकाल्दा उनको गोडा थिचिएको अवस्थामा थियो । माथिबाट बाहिर निकाल्दा उनी एकदमै डराएका थिए । उनले ‘डर लाग्यो’ भने पनि । उनको अनुहारमा पीडा र त्रास सजिलै पढ्न सकिन्थ्यो । हामीले उनलाई अब नडराउन ढाडस दियौं । उनले आफ्नो घाँटी सुकेको बताएपछि पानी दियौं । उनले तीन बोतल पानी घटघट पिए । त्यसपछि उनलाई अस्पताल पठाइयो ।
ऋषिराम खनालको जीवितै उद्धार गरेपछि अरु पनि जीवित हुन सक्ने आशंकाले भत्किएका घरहरुमा हाम्रो खोजी जारी रह्यो ।
भूकम्पको पाँचौं दिन नयाँ बसपार्कको हिडन गेस्ट हाउस पुग्यौं । त्यहाँ तीन–चार वटा भवन भत्किएर एकै ठाउँ खसेका थिए । विदेशी टिमहरूले त्यहाँ कुनै जीवित व्यक्ति नरहेको निष्कर्ष निकालिसकेका थिए । तर, त्यहाँ कुनै व्यक्ति जीवितै रहेको आशंकामा खोजी अघि बढाइयो ।
‘भित्र कोही हुनुहुन्छ ? आवाज दिनुस् ।’ हामी चिच्यायौँ । ‘दाइ, मलाई बचाउनुस् ! मलाई बचाउनुस् !’ भित्रबाट मधुरो स्वर आयो ।
भत्केको साततले भवनमा कहाँबाट त्यो आवाज आएको हो, सुरूमा ठम्याउन कठिन भयो । हामीले फेरि उनलाई कराउन भन्यौं । अनि मात्र उनी कहाँनेर पुरिएका हुन् भन्ने पत्तो लाग्यो । त्यहाँ पनि तल्लापट्टिका बिमहरु काटेर भित्र छिर्नुपर्ने अवस्था थियो । मै भित्र छिरें । बाहिरबाट हाम्रो कुरिनटारको टोली, विपत् उद्धार गण लगायतका टोलीले सहयोग गरे । पछि अमेरिकाको टोली पनि आयो । भित्र मोटरसाइकलमाथि सटर पल्टेको रहेछ । सटर पछाडि एक जना व्यक्ति पुरिएका रहेछन् । उनी घस्रिन सक्थे तर यताउता सर्न सक्ने अवस्था थिएन । मैले उनीसम्म पुग्न ढलान, रड र भित्ताहरु काटें । गह्रौं उपकरणहरु एक हातले समातेर काट्न निकै मुस्किल थियो । तापनि हामीले काट्यौं । मैले हाइड्रोलिक ज्याकहरु प्रयोग गरेर सटर हटाउन प्रयास गरें । त्यसलाई अलिक पछाडि धकेलें । यसै क्रममा मेरो हातमा पनि चोट लाग्यो । मैले तुरून्तै ह्यान्डिप्लास्ट लगाएर बाँकी कामलाई निरन्तरता दिएँ । ढलान काट्दा कैयन् पटक मेरा हातहरु बाउँडिए । एक पटक हाइड्रोलिक ज्याक फुत्किएर झन्डै मलाई नै च्यापेन । म पसिनापसिना भइरहेको थिएँ ।
अन्ततः म घसिँ्रदै उनीछेउ पुग्न सफल भएँ । उनी भित्रपट्टि लम्पसार परिरहेका थिए । उनीभन्दा माथितिर सिलिङ भत्किएर सिमेन्टका टुक्रा झुन्डिइरहेका थिए । अलिकति मुभमेन्ट हुनासाथ ती टुक्रा खसेर च्याप्न सक्ने खतरा पनि थियो । तापनि हाम्रो टिमवर्कका कारण उनीसमक्ष पुग्न सफल भयौं ।
‘तिम्रो नाम के हो ?’, मैले सोधें ।
‘पेम्बा लामा’, उनले भने ।
‘घर कहाँ हो ?’, मैले सोधें ।
‘नुवाकोट’, उनले भने ।
मैले पेम्बालाई समातेर बाहिर तान्न खोजेँ । तर उनी मोटरसाईकलमा अड्किए । पुन पछाडि धकेलेर बाइकको भाग काटेर उनलाई तानें । कुहिनाले घिस्रने ठाउँ पनि थिएन । भित्र एकदमै साँगुरो र स्वास फेर्न समेत मुस्किल थियो । ठाउँ एकदमै दुर्गन्धित थियो । हत्केलाले घिस्रिँदै म त्यहाँ पुगेको थिएँ । त्यसपछि मैले उनलाई विस्तारै सर्टमा समातेर तानें । तान्ने क्रममा झण्डै आधा घण्टा लाग्यो । म अलिकति पछाडि सरेपछि मेरो टिमले मलाई तान्यो । उनलाई मैले तानें । त्यसरी पेम्बालाई बाहिर निकाल्न हामी सफल भयौं । उनलाई पुरिएको १ सय २० घण्टापछि बाहिर निकाल्न सफल भएका थियौं । बाहिर निकालेपछि उनले वान्ता गर्न खोजे । त्यत्रो दिन भित्र गुम्सिएर बसेको र बाहिर एक्कासी हावामा आउँदा एवं भींड देख्दा उनी आत्तिएको अवस्थामा थिए । मेडिकल टिमहरूले सलाइन पानी दिन खोजिरहेका थिए । उनी नर्भस भइरहेका थिए । उनलाई तत्काल अस्पताल पठाइयो ।
त्यसरी हामीले विभिन्न ठाउमा पुगेर उद्धार गर्दा आफैलाई पनि डर लाग्दोरहेछ । डर लाग्नु स्वभाविक थियो । पछि बानी पर्दै गयो र हामीलाई डर लाग्न पनि छोडिसकेको थियो । जता गयो शव देखिन्थ्यो । मान्छेको कोलाहल देखिन्थ्यो । त्यसैले हामी आफै डराउने भन्दा उद्धारमै बढी केन्द्रीत भएका थियौं । हामीले दैवी प्रकोपमा उद्दार सम्बन्धि तालिम पनि लिएका थियौं र म आफै तालिम दिने व्यक्ति भएकाले त्यो जिम्मेवारी हाम्रै थियो । जीवित व्यक्तिलाई उद्धार गर्दै जाँदा हाम्रो मनोवल बढ्यो । हाम्रो प्रहरी संगठनका सिनियरहरुले पनि हाम्रो मनोवल बढाउनुभयो । हामीले साहसका साथ काम ग¥यौं । हामीले कैयनलाई जीवितै उद्धार गर्न सके पनि ४० भन्दा बढी त शब नै निकाल्यौँ ।
(पत्रकार किशोर पन्थीको पुस्तक कम्पनबाट साभार)