केन्द्रीय संस्करण
मेरो जीवन

अहिलेका कलाकार धेरै स्वार्थी भए, एकले अर्कालाई गन्दै नगन्ने

डेटिङको चलन थिएन, घुम्न गइएन : शिवहरि पौडेल

person explore access_timeबैशाख १२, २०७८ chat_bubble_outline0

शिवहरि पौडेल चर्चित हास्य कलाकार हुन् । २०४७ मा बद्री अधिकारीद्वारा लिखित तथा सुनिल पोखरेलद्वारा निर्देशित सडक नाटक ‘वनदेवी’बाट अभिनयमा डेब्यु गरेका पौडेल नेपाली कला क्षेत्रमा लेखक, निर्माता र निर्देशकका रूपमा समेत परिचित छन् ।

८० भन्दा बढी धारावाहिक टेलिशृङ्खलामा अभिनय गरेका पौडेलले ६० वटाभन्दा बढी ठूलो पर्दाका फिल्मसमेत अभिनय गरेका छन् । टेलिशृृङ्खला ‘जिरे खुर्सानी’ अभिनय सिलसिलामा उनले बोलेको थेगो ‘मुखमा हान्नु जस्तो’ अहिले पनि सबैको मुखमा झुन्डिन सफल छ । कतिपयले त उनलाई नामले भन्दा यो थेगोका कारण चिन्ने र बोलाउने गरेका छन् ।

पौडेलको धेरै पहिलेदेखि ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने धोको थियो, त्यो अहिले ‘लक्का जवान’ले पूरा गरिदिएको छ । यही सन्दर्भमा पौडेलको सङ्घर्षका कथा र जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

कलाकारिता

कलाकारिताकै कारणले म अहिलेको अवस्थासम्म आउन सफल भएको हो । अहिले कलाकारितालाई मैले पेसा बनाएको छु । जुन दिनसम्म बोल्न र हिँड्न सक्छु त्यो दिनसम्म कलाकारिता गर्छु ।

२०४७ वैशाख १ गतेबाट मेरो अभिनय यात्रा सुरु भएको हो । बद्री अधिकारीद्वारा लिखित सुनिल पोखरेल निर्देशित ‘वनदेवी’ सडक नाटकबाट मेरो अभिनय यात्रा सुरु भएको हो । त्यो यात्रा अहिलेसम्म जारी छ ।

हजारौँ स्टेज सो, सयौँ नाटक र झन्डै ८० भन्दा बढी टेलिशृङ्खला अभिनय गरेको मेरो ठूलो पर्दाका चलचित्र करिब ६० पुगे होला । म्युजिक भिडियो, विज्ञापन चलचित्रसमेत लेखन, निर्देशन, अभिनय गर्दै आएका छु ।

केही अगाडिसम्म मेरो ठूलो पर्दाको चलचित्र लेखन, निर्देशन गर्ने इच्छा थियो । ‘लक्का जवान’ले त्यो पनि पूरा गरिदिएको छ ।

जागिर

नेपाल राष्ट्र बैङ्कको रिटायर कर्मचारी म । ३० वर्ष पुर्याएर अवकाश लिएको थिएँ । असिस्टेन्ट लेभलबाट सुरु गरेको जागिर डेपुटी डाइरेक्टर भएर रिटाएर भएँ । जागिरको सिलसिलमा ५ वर्ष बालुवाटार, १ वर्ष भैरहवा र २४ वर्ष थापाथली शाखामा बसेँ । जागिर र कलाकारिता जीवन मैले सँगसँगै लगे ।

जागिरको बिदा बचाएर मैले पैसा खाइनँ । त्यो बिदाको समय कलाकारितामा लगाएँ । सार्वजनिक बिदाको दिन कलाकारिता गरेँ ।

अफिस भएको समय ९ः३० अगाडि र साँझ ५ बजेपछि मात्र कलाकारितालाई दिएँ । अफिसको कारणले तीन रात पूरै नसुतेर कलाकारिता गरेको रेकर्ड पनि छ । ‘समय तपाईंको भए पैसा मेरो, पैसा तपाईंको भए समय मेरो भन्थेँ,’ निर्माता निर्देशकसँग मेरो एग्रिमेन्ट त्यस्तै हुन्थ्यो । कलाकारिता गर्न अफिसलाई कहिल्यै धोका दिइनँ ।

मलाई काठमाडौँमा खुट्टा टेकाएको जागिरले हो । कलाकारितामा लाग्ने आधार यसैबाट भएको हो । अफिसबाट दुई छाकको समस्या नभएकाले कलाकारितामा खुट्टा राख्न सकेँ ।

जागिर भए पनि त्यो समय पैसाले नपुगेर मैले धेरै हन्डर र ठक्करहरु खाएको छु । कहिलेकाहीँ दुई तीन दिनसम्म पनि चम्सुर पालुङ्गोमा झोल हालेर खाएँ । तर पनि नडगमगाई अगाडि बढेँ ।

मेरो खाना

खानामा सबथोक मनपर्छ । मन नपर्ने ननभेज हो । रेस्टुरेन्ट साथीभाइ र फ्यामिलीसँग पनि जान्छु । मेरो फ्यामिलीले रेस्टुरेन्ट गएर खान रुचि राख्दैनन् । उनीहरु त्यहाँ खान मन लागेको वा त्योभन्दा नौलो घरमै बनाए खान रुचाउँछन् । माछामासु पाउनेभन्दा मिठाइ भएको रेस्टुरेन्ट मलाई बढी मनपर्छ । रेस्टुरेन्टको डोसा, समसा चाट मीठो लाग्छ ।

मीठो नमीठो जे होस्, किचेनमा बसेर पकाउन रुचि छ ।  सबै प्रकारको परिकार बनाउन सक्छु ।

फिट्नेस

एक्सरसाइज फिट्नेस सेन्टरमा गर्दिनँ । घरमै आफ्नो तरिकाले गर्छु । पेट र शरीरलाई स्वास्थ राख्न कति आवश्यक छ त्यति गर्छु । करिब २० मिनेटदेखि ३० मिनेट थेरापी पनि गर्छु ।

मर्निङवाका साथीभाइ भेट हुने, उनीहरुसँगको गफगाफ र चियाले अमल हुन थाल्यो । त्यसले काममा डिस्टर्ब भयो । त्यसैले मर्निङवाक छोडेँ । साइक्लिङ, कम्मरमा लगाउने मेसिन र ट्रेडमिललगायत एक्सरसाइजका सामान घरमै पनि छन् ।

पोसाक

पोसाक ल्याङ्फ्याङ नै मनपर्छ । सबै प्रकारको प्रयोग गर्छु । धेरै सुहाउने राष्ट्रिय पोसाक दौरासुरुवाल हो । विशेष कार्यक्रममा यो लगाउँछु । अन्य समय टिसर्ट, स्टकोट, सर्ट र पाइन्ट लगाउँछु । धेरै सामान लिएर हिँड्ने बानी भएकाले  गोजी धेरै भएको पहिरन मनपर्छ ।

परिहनमा मनपर्ने रङ हल्का नीलो, सेतो र घ्यु कलर हो । पछिल्लो समय कलरफुल पहिरनसमेत लगाउन थालेको छु ।

आफ्नो स्टाइल र साइजमा लगाउनका लागि सिलाउँछु पनि । रेडिमेड पनि किन्छु । पहिरनमा ब्रान्ड हेर्दिनँ । आँखाले हेर्दा जे राम्रो देखियो त्यो किन्छु । महँगो पहिरन किनेर सधैँ एउटै लगाउनुभन्दा सस्तो फेरेर लगाउन रुचाउँछु ।

अध्ययन

अध्ययनमा रुचि छ । सामान पोको पारेर ल्याएका पत्रिका त पढेर मात्र फाल्छु । ज्ञान बढ्ने, बौद्धिक स्तरका किताब पढ्छु । देश विदेशका इतिहास, जानकारी र व्यक्तित्व विकास हुने महावाणीले भरिएको किताब बढी पढ्छु । पछिल्लो समय भने कामले पढ्न भ्याएको छैन ।

पढेका मध्येमा मनपरेको पुस्तक ‘ज्ञानका कुरा’ हो । बालबालिका असहाय केन्द्र भ्रमणका लागि बोलाउन आएकी एक बहिनीले बेच्नुभएको थियो । किन्दिनँ भन्दाभन्दै किनेको त्यो किताब छुटेको भए पछुताउने रहेछु ।

किताबमा मानिस सफल र सबल कसरी हुने, कोसँग कसरी ट्याकल गर्ने लगायतको हरेक कुरा रहेको थियो । त्यो किताब मैले कहाँ राखेँ राखेँ । फेरि खोजेर पढ्न मन छ ।

फुर्सद

फुर्सद छँदैछैन । लेखन, अभिनय र निर्देशनको कामले फुर्सदै हुँदैन । समय बच्यो भने परिवारलाई दिन्छु । त्यो समय नयाँ केही क्रिएसन आउँछ कि भनेर त्यतातिर लाग्छु ।

घुमघाम

घुमघाममा रुचि छ । कामले पनि धेरै ठाउँ घुमाएको छ । देशको झन्डै ६५ जिल्ला पुगेको छु । विदेशका ३३ देश घुमँे होला ।

मुक्तिनाथ, पाथीभरा अहिलेसम्म जान पाएको छैन । जाने मन छ । विदेशका पाए जुनै ठाउँमा पनि जान्छु नि । मुख पनि फेरिने देश पनि हेरिने, किन नजाने । अहिले करिब ५, ६ वर्ष भयो होला विदेश यात्रा भएको छैन ।

खेलकुद

खेलकुदमा एकदमै रुचि छ । पहिले एकदमै राम्रो खेल्थेँ । यसबाट धेरै पटक अवार्ड पनि जितेको थिएँ । स्नुकरको पनि राम्रो खेलाडी हुँ ।

केही अवार्ड पनि जितेको छु । पहिले अल नेपाल स्नुकर च्याम्पियनसिपमा पनि भाग लिएको थिएँ । ब्याडमिन्टन र स्नुकर अहिले पनि खेल्न मनपर्छ ।

धेरै सोच्नुपर्ने भएकाले चेस मनपर्दैन । फुटबल हेर्न मनपर्छ । अहिले पनि ब्याडमिन्टन र स्नुकर पाए खेल्थेँ जस्तो लाग्छ ।

मोबाइल छन्

अहिले दुईवटा मोबाइल बोक्छु । एउटा नोकिया सिम्पल र अर्काे आइफोन । फोन गर्न, उठाउनको अलवा फेसबुक, युट्युब, भाइबर, इमेल, ह्वाट्स एपलगायत सामाजिक सञ्जाल मोबाइलमा चलाउँछु ।

पहिले पहिले मोबाइल धेरै चलाउँथे । अहिले आँखालाई असर गर्यो भनेर थोरै चलाउँछु । नबिग्रिएसम्म मोबाइल फेर्दिनँ । मोबाइल त खासै गिफ्ट पाएको छैन । सात वर्षअगाडि अमेरिकामा एक साथीले भिडियो क्यामरा भने गिफ्ट दिएका थिए ।

टिभी

टिभीमा बढी हेर्ने भनेको समाचार नै हो । समाचार हेर्न मनपर्छ । राजनीतिक कुरा धेरै हुने भएकाले टक शोहरु थोरै हेर्छु ।

गीतसङ्गीत र कमेडीका कार्यक्रमहरु बढी मनपर्छ । म पनि कमेडी कार्यक्रम बनाउने भएकाले सिक्नका लागि पनि अरूको यस्ता कार्यक्रम हेर्छु ।

मेरो अहिले ‘खुरापाती’ नामको हास्यशृङ्खला प्रसार भइरहेको छ । यो युट्युबमा पनि हेर्न सकिन्छ । 

चलचित्र

चलचित्रहरू सिरियस, रुवाउने खालका र कमेडी हेर्छु । दर्दनाक हेर्दिनँ । हेर्न त हामीले सबै खालका हेर्नुपर्छ । केही सिक्न सकिन्छ कि भनेर हेर्छु । भोलि त्यस्तै अभिनय गर्नुपर्यो भने सजिलो हुन्छ ।

फिल्म हल र घरमा पनि हेर्छु । म अलिकति भावुक खालको छु । पात्रलाई टर्चर दिएको फिल्म हेर्दा रुन आउँछ । हलमा फिल्म हेर्दा कति पटक रोएको पनि छु । विश्वका सबैखालका फिल्म हेर्छु । धेरै हेर्ने नेपाली हो ।

मेरो विवाह

करिब २१ वर्षअगाडि मैले प्रेम विवाह गरेको हो । त्यो समय मैले राष्ट्र बैङ्कमा जागिर खाइसकेको थिएँ । उनी मसँगै राष्ट्र बैङ्कमा काम गर्ने साथीकी बहिनी हुन् । उनी  स्कुलकी मिस थिइन् । हामी एउटै घरमा बस्थ्यौँ । त्यो समय दुवैको विवाह उमेर भइसकेको थियो । दैनिक दुवैको हेराहेर हुन्थ्यो । हामी दुवैले एकअर्काेलाई मनपराउन थालिसकेका थियौँ ।

त्यो समय डेटिङको चलन थिएन । त्यसैले कतै घुम्न गइएन । अप्ठ्यारो पर्दैन भने विवाह गरौँ भनेर मैले सीधै प्रपोज राखे । उनको परिवारले पनि सहमति दियो । हामीले विवाह गर्यौँ ।

सपना

भगवानले सबै कुरा पूरा गरिदिएका छन् । भगवान्सँग प्रर्थाना गर्दा म कहिल्यै पनि आफ्ना लागि केही माग्दिनँ । संसारमा जति पनि मानिस, प्राणी छन् ती सबैको भलो होस् भनेर भन्ने गर्छु ।

आफ्ना लागि मात्र मागेर भगवान्ले साँच्चिकै दिए भने, अरूले कही पाएनन् भने मै कहाँ उनीहरु आउने हुन् । त्यसैले सबैको राम्रो होस् भनेर माग्छु ।

दुःख

दुःख, सुख भनेको मन हो । जमानामा मैले गरेको सङ्घर्षलाई दुःखको रूपमा लिएको थिइनँ । त्यो सङ्घर्ष हल्का रूपमा लिएको भए अहिले त्यो दुःख सम्झने थिइनँ ।

कलाकारितामा दुःखको कुरा गर्ने हो भने कति छन् कति । दिनभर मेकअप गरेर बेलुका त्यतिकै भोकै फर्किएको अवस्था पनि छ । सुटिङका युनिटका सबैले खाजा खाँदा मलाई खा भनेको अवस्था पनि छ ।

कलाकारिताको समयमा सबै साथीभाइ काम सकिएपछि चिया मात्र भए पनि सँगै खाएर छुटिन्थ्याैँ । एकअर्काको प्रगति गर्ने कुरा गथ्र्यौं । समूहमा मिलेर काम गरौँ भन्थ्यौँ । तर, अहिलेका कलाकार धेरै स्वार्थी देखिएका छन् । एकले अर्काेलाई नगन्ने र छुद्र बोल्ने गर्छन् । यस्तो देख्दा दुःख लाग्छ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । मेरो इच्छा पहिले अभिनयभन्दा पनि गीतसङ्गीतमा थियो । स्कुलदेखि नै गीत गाउँथे । म अभिनयमा लागेँ । त्यो इच्छा पुगेन । दर्शकले अभिनयबाटै माया दिनुभयो । यसबाटै मेरो राम्रो भयो ।

मन आनन्दित हुने, गहन शब्दले भरिएका गीत सुन्न मनपर्छ । फास्ट गीत मनपर्दैन । नारायण गोपाल दाइका जस्ता गीत धेरै सुन्छु ।

भुल

जीवनमा धेरै भुल गरेको छु । सुरुको समयमा दुःख पाएको थिएँ । पैसा हुन थालेपछि जोगाउनु पर्ने बेलामा  सुखले मातिएर, आतिएर मीठो खाने र खुवाउने गरेँ ।  त्यसले गर्दा बीचमा ठूलो धोकासमेत पाएँ ।

मास्टर डिग्री गर्ने इच्छा थियो । दुई–तीनपटक  प्रयास पनि गरेँ । समय  र पैसाको अभावले गर्न सकिनँ । अहिले त्यही पछुतो लागिरहेको छ ।

मापसे

९ वर्ष छोडेर अहिले फेरि मापसे सुरु गरेको छु । कहिलेकाहीँ विवाह, भोज र साथीभाइको पार्टी, जमघट लगायतमा एक दुई पेग लिन्छु । मापसे पाएसम्म र मिलेसम्म विदेशी नत्र स्वस्थ्य हेरेर नेपाली सिल प्याक खान्छु ।

पहिले विदेश जाँदा आफैले ल्याएका, साथीहरुले दिएका घरमा सजाएर राख्न गर्थें । त्यो सबै लकडाउनको समयमा खाएर सकेँ ।

मेरो राशि 

मेरो राशि कर्कट हो । ग्रहदशामा विश्वास लाग्छ । कहिले कहिले हेराउने जुराउने समेत गर्छु ।

म धार्मिक प्रवृत्तिको मानिस पनि हुँ । बङ्गलामुखी आमा र महादेवको भक्ति गर्छु । पहिले हरेक बिहीबार व्रत बस्थे । यो वर्ष आमा बित्नुभएकाले बसेको छैन ।

 मृत्यु

मृत्युलाई सहज तरिकाले लिएको छु । जन्मिएपछि मर्नुपर्छ भन्ने थाहा भएकै विषय हो । पुस्ता परिवर्तनका लागि मर्नु अनिवार्य छ । मृत्यु डरलाग्दो विषय पनि हो । दुःख पाएर, ओछ्यानमा थलिएर कसैले पनि मर्नु नपरोस् भन्ने कामना गर्छु । मेरो पनि त्यही चाहना छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.