बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एफसी चितवनको स्वामित्व गेम अन प्रालिलाई, फुटबलका पारखीले अब आफ्नै देशमा फुटबलको मज्जा लिन सक्ने

आइतबार, १२ वैशाख २०७८, १२ : ३५
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलो पटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) शुरू भएको छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलो पटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरुमा विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिस्पर्धात्मक एवं रोमाञ्चकका हुने देखिएको छ ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिले एफसी चितवन टिमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ । शनिबार पानी पोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका वीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रबन्धक कृतराज महर्जनले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् । 

अबदेखि एफसी चितवनका खेलाडी एवं सम्बद्ध लि–निङ्ग ब्रान्डका पोशाक लगाउने छन् । डीस होम फाइबर नेट मुख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् । 

एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले आफ्नो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको बताउँदै प्रवन्ध निर्देशक ढकालले यो प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्स शुरू हुने बताए । विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरञ्जन लिनुपरेको स्मरण गर्दै ढकालले त्यस्तो अवस्थालाई अन्त्य गर्न आसन्न प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गत संचालित गेम अनले एफसी चितवन टिमको स्वामित्व ग्रहण गरेको बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले फ्रेन्चाइज प्रतियोगितामा विभिन्न व्यावसायिक समूहहरू विभिन्न टिमको स्वामित्व ग्रहण गरेपछि नेपाली फुटबल नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया दिए । यसले नेपालमा फुटबललाई व्यावसायिकतामा रूपान्तरण गर्ने बताउँदै उपाध्यक्ष सिंहले खेलाडीहरूको भविष्य समेत सुरक्षित रहने उल्लेख गरे ।

कार्यक्रममा एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटबलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरुले देखाएको स्वतस्फूर्त इच्छाले अव नेपाली फुटबल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, गेमअन प्रालि एवम् एफसी चितवनसँग आवद्व संस्था आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागिरहेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप