बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५० रुपैयाँ जरिवाना तोकिएका अभियुक्तलाई पनि छाडेन प्रहरीले

फरार अभियुक्त पक्राउमा प्रहरीले बनायो ‘रेकर्ड’
आइतबार, १२ वैशाख २०७८, १० : १४
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३ वर्षयता चालु आर्थिक वर्षमा सबैभन्दा धेरै फरार अभियुक्तलाई पक्राउ गरेको छ । आर्थिक वर्ष ०७४–७५ र त्यसपछिका वर्षमा भन्दा गत साउनपछि पक्राउ परेका फरार अपराधीको संख्या धेरै छ ।

कोरोना महामारी शुरु भएसँगै देशभरका झण्डै ५ हजार फरार अभियुक्तलाई प्रहरीले जेलको बाटो देखाएको छ । कोरोना संक्रमण शुरु भएपछि काठमाडौं उपत्यकाबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थाहा पाएपछि फरार भएकाहरु छन् । र, धेरैचाहिँ अदालतबाट मुद्दा फैसला भएको थाहा पाएर जेल र जरिवानाबाट जोगिनका लागि भाग्नेहरू छन् ।

झापाको कन्काई नगरपालिका–५ घर भएका जगतबहादुर राई उर्फ राजन काठमाडौंको जोरपाटी बस्थे । ०७७ चैत २६ मा केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई तिलगंगाबाट नियन्त्रणमा लियो ।  मानव बेचविखन तथा ओसारपसार मुद्दामा उच्च अदालत पाटनले उनलाई १० बर्ष कैद सजाय हुने फैसला गरेको थियो । ०७६ चैतमा अदालतले फैसला गरेपछि उनि फरार थिए । राजन अहिले डिल्लीबजार कारागारमा छन् ।

काठमाडौं महानगरपालिका–९ घर भएका हिमदेव मानन्धरलाई भ्रष्टाचार मुद्दा लागेको थियो । ०४१ कार्तिकमा अदालतले उनलाई १० रुपैयाँ जरिवाना हुने फैसला सुनायो । उनले १० रुपैयाँ तिरेका थिएनन् । महानगरीय प्रहरी वृत गौशालाले उनलाई ०७७ फागुन १७ मा पक्रियो ।

प्रहरीले १० वर्ष जेल सजाय तोकिएका देखि जम्मा १० रुपैयाँ जरिवाना तोकेका अभियुक्तलाई पनि पक्राउ गरेर कारवाही गरेको छ । ‘अदालतले सजाय तोकेका साना–ठुला सवै अभियुक्तलाई कानुनको दायरामा ल्याएका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने, ‘पछिल्ला पाँच–सात वर्षपछि सबैभन्दा धेरै फरार चालु आर्थिक वर्षमा पक्राउ गरेका छौं ।’

काठमाडौं महानगरपालिका–२७ घर भएका उपेन्द्रदास जोशी ६ वर्षदेखि फरार थिए । उनीमाथि सरकारी छाप र दस्तखत किर्ते गरेको आरोप थियो । अरविन्दलाल जोशीको जाहेरीको आधारमा ०७१ माघमा अदालतले उनलाई १ करोड ७४ जरिवाना र १ वर्ष कैद हुने फैसला गरेको थियो । गएको फागुनमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनलाई घरबाटै पक्रियो । अहिले उनी जेलमा छन् ।

देशभरको फरार अभियुक्त पक्राउ तथ्यांक

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्म १ हजार ९ सय ७५ जना पक्राउ परेका थिए । सो संख्याभन्दा चालु वर्षमा १ सय ३८ दशमलव २२ प्रतिशत बढी फरार अभियुक्त पक्राउ परेका छन् । 

आर्थिक वर्ष ०७४–७५ मा फरार अभियुक्तबाट ९२ करोड ८२ लाख राजस्व संकलन भएको थियो । आव ०७५–७६ मा ४० करोड ७० लाख राजस्व तथा बिगो संकलन भयो । आव ०७६–७७ मा ३८ करोड ८९ लाख संकलन भएको थियो । ०७७ साउन पछि अहिलेसम्म फरार अभियुक्तबाट २४ करोड ३५ लाख राजस्व संकलन गरिएको छ ।

उपत्यकामा सबैभन्दा धेरै

महामारी शुरु भएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा सवैभन्दा धेरै फरार अपराधी पक्राउ परेका छन् । ०७७ वैशाखपछि एक बर्षको अवधिमा उपत्यकामा १ हजार ४८ जना पक्राउ परे । त्यो अवधिमा २२ सय ११ जना अभियुक्त अदालत र प्रहरीको फरार सूचिमा थिए ।

कोरोना महमारी शुरु हुनुअघि चाहिँ थोरैमात्र फरार अभियुक्त पक्राउ पर्ने गरेका थिए । ०७६ चैतमा उपत्यकाका ३ जिल्लाबाट १० जना फरार पक्राउ परे । चैतको ११ बाट सरकारले लकडाउन घोषणा गरेको थियो । त्यतिबेला फरारको सूचिमा १५२ जना थिए ।

काठमाडौं उपत्यकाको ०७७ को तथ्यांक :

टिम बनाएर फरार अभियुक्तलाई खोज्यौं– एसएसपी अशोक सिंह

उपत्यकाका ३ जिल्लामध्ये ०७७ मा सबैभन्दा धेरै फरार अभियुक्त काठमाडौंबाट पक्राउ परे । ०७७ मंसिरपछि काठमाडौंबाट ८ सय ५० भन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन् । ५ महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड समालेपछि प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले टिम बनाएर फरार खोज्ने अभियान शुरु गरेका थिए । एसएसपी सिंहसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी :

अदालतको फैसला कार्यान्वयन इकाइले मुद्दा अनुसारका फरार सूची हामीलाई पठाउँछ । फैसला कार्यान्वयनका लागी हामी तिनलाई पक्रेर अदालतमा उपस्थित गराउँछौँ । विगतमा विभिन्न मुद्दामा फरारलाई खोज्न म आएपछि मैले एउटा टिम बनाएर र खोजतलास थालेँ । जघन्यदेखि सामान्य मुद्दामा फैसला भएका र वारेन्ट जारी गरेकालाई हामीले नियन्त्रणमा लिएका छौं । पक्राउ पर्नेहरुमा चालु मुद्दाका फरार पनि छन् । अदालतबाट कैद वा जरिवानाको फैसला भएका फरार पनि छन् । उनीहरुलाई हामीले नियन्त्रणमा लिएका छौं ।

अहिले ब्यापक रुपमा फरारलाई खोजतलास गरेका छौं । चाहे त्यो गुण्डागर्दीमा संलग्न ब्यक्ति होस्, चाहे अन्य अपराधमा संलग्न हुन् । समाजमा विभिन्न मान्छेहरु बस्छन् । पीडित त्यहीँ, पीडक पनि त्यहीँ घुमेको हुन्छ । हामीले भिक्टिम बेस पुलिसिङ गरेर न्यायको अनुभूति दिलाउनका लागि ब्यापक फरारलाई खोज्याैँ । पछिल्लो ५ महिनाको अवधिमा ८ सय ५० जनाको हाराहारीमा पक्राउ गरेका छौं । 

पक्राउ पर्नेमा सामान्यदेखि जघन्य अपराधसम्मका छन् । १९ वर्ष कैद तोकिएका फरारलाई पनि कानुनी कठघरामा ल्याएका छौं । धेरै कैद तोकिएका ज्यान मुद्दाका छन् । काठमाडौं बाहिर लुकेर बसेकालाई पनि हामिले आफ्नो इन्टेलिजेन्स प्रयोग गरेर नियन्त्रणमा लिएका छौं । पीडितका अगाडि पीडक छाती फुलाएर हिँड्ने अवस्थाको अन्त्य गरेका छौं ।

जरिवाना थोरै छ, प्रहरीले पक्राउ गर्दैन भनेर अभियुक्त खुलेआम हिँडेका थिए । ५० रुपैयाँ मात्रै जरिवाना तोकिए पनि कसुर प्रमाणित भएको छ भने हामीले तिनीहरुलाई पनि पक्रेर अदालतमा टेकायौँ । कानुनी दायरामा ल्यायौं । जरिवाना रकम सानो भए पनि अदालतले कसुर ठहर गरेकाले पक्राउ गरेका हौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप