पर्यटक पल्काउन कोसेली घर

person explore access_timeबैशाख १२, २०७८ chat_bubble_outline0

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक ओखलको ढुङ्गो र युगकविको जन्मथलो नजिकै कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।

यगकवि श्रेष्ठको चर्चित ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेर ओखलढुङ्गा घुम्न आइपुग्नेहरुले कवितामा भनिएजस्तो ओखलढुङ्गामा घुम्न र रम्न नपाएको गुनासो गर्ने गरेका थिए । सालिक र ओखलढुङ्गो मात्रै हुँदा पर्यटकको यस क्षेत्रमा आकर्षण कम भएकाले पर्यटक आउन् र रमाउन् भन्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको सञ्चालक राजभण्डारीले बताए ।

 “यहाँ आउने मानिस केहीबेर रमाउने, जिल्लामा उत्पादित सामग्री अवलोकन गर्ने र कोसेलीका रूपमा खरिद गरेर लैजान खोज्ने गरेको पाइयो तर त्यो व्यवस्था थिएन । त्यसैले यहाँको मनोरम दृश्यावलोकनसहितको कफीसप र कोसेली घर सञ्चालन गरिएको हो”, उनले भने, “व्यवसायमार्फत पनि पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो । यहाँ रुम्जाटारको राडीपाखीदेखि ऐतिहासिक ओखलढुङ्गा अङ्कित मायाको चिनो, बाँसका मुढा, स्थानीय उत्पादनका खाद्य सामग्रीसहितका सामान उपलब्ध छन् ।” जिल्लामा उत्पादन हुने जैविक कृषि उपजलाई कोसेली घरमार्फत विश्व बजारमा पु¥याउने उनको भनाइ छ ।

ओखलढुङ्गामा गाउँ–गाउँमा उत्पादन हुने जडीबुटी, खाद्य सामग्री, रुम्जाटारको राडीपाखी, कारागारमा कैदीले बनाउने बाँसका मुढा, हातले बुनेका ढाकाका टोपी, बाँस तथा काठबाट बनाइएका अन्य सामग्री प्रख्यात भए पनि बजारीकरण नहुँदा समस्या थियो ।

जिल्लामा पहिलोपटक कोसेली घरमार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयास भएको उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव नवराज दाहालले बताए । उनले भने, “मान्छेहरु यहाँ आउनासाथ सिद्धिचरणले कवितामा लेखेको जस्तो ओखलढुङ्गा हेर्न चाहन्छन् तर कवितामा सिङ्गो जिल्लाको परिवेश व्याख्या गरिएकाले एक ठाउँमा आउँदैमा त्यस्तै देखिने अवस्था त हुँदैन । यद्यपि युगकविको भूमिमा पछिल्लो समय भएको पूर्वाधारको विकास र थपिएको यो कोसेली घरले केही हदसम्म भए पनि पर्यटक पल्काउने सम्भावना बढ्यो ।” कोसेली घरसँगै रहेको कफीसपमा बसेर ओखलढुङ्गा नियाल्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

पछिल्लो दुई वर्षयता सिद्धिचरण सङ्ग्राहलय तथा स्रष्टापार्क निर्माण, ऐतिहासिक ओखलढुङ्गाको संरक्षण, युगकवि र जिल्लाका बहुप्रतिभाशाली सर्जकको प्रतिमा स्थापनासहितका काम भएपछि यस क्षेत्रमा पर्यटकको आवागमन बढेको छ । मानिसको चाप बढेपछि व्यवसायीहरुले सुविधा सम्पन्न होटल तथा कोसेली घर सञ्चालनमा जोड दिएका छन् ।

काजी भीम मल्लले आफ्नो शासनकालमा यस क्षेत्रमा आउँदा आफ्ना सेनासहितको समूहलाई खाना खान धान कुटेको ओखल आकृतिको ढुङ्गोका नामबाट ओखलढुङ्गा जिल्लाको नामकारण गरिएको थियो । उक्त ढुङ्गो जिल्ला सदरमुकाममा छ । सोही स्थानमा युगकविको जन्म भएकाले उनको पूर्णकदको प्रतिमा पनि त्यहीँ राखिएको छ ।

पछिल्लो समय खोटाङको हलेसी र विश्वको सर्वोच्च शिखर सगरमाथासहितका क्षेत्रमा घुम्न आउने पर्यटक ओखलढुङ्गा पनि आइपुग्ने गरेका छन् । युगकविको जन्मभूमिलाई साहित्यिक पर्यटकीय नगरीका रूपमा विकास गर्ने लक्ष्य राखिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगर क्षेत्रमा पर्यटकीय पूर्वाधारको विकासमा स्थानीय सरकारले जोड दिएको उनको भनाइ छ । 

“हाम्रो नगरपालिका युगकविको नामबाट नामकरण भएको छ । यहाँ थुप्रै सम्भावना छन्, हामी नगरपालिकालाई साहित्यिक नगरका रूपमा विकास गर्न जुटेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “नगर प्रवेश गेट, भ्यूटावर, मठमन्दिर तथा गढी संरक्षण, स्रष्टापार्क निर्माणसहितका काम भएका छन् । थप योजना पनि अघि बढाइएको छ ।” ओझेलमा परेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाको अर्को रमणीय ठाउँ रुम्जाटार हो । ‘घुमीफिरी रुम्जाटार’का नामले परिचित पूर्वी पहाडको समथर गाउँ रुम्जाटारलाई प्रदेश सरकारले स्मार्ट सिटीका रूपमा विकास गरिरहेको छ । प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङको पहलमा रुम्जाटार स्मार्ट सिटी, सांस्कृतिक सङ्ग्राहलय, रङ्गशाला, उच्चस्तरीय रिङरोड निर्माणको काम अघि बढिरहेको छ भने रुम्जाटार विमानस्थलको स्तरोन्नति, रुम्जाटार गेट निर्माण, केबुलकार सञ्चालनसहितका योजना अघि सारिएको छ । प्रदेशकै ऐतिहासिक गुम्बा रुम्जाटारमा निर्माण सम्पन्न भइसकेको छ । रुम्जाटारमा निर्माणाधीन संरचना निर्माणको काम सम्पन्न भएपछि थप पर्यटकको आवागमन बढ्ने स्थानीयवासीको अपेक्षा छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।