शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षअघि आजकै दिन भूकम्पले पारेको थियो यस्तो तहसनहस (फोटोफिचर)

आइतबार, १२ वैशाख २०७८, १२ : ४७
आइतबार, १२ वैशाख २०७८

६ वर्षअघि आजकै दिन घटेको एउटा त्रासदीपूर्ण घटना । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई २०७२ साल वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशका १४ जिल्लामा ठूलो क्षति पु¥यायो भने अन्य १७ जिल्लामा समेत आंशिक प्रभाव प¥यो । वैशाख १२ गते र त्यसपछि लगातार गएको परकम्पबाट ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय जना घाइते भएका थिए । काठमाडौँको धरहरा भत्कँदा धरहरा चढेका र पैदल हिँडेका ६० जनाको एकै ठाउँमा ज्यान गएको थियो ।

भूकम्पबाट पूर्ण र आंशिक गरी ८ लाखभन्दा धेरै निजी घर भत्किए भने सरकारी भवन, स्वास्थ्य केन्द्र, विद्यालय, पुरातात्विक महत्त्वका धेरै सम्पदाहरूमा क्षति पुगेको थियो ।

भूकम्पबाट जनजीवन नराम्ररी प्रभावित भएको छ । भूकम्पपछिको लगातार परकम्पका कारण मानिसहरुले खुला स्थललाई आश्रय बनाएका थिए । घर भत्किएका सर्वसाधारणका परिवारहरूले सरकारले द्रुत गतिमा काम गर्न नसक्दा  अस्थायी टहरोमा वर्षात् र चिसो झेल्न बाध्य हुनुपरेको थियो ।

भूकम्पको विनाशपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ असार ५ गते अध्यादेशमार्फत प्रधानमन्त्री अध्यक्ष रहनेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न खर्च जुटाउनका लागि २०७२ असार १० गते काठमाडौँमा दाता सम्मेलन गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्र दाताहरुले ५ वर्षसम्म हुने पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । २०७२ साउन २८ गते सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई नियुक्त गरेको थियो ।

अध्यादेशमार्फत प्राधिकरण गठन गरेकाले संसदले सो अध्यादेश पास नगरेका कारण पोखरेलको नियुक्ति खारेज भएको थियो । भूकम्प गएको ९ महिनापछि पुसमा पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्ले पारित गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको थियो । सोही वर्ष पुस १० गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका थिए ।  काँग्रेसको सरकारपछि बनेको एमाले नेतृत्वको सरकारले नगर विकास कोषका तत्कालीन कार्यकारी निर्देशक रहेका सिभिल इन्जिनियर ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भूकम्प अति प्रभावित जिल्लाका पीडितहरुलाई पहिलो किस्ताबापतको ५० हजार रूपैयाँ अनुदान वितरण सम्पन्न गरेको थियो ।

भूकम्पले ध्वस्त पारेको भौतिक संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको पुनर्निर्माण प्राधिकरण पनि राजनीतिक खिचातानी प¥यो । २०७३ पुस १३ गते सरकारले पहिलो पटक प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीलाई पहिलो स्पष्टीकरण सोधेको थियो, ज्ञवालीको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले पुनः पुस २२ गते दोस्रो स्पष्टीकरण सोधेको थियो । एक वर्ष कार्यकाल पूरा गरेका ज्ञवालीलाई पुस २७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट हटाउने निर्णय गरी डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पोखरेलले प्राधिकरणबाट राजीनामा दिएपछि २०७४ कात्तिकमा युवराज भुसाल प्राधिकरणको सीईओमा नियुक्त भएका थिए । २०७५ साउन ३० पुनः सुशील ज्ञवाली कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

भूकम्प अति प्रभावित उपत्यकाका ३ जिल्ला र उपत्यका बाहिरका ११ जिल्लामा झन्डै ८ घरधनीको सर्वेक्षणका लागि झण्डै २ हजार इन्जिनियर परिचालन गरिएको थियो । भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका परिवारका लागि एकमुष्ट २ लाख रुपैयाँ अनुदान गर्ने सुरुको नीतिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला १ लाख थप गरेर ३ लाख हुने व्यवस्था गरिएको थियो । अनुदान सम्झौता लगत्तै ५० हजार रुपैयाँ, घरको जग राखेपछि १ लाख रुपैयाँ र घर निर्माण सम्पन्न भएपछि तेस्रो किस्ताका रूपमा ३ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको थियो ।

यस्तै आंशिक क्षति भएका घर मर्मत सम्भार एवं प्रबलीकरण गर्न १ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

भूकम्प प्रभावित क्षेत्रबाट झन्डै २ लाखभन्दा बढी भूकम्प प्रभावितले पुनर्निर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका थिए ।

भूकम्पबाट ध्वस्त भएका ७ सय हाराहारी सांस्कृतिक सम्पदामध्ये मुख्य–मुख्य स्थलहरूको पुनर्निर्माण सम्पन्न भएको छ । यसअन्तर्गत बौद्धनाथ स्तुपाको निर्माण सम्पन्न भएको छ । रानीपोखरी तथा धरहराको पनि निर्माण सम्पन्न भइसकेको छ । यस्तै पाटन दरबार क्षेत्रअन्तर्गत रहेका सम्पदामध्ये ३ वटाको निर्माण सम्पन्न, ५ वटाको निर्माण कार्य जारी, वसन्तपुर क्षेत्रअन्तर्गत रहेका सम्पदाहरूको निर्माण कार्य अन्तिम चरणमा, भक्तपुर दरबार क्षेत्रअन्तर्गत रहेका सम्पदामध्ये ३ वटाको निर्माण कार्य सम्पन्न अन्य १२ वटाको निर्माण कार्य जारी, स्वयम्भु दरबार क्षेत्रअन्तर्गत रहेका सम्पदामध्ये केहीको निर्माण सम्पन्न केही जारी, पशुपति क्षेत्रअन्तर्गत रहेका सम्पदा,  चाँगुनारायण क्षेत्रअन्तर्गत रहेका सम्पदाहरूको पुनर्निर्माण जारी रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ९३ प्रतिशत व्यक्तिका निजी आवास निर्माण सम्पन्न भएका छन् भने हालसम्म विद्यालयतर्फ ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत बराबरको निर्माण सम्पन्न भएको छ । यस्तै पुरातात्त्विक सम्पदातर्फ ५१ पुनर्निर्माण भएको छ भने अहिले ३२ प्रतिशत सम्पदाको काम भइरहेको छ । सरकारी भवनतर्फ ४ सय १५ सरकारी भवन मध्येमा ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने  बाँकी काम निर्माणको प्रक्रियामा रहेको छ । सुरक्षा निकायको भवनतर्फ २ सय १६ वटा निर्माण गर्नुपर्नेमा ९८ प्रतिशतको काम सम्पन्न भइसकेको छ ।

'''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप