ओलीमा दक्षिणपन्थी भड्काव देखियो, एमाले बचाउने ब्रह्मास्त्र छ !
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल वैचारिक नेताका रुपमा चिनिन्छन् । डल्लुस्थित खनाल निवासमा पुगेर हामीले सोध्यौं, ‘एमालेका आम कार्यकर्ताको भावनाअनुसार अब पार्टीको एकता बचाउने तपाईंसँग कुनै सूत्र छ ?’ जवाफमा खनालले एमालेलाई बचाउने ब्रह्मास्त्र बाँकी रहेको र अब त्यसलाई प्रयोगमा ल्याउनुपर्ने सुझाए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ‘दक्षिणपन्थी अवसरवादी भड्काव’ देखिएको एमाले नेता खनालले आरोप लगाए । ओलीमा दक्षिणपन्थी भड्काव देखिएको आधार के छ भन्ने प्रश्नको जवाफमा खनालले केही बुँदाहरु प्रस्तुत गरे ।
अहिले ओलीको पक्षमा लागेका एमालेका युवाहरुको भविष्य अन्धकार रहेको बताउँदै खनालले भने, 'केपी ओलीले जतिसुकै गरे पनि उहाँको समूहलाई अगाडि बढाउन सक्नुहुन्न । उहाँले आफ्नो नेतृत्वमा रहेका धेरै युवाहरूको भविष्य अन्धकारमा हाल्दै हुनुहुन्छ । एकीकृत भएको पार्टी फुटाउनुभयो । एमाले पनि उहाँका क्रियाकलापले विभाजन र विघटनतर्फ जाँदैछ ।’
एमालेमा देखापरेको ‘दक्षिणपन्थी अवसरवाद’ माथि आफूहरुले विजय प्राप्त गर्ने र ‘गुटको कब्जामा पुगेको’ पार्टीलाई बचाइ छाड्ने खनालले दाबी गरे ।
प्रस्तुत छ, नेता खनालसँग एमाले अन्तरविरोधको सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले गरेको विस्तृत कुराकानी –
स्थायी सरकार र विकासको आशा राखेर जनताले नेकपालाई झन्डै दुुई तिहाई बहुमत दिए । तर, नेकपाको एकता त जोगाएन नै, एमालेसमेत फुुट्ने स्थितिमा आइपुुगेको छ । यस्तो परिस्थिति सिर्जना हुनुमा कुनै वैचारिक/राजनैतिक अर्थ पनि छ कि नेताहरुको व्यक्तिगत सम्बन्ध/स्वभावका कारणले मात्र यस्तो भएको हो ?
कम्युनिस्ट पार्टी र आन्दोलनमा एकता गर्दा भिडभाड जम्मा गरेर, धेरै मानिस एक ठाउँमा आएर, टाउको जोडेर, अङ्कमाल गरेर, कुनै स्वार्थमा जुटेर एकता हुँदैन । कम्युनिस्ट पार्टीको एकता जहिले पनि वैचारिक–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यका आधारमा र निश्चित विधि र पद्धतिका आधारमा हुने गर्छ । यी कुरामा टुटफुट र विचलन, र देब्रे वा दाहिने भड्काउ सिर्जना हुन थाल्यो भने कम्युनिस्ट आन्दोलनभित्रको एकता टुट्दै जान्छ । बिस्तारै त्यो भत्कँदै जान्छ ।
तर, वैचारिक र राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त ठीक छ र त्यसलाई ठीक ढङ्गले कार्यान्वयन गर्ने मान्छे नेतृत्वमा छ भने सानो पार्टी पनि ठूलो हुन्छ । कमजोर पार्टी पनि बलियो हुन्छ । सत्तामा नभएको पार्टीले सत्ता प्राप्त गर्नसक्छ र पृथ्वी हल्लाउने ठूला–ठूला परिवर्तनहरू हुन सक्छ ।
हामीले इतिहासका विभिन्न घटनामा यही श्रृङ्खला देखेका छौँ । सोभियत संघमा सोभियत कम्युनिस्ट पार्टीले जुन ढङ्गले प्रगति गर्दै गयो, अमेरिकाजस्तो शक्तिलाई पनि त्यसले कयौँ क्षेत्रमा उछिन्यो र दुईवटा महाशक्ति प्रकट भए । वास्तवमा सोभियत सङ्घ एउटा अति महाशक्तिको रूपमा विकसित भएको थियो । तर, त्यही देशको कम्युनिस्ट पार्टीमा २० औँ महाधिवेशनपछि दक्षिणपन्थी अवसरवाद प्रकट भयो र त्यो बिस्तारै नेतृत्वमा हाबी भयो, त्यसपछि त्यो पार्टी विचलित हुँदै गयो । आउने नेतृत्वले पनि त्यसलाई सच्याउन सकेन । अन्ततः गोर्भाचोभजस्तो मान्छे आयो, उसले सोभियत संघलाई नै समाप्त पारिदियो । जुन एउटा वस्तुगत यर्थाथ संसारको सामु थियो, त्यो गल्र्याम–गुुर्लुम्म ढल्यो । साम्राज्यवादले एउटा गोली खर्च गर्नुपरेन । उसले अरू कुनै मिहिनेत गर्नुपरेन । किल्ला भित्रैबाट किल्ला ध्वस्त भयो । त्यस्तो हुने गर्छ ।
नेपालको सन्दर्भमा.....?
हाम्रै देशमा पनि कम्युनिस्ट आन्दोलन पहिले विभाजित अवस्था थियो, त्यो अवस्थामा आइपुग्नुको कारण वैचारिक–राजनीतिक कार्यदिशा नै हो । तर, जब २० को दशकमा धेरै विचलन आएपछि ३० को दशकबाट फेरि पुनर्गठनको सुरुवात भयो । एकीकरणको सुरुवात भयो । कम्युनिस्ट आन्दोलन विस्तार भएर गयो, व्यापक भयो । एकपछि अर्को समूह एकीकृत भए । किनकि, सही वैचारिक–राजनीतिक कार्यदिशा प्राप्त भयो । नेतृत्व पनि त्यही ढङ्गको प्राप्त भयो । त्यही ढङ्गका विधि विधान निर्माण भए । यी सबै कुरा वैचारिक र राजनीतिक कार्यदिशाले निर्धारण गर्छ । हाम्रो पार्टीमा पछिल्लो समय यी कुरामा विचलन आयो ।
हाम्रो प्रश्न एमालेमा केन्द्रित छ । यहाँले जुन अन्तर्राष्ट्रिय सन्दर्भ र नेकपाको इतिहासको सन्दर्भ जोड्नुुभयो, यसलाई एमालेको अन्तरविरोधमा कसरी सामान्यीकरण गर्न सकिन्छ ? के गोर्भाचोभ वा केशरजङ्ग रायमाझीजस्तै एमालेमा कोही जन्मिएको हो र ? बाहिरबाट हेर्दा त ओली र तपाईंहरुको दुबै समूहमा खासै वैचारिक–राजनीतिक भिन्नता देखिँदैन नि ?
यो महत्त्वपूर्ण प्रश्न गर्नुभयो । हाम्रो पार्टी नेकपा एमालेमा लामो समयदेखि गुटबन्दी प्रकट भए । हाम्रो पूर्व नेकपा (माले) मा गुटबन्दी हुन सकेन । हुन खोजे, हामीले सुरुमै समाप्त गरिदियौँ । त्यतिबेला प्रबल वैचारिक–राजनीतिक कार्यदिशा थियो । त्यसैले त्यस्ता प्रवृत्तिहरू चकनाचुर भएर गए ।
एमाले बनायौँ, एमाले बनाएपछि पनि निकै कालसम्म पार्टीको कार्यदिशा, विचार पनि ठीक थियो । नेतृत्वले पनि त्यसलाई अघि बढाइरह्यो । नेतृत्व फेरिँदै गयो । तर, फेरिएको नेतृत्वले पनि त्यो राजनीतिक कार्यदिशा, जो हामीले ३० को दशकमा विकसित ग-यौँ, ४० को दशकमा स्थापित ग-यौँ, त्यही कार्यदिशाअनुरूप एमाले अघि बढेर आयो ।
०६२/६३ को जनक्रान्ति त्यही कार्यदिशाका आधारमा सम्पन्न भयो । क्रान्ति सम्पन्न भइसकेपछि हामीले नयाँ ढङ्गले जानुपर्ने थियो । क्रान्ति सम्पन्न भइसकेपछि पनि कतिपय नेताहरूले त्यसलाई क्रान्ति भन्न सक्नुुभएन । हामीले आठौँ महाधिवेशनमा गएर यो क्रान्ति हो भन्यौँ । क्रान्तिबारे हामीले करिब–करिब सहमति नै ग-यौँ । तर, पनि भित्रभित्र असहमतिहरू थिए, भिन्न मत कसैले राख्ने आँट गरेन ।
नवौँ महाधिवेशनमा पुुग्दाखेरि हामीले यो देशमा जनवादी क्रान्ति सम्पन्न भयो र अब हामी एउटा नयाँ किसिमको, प्रारम्भिक किसिमको पुुँजीवादी समाजमा आइपुुग्यौँ भन्ने विश्लेषण ग-यौँ । म त्यतिबेलाको पार्टी अध्यक्ष हुँ । मैले नवौँ महाधिवेशनको प्रतिवेदन प्रस्तुत गर्दा यही विश्लेषण अघि सारेँ । त्यो प्रतिवेदन तपार्इं अहिले पनि हेर्न सक्नुहुन्छ । अब हामीले समाजवादको निर्माण गर्ने दिशातर्फ जानुपर्छ, नेपाली समाजमा कसरी समाजवाद निर्माण गर्ने, त्यसको मोडालिटी निर्माण गरेर अघि जानुपर्छ भन्ने अवधारणालाई अघि सा-यौँ । त्यसबेला अवधारणा मात्रै अघि आयो । विस्तृत कार्यक्रम आएको थिएन । त्यो अवधारणा अघि सारेर त्यही आधारमा अब हाम्रा कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्यहरू निर्धारण गरेर जानुपर्छ ।
हामीले एउटा लामो बाटो तय गरेर आयौँ । अब अर्को लामो बाटो हामीसामु छ । त्यो बाटोको रणनीति के ? कार्यनीति के ? कसरी अगाडि बढ्ने भन्नेसम्मका कुरा अब हामीले निर्धारण गरेर जानुपर्छ । नयाँ आविष्कार गरेर जानुपर्छ भन्ने कुरा हामीले नवौँ महाधिवेशनबाट पारित ग-यौँ । तर, विचार यस्तो पारित भयो, नेतृत्व चाहिँ अर्कै किसिमको भयो । केपी ओलीको नेतृत्व स्थापित भयो ।
कुनै पनि पार्टीको एकता, विकास, विस्तार र समुन्नति त्यसको वैचारिक र राजनीतिक कार्यदिशा र नेतृत्वमा निर्भर गर्छ । हामीले नवौँ महाधिवेशनबाट आधारभूतरूपले सही वैचारिक राजनीतिक कार्यदिशा अघि सा-यौँ । अब नेपाली समाजलाई क्रमिकरूपले समाजवादतर्फ रूपान्तरण गर्नुपर्छ भन्ने कुरा हामीले अगाडि सा-यौँ । तर, त्यसलाई बोक्ने खालको नेतृत्व महाधिवेशनले निर्वाचित गर्न सकेन । महाधिवेशनले केपी ओलीको नेतृत्वको ब्लकलाई सानो अन्तरले निर्वाचित ग-यो । वास्तवमा त्यही निर्वाचनदेखि हाम्रो पार्टीमा विचलन सुरु भयो ।
दोस्रो महाधिवेशनकालीन केशरजङ्ग रायमाझीको नेतृत्वसँग अहिलेको एमाले नेतृत्वलाई तुलना गर्न मिल्छ कि मिल्दैन ?
तपाईंले हाम्रो पार्टीको दोस्रो महाधिवेशन घटना बारेमा प्रश्न गर्नुभयो । यथार्थमा यो दुःखद कुरा हो । तर दोस्रो महाधिवेशनको घटना फेरि एकपटक हाम्रो पार्टीमा दोहोरिन पुुगेको छ ।
दोहरियो कसरी भन्नुहुन्छ भने हाम्रो पार्टीभित्र निकै समयअघिदेखि गुटबन्दी विकसित हुँदै आएको थियो । केपी ओलीको नेतृत्वमा पार्टीको छैटौँ महाधिवेशनकै कालखण्डदेखि एउटा गुट खडा भयो । त्यो गुटले मदन भण्डारीको नामलाई भजाएर मदन भण्डारी फाउन्डेसन भन्दै एउटा गुट खडा ग-यो । फाउन्डेसनका शाखाहरू भन्दै हरेक जिल्लामा कमिटीहरू बनाउँदै हिँड्यो । त्यो वास्तवमा पार्टी विरोधी गुट थियो । त्यो गुटलाई हामीले सुरुमै निरूपण गर्न सक्नुपथ्र्यो । हामीले निरूपण गर्न सकेनौँ । पार्टी नेतृत्वले त्यतिबेलै जुन ढङ्गले गम्भीरतापूर्वक लिनुपर्ने थियो, त्यसरी गम्भीरतापूर्वक लिने र गुटबन्दीलाई सुरुवातमै त्यसका चरित्र र गतिविधिहरू निरूपण गर्नुपर्ने थियो । त्यो नगर्दा उक्त गुट हुर्कंदै गयो ।
त्यही गुटका वाहकलाई पार्टीले विभिन्न ढङ्गले मलजल गर्ने काम पनि गर्दै गयो । त्यो मलजल गर्ने सिलसिलामा अनेकन प्रकारका साधन–स्रोतको परिचालन गर्ने एउटा अनुुकूलता पनि बढेर गयो । त्यो गुटबन्दी झन् झन् घनिभूत भएर गयो ।
हामी सातौँदेखि आठौँ महाधिवेशन बीचमा आइपुुग्दासम्म हाम्रो देशमा ०६२–६३ को ठूलो परिवर्तन भयो । त्यो सम्पन्न भइसकेपछि हामीले संविधान सभाको निर्वाचन ग-यौँ । त्यो निर्वाचनमा तत्कालीन महासचिव कमरेड माधवकुमार नेपालले आफू पराजित भएको र पार्टी पनि पराजित भएको हुनाले नैतिकताका आधारमा राजीनामा दिनुुभयो । त्यसपछि पार्टीले मलाई फेरि महासचिव बनायो ।
मैले क्रमशः अब पार्टीलाई आठौँ महाधिवेशनतर्फ सङ्गठित गरेर लानुपर्छ भनेर मैले पार्टीलाई अगुवाई गरेँ । त्यतिबेला उग्र वामपन्थ नेपाली कम्युनिस्ट आन्दोलनमा झन्डै–झन्डै हाबी थियो । त्यसका विविध अभिव्यक्ति विरुद्ध हामीले वैचारिक सङ्घर्षलाई पनि गहिरो बनाएर लग्यौँ । पार्टीका सही क्रान्तिकारी कार्यदिशालाई अझ समृद्ध पनि बनायौँ । त्यो समृद्ध बनाउने क्रममा पार्टी सङ्गठनमा नयाँ रक्तसञ्चार भयो । नयाँ जीवन र आत्मविश्वास विकास भयो । कार्यकर्ताहरूमा पनि त्यही ढङ्गको आत्मविश्वास विकसित भयो ।
हामी त्यो गुुटबन्दीविरुद्ध लडि नै रह्यौँ । त्यो गुटबन्दीले विभिन्न ढङ्गले पार्टीलाई सताउने काम गरि नै रह्यो । हामी त्यसविरुद्ध पनि जुध्दै रह्यौँ । तर, नवौँ महाधिवेशनसम्म आउँदा पनि त्यो गुटलाई हामीले उन्मूलन गर्न सकेनौँ । त्यो उन्मूलन गर्न नसक्नुका पछाडि हाम्रै साथीभाइहरूको सहयोग, त्यो गुटबन्दीलाई धेरै मात्रामा पुगिरह्यो । त्यसले गर्दा त्यो गुटबन्दी मौलाउँदै गयो र नवौँ महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशा त म आफै नेतृत्वमा भएको हुनाले हामीले ती कुरा अगाडि सा-यौँ । महाधिवेशनको दस्तावेजको ड्राफ्टिङ कमिटीको अध्यक्ष म आफै थिएँ र विभिन्न दस्तावेज हामीले बनायौँ । हामीले प्रतिवेदन बनायौँ । सङ्गठन प्रस्ताव बनायौँ । हामीले पार्टीको विधान बनायौँ । यस्ता दस्तावेज निर्माण गरेर ती कुरालाई पारित ग-यौँ । त्यो ठिकै ढङ्गले पारित भयो । तर नेतृत्व निर्माण गर्दा कमरेड केपी ओली नेतृत्वको समूह निर्वाचित भएर आयो । जो पारित भएका विचारहरूसँग प्रतिबद्ध थिएन त्यो प्रतिबद्ध थिएन र बिस्तारै पार्टीमा दक्षिणपन्थी भड्कावहरू हाबी हुँदै गए ।
नवौँ महाधिवेशनबाट पारित कार्यदिशालाई ओलीको नेतृत्वले समातेको छैन भन्ने आधार के छ ? यही अवधिमा माओवादीसँग एकता भयो, एकीकृत पार्टी बन्यो, सरकारमा त्यति ठूलो बहुमत लिएर जाने वातावरण बन्यो, सरकारले राम्रा कामहरू गरेको छ भनेर ओलीले भनिरहनुुभएको छ । नवौँ महाधिवेशनको कार्यदिशा र ओलीजीको नेतृत्वबीचको विरोधाभाष कहाँनेर भयो ?
हिजोको जो गुटबन्दी हो, त्यो गुटबन्दी पार्टीको नेतृत्वमै पुुग्न सक्यो र सिङ्गो पार्टीलाई एउटा गुटले शासन गर्ने स्थिति बन्यो । सही विचार बोक्ने साथीहरूलाई पार्टीमा दबाइन्थ्यो । उनीहरूमाथि उत्पीडन हुन थाल्यो । पार्टी व्यापी रूपमा ती साथीहरूलाई जहाँ पनि पाखा लगाउने, सके केन्द्रमा पाखा लगाउने, केन्द्रमा पदाधिकारीमा त १४ जना पदाधिकारीमध्ये हामीले ८ जना जित्यौँ ।
सचिवहरू पनि त्यही ढङ्गका साथीहरूले जित्नुुभयो । तर पनि पार्टी केन्द्रीय कमिटीमा सामान्यत उहाँहरूको झिनो बहुमत भयो । जिल्लाहरूमा पनि हाम्रो धारलाई प्रतिनिधित्व गर्ने साथी नै धेरै जिल्ला (४०–४५ जिल्ला) मा निर्वाचित हुनुुभएको थियो ।
पार्टी भित्रभित्रै दुईवटा समूहमा बाँडिन थाल्यो, दुईवटा विचार समूहमा । व्यक्तिको गुटभन्दा पनि केपी ओलीले नेतृत्व गरेको एउटा दक्षिणपन्थी भड्काउले ग्रस्त समूह र पार्टीका सही वैचारिक–राजनीतिक कार्यदिशाहरूलाई प्रतिनिधित्व गर्ने अर्को समूह । यी दुईवटा समूह प्रकट भए । यी दुुई समूहका बीचमा अन्तरसङ्घर्ष मन्द रूपले बढ्दै गयो । केही अवधिसम्म यसले त्यस्तो तीव्रता लिएन । महाधिवेशनले जे निर्णय गर्यो, त्यसलाई अब पालना गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ, जो नेतृत्व आएको छ, त्यो नेतृत्व महाधिवेशनले पारित गरेका कार्यदिशा, नीति, सिद्धान्त अनुरूप अघि बढोस् भन्ने अपेक्षा सबैको रह्यो ।
यही सिलसिलामा हामीले संविधानको घोषणा ग-यौँ । संविधान बनाउने काममा सिङ्गो पार्टी, त्यतिबेला जो जो सांसद् थियौँ ती सबैले राम्रो ढङ्गले भूमिका खेल्यौँ । त्यो भूमिका खेलेको हुनाले तुलनात्मक रूपले निकै राम्रो संविधान बनाउन सक्यौँ ।
संविधान बनिसकेपछि देशमा पहिले स्थानीय निकायको चुनाव भयो । चुनावमा हामीले सबै बामपन्थीहरूलाई मिलाएर जाऊँ, त्यसमाथि पनि दुईवटा ठूला वामपन्थी समूह प्रकट भए, नेपाली कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र । यो दुईवटा मिलाएर, दुईबीच कार्यगत एकता गरेर हामी अगाडि बढौँ भन्ने कुरा हामीले ग-यौँ । तर, केपी ओली र उहाँको धारका मान्छेले मानेनन् । त्यसले गर्दा स्थानीय निकायको चुनावमा हामी एक्ला एक्लै लड्यौँ ।
हाम्रो पार्टीको केपी ओली धारसँग दम्भ थियो, घमण्ड थियो । हामी एक्लै फाँड्छौँ भन्ने थियो । उहाँलाई आफूभित्र रहेको दक्षिणपन्थी चिन्तनले विभिन्न ढङ्गले प्रभावित पारिरहेको थियो । त्यसबाट उहाँहरूमा एकखालको दम्भ प्रकट भइरहेको थियो । त्यो दम्भका आधारमा उहाँले निर्वाचनमा कार्यगत एकता गर्न दिनुुभएन ।
परिणाम के आयो भने, तत्कालीन नेकपा एमालेले ४५ प्रतिशत जित्यो स्थानीय निर्वाचनमा र माओवादी केन्द्रले १५ प्रतिशत जित्यो, दुुईवटाको जोड्दा ६० प्रतिशत भयो । दुुईवटैले कार्यगत एकता गरेर लडेको भए हामीले कम्तिमा ८० प्रतिशत जित्ने थियौँ । त्यो सम्भावनाबाट हामी वञ्चित भयौँ । यो त पिक्चरले, तथ्यहरूले, ठोस वस्तुुगत सम्भावनाहरूले देखायो ।
त्यसको विश्लेषण गरिसकेपछि ओलीको सत्तामा पुुग्ने जुन महत्त्वाकाङ्क्षा थियो, त्यो महत्त्वाकाङ्क्षा पूरा हुन नसक्ने भयो । उहाँले एकाएक माओवादीप्रतिको जुुन चर्को विरोध थियो, त्यो चर्को विरोध एकैचोटि उहाँले मन्दतामा बदल्नुुभयो, रोकिनुुभयो र माओवादीसँग आम निर्वाचनमा एकता गर्नुपर्छ भन्ने कुरा आयो ।
हामी सबैले त्यो चाहिरहेकै थियौँ, नेपालको कम्युनिस्ट आन्दोलनले पनि त्यही चाहिरहेको थियो । त्यसैले हामीले ठीक छ, राम्रो हो भन्यौँ । त्यसमा सबैको सहमति भयो । हामीले संयुक्त रूपले कार्यगत एकता गरेर निर्वाचन लड्यौँ । त्यो निर्वाचनबाट जे उपलब्धि भयो । हाम्रासामु अहिले पनि छँदैछ । हामीले झन्डै झन्डै दुुई तिहाइ बहुमतको सरकार बनायौँ । नेकपा एमालेले १ सय २१ सिट जित्यो, माओवादीले ५३ सिट जित्यो । हामी दुुईवटाको गर्दा १ सय ७४ सिट भयो र हामी झन्डै दुुई तिहाइ बहुमतमा पुुग्यौँ । यो असाधारण उपलब्धि थियो ।
तर, यो उपलब्धिपछि हामीले विशेष प्रकारले सरकार बनाउनुपर्ने अवस्था आयो । स्वाभाविक रूपले हाम्रो संयुक्त सरकार बन्नुपर्ने भयो । संयुक्त सरकारको प्रधानमन्त्री माओवादी केन्द्रले पनि केपी ओलीलाई समर्थन गर्यो र हामीले पनि ओलीलाई नै प्रस्ताव गर्नु स्वाभाविक थियो । प्रधानमन्त्री बन्नुुभयो । उहाँ प्रधानमन्त्री बनेको दिनदेखि उहाँभित्रको दक्षिणपन्थी अवसरवाद घनिभूत रूपमा प्रकट हुनथाल्यो ।
यहाँले केपी ओलीमा दक्षिणपन्थी भड्काव, दक्षिणपन्थी अवसरवाद देखापरेको बताइरहनुभएको छ । ओलीमा दक्षिणपन्थी भड्काव छ भन्ने आधार के छन् ?
सबैभन्दा पहिलो कुरा उहाँले क्याबिनेट फर्मेशन गर्दा माओवादी केन्द्रका साथीहरूलाई त लिनुपर्ने भयो नै । त्यतिबेला एमाले तर्फबाट अरू कसैलाई उहाँले मान्छे पनि ठान्नुभएन । सम्पूर्ण रूपमा आफ्नो गुटका मान्छेलाई लिएर उहाँले एकलौटीरूपमा क्याबिनेट फर्मेसन गर्नुुभयो । त्योभन्दा कति सिनियर र अनुुभवीलाई तल छाडेर आफ्नो गुटका मान्छेलाई राख्नुभयो । पार्टी त सबैको थियो नि, सबैलाई समेट्नुुपर्ने थियो नि, समेट्नुुभएन । उहाँले गुटभन्दा बढी केही पनि देख्नुभएन । यो दक्षिणपन्थी चिन्तनको सबैभन्दा पहिलो अभिव्यक्ति थियो । यो दक्षिणपन्थी चिन्तनले उहाँलाई अब सत्ताको केन्द्रीकरणतर्फ लग्यो । कम्युनिस्ट पार्टीले त जनतालाई पो शक्ति दिँदै जान्छ, विकेन्द्रीकरण पो गर्दै जान्छ त । अधिकार जनतालाई हस्तान्तरण गर्दै जान्छ, जनतालाई अधिकार सम्पन्न बनाउँदै जान्छ । किनकि, जनता सार्वभौमसत्ता सम्पन्न हुन्, जनता इतिहासका चालक हुन् । जनता निर्णायक शक्ति हुन् । तर, त्यो दक्षिणपन्थी भड्कावबाट ग्रस्त कमरेड केपी ओलीको गुटले क्याबिनेट एकलौटी बनायो ।
दोस्रो कुरा, त्यो क्याबिनेट निर्माणपछि हामीले योजना आयोग बनाएको देख्यौँ । नेपाली समाज त जनवादी क्रान्ति सम्पन्न गरेर अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युुगमा यो प्लानिङ कमिसन आएको थियो नि । यो नयाँ युगमा कसरी नयाँ योजना बनाउने, देशलाई कसरी पुनर्निर्माण गर्ने, नयाँ आर्थिक र सामाजिक ढाँचा कसरी बनाउने ? कसरी आमूल परिवर्तन गर्ने ? पुँजीवादी शोषणबाट यो समाजलाई फेरि कसरी मुक्त गर्ने ? हामीले त हिजो सामन्तवादको शोषणलाई मात्र अन्त्य गरेका छौँ । पुँजीवादको शोषण त बाँकी नै छ । त्यसलाई हामीले कसरी नियन्त्रित गर्दै अन्त्य गर्दै जाने र क्रमशः समाजवादलाई कसरी विकसित गर्दै जाने । समाजवादका आधारहरू कसरी तयार गर्दै लाने, यो आवश्यकता देशका सामुु थियो । तर यो वस्तुगत आवश्यकतालाई उहाँले विल्कुलै नजरअन्दाज गर्नुभयो । हामीले यो आवश्यकतालाई उठाउने कोसिस ग-यौँ । तर उहाँले आफ्नो गुटका मान्छे मात्रै राखेर एकलौटी योजना आयोग बनाउनुभयो । यसमा पार्टीसँग कुनै सल्लाह, विचार विमर्श छैन । पार्टीको कुनै निकायबाट निर्णय छैन । कमसे कम सुझाव त हुन्छ नि, त्यो पनि छैन । ४० वर्षभन्दा धेरै पार गरेर आएका नेकपा एमालेसँग आबद्ध धेरै डाक्टर छन्, विभिन्न पेसा व्यवसायमा जाने विशेषज्ञता हासिल गरेका मान्छेहरू छन् । उनीहरू सबै हेरेको हे-यैँ भए । यसरी उहाँले योजना आयोग बनाउँदा पनि एकलौटीकरण गर्नुुभयो ।
तेस्रो कुरा, उहाँले सरकारको नीति तथा कार्यक्रम ल्याउनुुभयो । त्यो नीति तथा कार्यक्रम कस्तो आउने हो भनेर तीन करोड नेपालीहरू व्यग्र प्रतीक्षामा थिए । अब कम्युनिस्ट पार्टीले यो समाजलाई कसरी योभन्दा उन्नत स्तरमा लग्छ । उसका सामाजिक–आर्थिक नीतिहरू के हुुन्छन् ? यो सबैलाई जिज्ञासाको विषय थियो । तर नीति र कार्यक्रममा एउटा पनि नयाँ कुरा आएन । गुणात्मक परिवर्तनको कुरै भएन, उही मात्रात्मक विकासको कुरा आए । कार्यक्रम त आयो, तर त्यो नीति कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरण, सांस्कृतिक रूपान्तरणका कुुनै कार्यक्रम आएनन् । त्यो पुुँजीवादीकरणकै मात्रै कार्यक्रम आए । दलाल पुुँजीपतिहरूलाई कसो गर्दा हित पुुग्छ, यिनै खालका नीति र कार्यक्रम मात्रै आए । पुँजीवादलाई हित हुने पनि आएन, समाजवादको त कुरै छाडौँ । एक पटक हो र, ३–३ वर्षसम्म नीति तथा कार्यक्रम आए । एक पटक त पहिलो पटक राम्रोसँग तयारी पुुगेन होला, हामीले प्रतीक्षा ग-यौँ । तर दोस्रो आयो, त्यस्तै छ । तेस्रो आयो, त्यस्तै छ । यो त कुनै पनि कुरा तीन चोटि दोहोरिन्छ भने त्यहाँ नियतले काम गरेको हुन्छ । तीन÷तीनवटा नीति कार्यक्रम ल्याउँदा उहाँ विल्कुलै पुुँजीवादपन्थी र दक्षिणपन्थी अवसरवादको दलदलतर्फ लागेको कुुरा प्रष्ट देखियो । यो दक्षिणपन्थी अवसरवादको अर्को एउटा अभिव्यक्ति हो ।
चौथो कुरा, नीति तथा कार्यक्रमपछि बजेट आयो । तीन तीनवटा बजेट आए । ती बजेटले देशलाई के माग गरिरहेको थियो ? कसरी हाम्रो देशको अर्थतन्त्रलाई रूपान्तरण गरिन्छ ? स्वतन्त्र अर्थतन्त्र कसरी निर्माण गरिन्छ ? सामन्तवादका अवशेषहरूलाई कसरी उन्मूलन गरिन्छ ? कृषि क्रान्ति अब कसरी हुन्छ ? भूमि क्रान्ति अब कसरी हुन्छ ? शिक्षामा क्रान्ति अब कसरी हुन्छ ? हाम्रो देशको स्वास्थ व्यवस्थामा कसरी क्रान्ति हुन्छ ? यो देशको साधन–स्रोतलाई जनतालाई हित गर्ने गरी जनतालाई मालिक बनाएर उपभोग गर्ने कुरा कस्ता नीति आउँछन् ? जनताले यो खोजिरहेका थिए, केही पाएनन् । बजेटमा पनि नयाँ गुणात्मक परिवर्तनका कुरा आएनन् । जहाँसम्म सडक बनाउने कुरा छन्, पुल बनाउने कुरा छन्, यी त जसले पनि गर्दै आएका कुरा हुन् नि । पञ्चायतकाल पनि यी हुँदै आए, ०४६ सालपछिका सरकारले पनि गर्दै आए, त्यसैको निरन्तरता मात्रै हो भने अब कम्युनिस्ट पार्टीको नयाँ क्रान्तिकारी नेतृत्वको के आवश्यकता थियो त ? जनताले यो खोज्दै गए तर पाएनन् ।
पाँचौँ कुरा, हाम्रो पार्टीले नेकपा माओवादी केन्द्रसँग समेत मिलेर निर्वाचनमा संयुक्त घोषणापत्र जारी ग¥यो । त्यो संयुक्त घोषणापत्रमा हामीले दर्जनौँ–दर्जन प्रतिवद्धता प्रकट गरेका छौँ । सिङ्गो हाम्रो सामाजिक आर्थिक क्षेत्रमा हामी कसरी रूपान्तरण गर्छौँ, अर्थतन्त्रलाई कसरी रूपान्तरण गर्छौं, हामी कृषिलाई के गर्छौं ? उद्योगलाई के गर्छौं ? अन्य विविध क्षेत्रमा हामी के गर्छौं ? त्यसबारेमा हाम्रा नीतिका शृङ्खलाहरू अघि सारेका छौँ । त्यो हामी सबैले मिहिनेत गरेरै बनाएको हो । तर, त्यो घोषणापत्रका प्रतिबद्धताहरू एउटा पनि लागू भएनन् । उहाँले ती कुरा ध्यानमै राख्नुभएन । यसलाई मैले मार्गदर्शनका रूपमा लिनुपर्छ, हिजो आम जनताले हामीलाई त्यो घोषणापत्रका आधारमा भोट हालेका हुन् भन्ने सबै बिर्सनुभयो । उहाँले मलाई भोट आएको भन्ने ठान्नुभयो । सिङ्गो आएको भोट केपी ओलीको लोकप्रियताले आएको भन्ने उहाँलाई लाग्यो । त्यो दक्षिणपन्थी चिन्तनले उहाँलाई त्यो ठाउँमा पुु-याइदियो र उहाँका वरिपरि भएका मान्छेले पनि त्यसै कुरालाई ठीक हो, ठीक हो भनेर ताली पिट्ने काम गरे ।
क्याबिनेट निर्माण, राष्ट्रिय योजना आयोगको गठन, नीति तथा कार्यक्रम, बजेट र घोषणापत्रको कार्यान्वयनका क्रममा ओलीमा दक्षिणपन्थी भड्काउ देखिएको भनेर यहाँले ५ वटा बुँदामा व्याख्या गर्नुभयो । यो त सरकारको कामसँग सम्बन्धित विषय हो । वैचारिक–राजनीतिक हिसाबले चाहिँ ओलीमा दक्षिणपन्थी भड्काव छ भनेर कसरी मान्ने ?
तपार्इंले यी कुरालाई नै अझै गहिराइमा बुुझ्नुपर्ने हुन्छ । यो दक्षिणपन्थी अवसरवादका मूल–मूल अभिव्यक्ति के हुन् ? म त्यसमा गइरहेको छु । कुनै पनि पार्टी सत्तामा पुुगिसकेपछि उसले आफ्ना नीतिहरूलाई त राज्यको नीति बनाएर लागू गर्नुप-यो नि । त्यसकारण ती नीतिहरू कसरी आए, केपी ओली नेतृत्वमा के नीति आयो ? त्यसपछि, ५ सयभन्दा बढी नियुक्ति तपार्इंले देख्नुुभयो । ती नियुक्तिमा पनि देशको कम्युनिस्ट आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा योगदान पुु-याएका मानिसहरू हुन्, ती योगदान गरेका मानिसहरूलाई उहाँले देख्नुभएन । सबै आफ्नो गुटका मान्छे, आफ्नो प्रशंसक मान्छेहरूलाई भर्ती गर्नुुभयो र सरकारलाई उहाँले आफ्नो गुटको भर्तीकेन्द्र बनाउनुुुभयो । यो उहाँको अर्को दक्षिणपन्थी चिन्तनको अभिव्यक्ति हो ।
तपाईंले संसद्मा विभिन्न विधेयक आएको देख्नुुभयो, ती विधेयक एकपछि अर्को विवादमा आए । कुनै पनि विधेयकमा पार्टीसँग सरसल्लाह भएन । विचार विमर्श भएन । पार्टीका वैचारिक राजनीतिक कार्यदिशा के हुन् ? नीतिहरू के हुन् ? त्यो कुरालाई ध्यानमा राखिएन र आफ्नै प्रकारले या त ब्युरोक्रेसीले के भन्छ त्यही, या आफ्नो कोटरीले जे भन्छ, त्यही आधारमा विधेयक आए । विवादित भएर कतिपय विधेयकविरुद्ध काठमाडौँमा विद्रोह नै भयो । जस्तो गुठी विधेयकका समेत विद्रोह भएको देख्नुुभयो । पार्टीसँग विचार विमर्श गरेर ल्याएको भए त्यस्तो हुने थिएन । यी सबै दक्षिणपन्थी चिन्तन हुन् ।
अर्को भनेको, अब कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने कुरा हो । दुुईवटा पार्टी मिलेर सरकार बन्यो, यो सरकार त संविधानको धारा ७६ (२) बमोजिम बन्यो । तर पार्टी पछि एकीकृत भयो । एकीकृत पार्टी पनि नीतिनिष्ठ ढङ्गले र विधिनिष्ठ ढङ्गले एकीकृत भएन । अचानक उहाँको इच्छा बमोजिम एकीकृत गरियो । त्यो एकीकृत भए मात्रै सम्भवतः आफ्नो सत्ता लामो समयसम्म टिक्ने सम्भावना उहाँले देख्नुभयो । आफ्नो सत्ता टिकाउने कुराको निम्ति जे गर्न सहज हुन्छ । त्यही मात्रै कदम चाल्न थाल्नुुभयो । पार्टीको आमूल परिवर्तन परिवर्तनको वैचारिक राजनीतिक कार्यदिशाबाट विचलित भएर उहाँ गुटको हिततर्फ लाग्नुभयो र त्यही गुटको हित बमोजिम उहाँले एकीकरण गर्नुभयो ।
एकीकरण गरेर पार्टीको सङ्गठनात्मक कुरालाई कसरी धुलोपिठो बनाइदिनुुभयो भने माथि एकीकरण गरेर दुुईवटा केन्द्रीय कमिटीलाई एउटै बनाइयो, तलका सम्पूर्ण पार्टी विघटन । त्यति मात्रै नभएर जनवर्गीय सङ्गठनहरू पनि दुुवै पार्टीका विघटन भएको घोषणा गरिदिनुभयो । यहाँभन्दा ठूलो अपराध के हुनसक्छ, सक्रिय भइरहेका मानिसहरू एकाएक ठप्प भए । पार्टीमा भएका ४–५ लाख सदस्य एकाएक ठप्प भए । कमिटी पनि छैनन् । पार्टी पनि छैन । तीन तीन वर्षसम्म उहाँको सङ्गठनात्मक कार्यदिशा यही हो ।
उहाँले सङ्गठनात्मक क्षेत्रमा पूरै अराजकता मच्चाउनुुभयो, जनवादी केन्द्रीयता कहाँ गयो गयो । पार्टीको विधान, विधि कहाँ गयो गयो । तर, उहाँलाई पार्टीले बालुवाको थुुप्रोजस्तो बनाइदियो, तीन वर्षसम्म । न एकीकरणको योजना छ, न एकीकरण गर्न दिइन्छ । आफ्नो गुटको मान्छे अगुुवाइमा आउँछ भने एकीकरण गर्ने, नत्र नगर्ने । कुनै मापदण्ड पनि छैन, केही पनि छैन ।
उहाँको जुन वैचारिक–राजनीतिक क्षेत्रमा रहेको अवसरवाद हो । त्यो सङ्गठनमा यस ढङ्गले प्रकट भएर आयो । घोर दक्षिणपन्थी, अराजकतावादी अवसरवाद, यसरी सङ्गठनात्मक क्षेत्रमा पनि पार्टीव्यापी रूपमा विचलन, अराजकता, शून्यता भयो । एकीकरणपछि हाम्रा तलका कुनै पनि कमिटीको बैठक बसेन । कहिल्यै पार्टीको प्रशिक्षण भएन । पार्टीले यो काम गर्नुप-यो भनेर कार्यकर्ताहरूलाई निर्देशन दिने काम भएन । त्यो नदिएपछि स्वाभाविक रूपमा तलको पङ्क्ति अन्योलमा बस्यो । झन्डै तीन वर्षसम्म एकता पनि हुन सकेन । अर्को, भित्रभित्रै उहाँले पार्टीलाई थाहा पत्तै नदिई विभिन्न गुप्त सम्झौता गर्नुभएको रहेछ ।
कस्तो गुप्त सम्झौता ?
प्रधानमन्त्री पनि आलो–पालो गर्ने आदि इत्यादि । यस्ता सम्झौता रहेछन् । चार पाँच बुँदाको एउटा सम्झौता रहेछ । त्यो बिस्तारै प्रकट भयो । त्यसपछि हामीले प्रश्न उठाउनु स्वाभाविक भयो । यस्तो पनि गर्ने भनेर पार्टीमा एकखालको अविश्वास सिर्जना हुन थाल्यो । भित्राभित्रै बहसहरू सिर्जना हुन थाले तर उहाँले गर्नुुभएको गुप्त सहमति पनि पालना गर्नुु भएन । अर्का अध्यक्षसँग सहमति रहेछ, गुुप्त सहमति, त्यो पनि लागू गर्नुुभएन । अर्को अध्यक्ष पनि असहमत र असन्तुुष्ट हुन थाल्नुुभयो । पार्टीभित्र त एकलौटीकरण गरिएकै थियो । त्यो दक्षिणपन्थी चिन्तनले यसरी पार्टीको एकतामाथि पनि आँच ल्याउन थाल्यो । आफ्नो एकलौटी गर्ने र एकता गर्दा पनि कुनै आधारमा नगर्ने काम भयो ।
सांस्कृतिकरुपमा पनि प्रश्नहरु उठेका हुन् ? जस्तै– रामको मूर्ति बनाउने कुरा.....
प्रधानमन्त्री भइसकेपछि उहाँमा सांस्कृतिक क्षेत्रमा पनि अनेक प्रकारका विचलन देखिए । पार्टीमा जुन हिसाबले आफ्नै खालको संस्कृति विकास गर्नुपर्ने थियो, विधिसम्मत संस्कृतिको विकास गर्नुपर्ने थियो । कमिटीको विकास गर्नुपर्ने थियो, क्रान्तिकारी कार्यशैलीको विकास गर्नुपर्ने थियो, ती कुरा केही पनि हुन सकेनन् । अनि, मुलुकको सांस्कृतिक क्षेत्रमा पनि जुन ढङ्गको रूपान्तरणको आवश्यकता थियो । प्रगतिशील संस्कृतिको विकास गर्नुपर्ने थियो, त्यो संस्कृतिको विकास गर्ने कुरामा पनि उहाँ अगाडि बढ्न सक्नुभएन ।
बरु पशुपतिनाथमा सुनका गजुर चढाउने, परम्परालाई तोडेर पनि सुनका गजुर चढाउनेजस्ता काम गर्न उहाँ अघि बढ्नुुभयो । चितवनको अयोध्यामा राममन्दिर बनाउने काममा अहिले लाग्नुुभएको छ । बालुवाटारमा हनुमान र सीताका र रामका मूर्ति बनाएर त्यहाँबाट लावालस्कर भएर चितवन पठाउनुुभयो । उहाँ (ओली) को भौतिकवादी चिन्तनको टाट पल्टाइ यही हो । यो टाट पल्टाइ हामी सांस्कृतिक क्षेत्रमा पनि देख्छौँ ।
त्यसकारण, उहाँले जुन वैचारिक राजनीतिक कार्यदिशा प्रकट गरेर ल्याउनुुभयो । हाम्रो पार्टीले अघि सारिरहेका क्रान्तिकारी वैचारिक, राजनीतिक, सैद्धान्तिक कार्यदिशाका विपरीत छन् । यसले गर्दा दुुईवटा कार्यदिशाका बीचमा विस्तारै टकराव बढ्दै जान थाल्यो । यसको परिणामस्वरूप एकता भएको पार्टी पनि खत्तम भयो ।
अहिले एमालेभित्र गहिरो संकट देखिएको छ । यद्यपि एमालेको एकता बचोस् भन्ने चाहना कार्यकर्ता र शुभेच्छुकहरुमा देखिन्छ । यहाँले अहिले गरेको व्याख्याअनुसार अब केपी ओलीसँग सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने हो कि सम्झौताको कुनै बिन्दुु पनि छ ? यो अन्तरसङ्घर्षको मिलनबिन्दु छ कि छैन ?
वैचारिक र सैद्धान्तिक सङ्घर्षको क्षेत्रमा सम्झौता हुन सक्दैन । नीतिनिष्ठ सङ्घर्ष हुन्छ, सम्झौताविहीन सङ्घर्ष हुन्छ । राजनीतिक क्षेत्रमा सम्झौताहरू हुन्छन्, विभिन्न सम्झौता हुन्छन् । राजनीतिक रूपमा कहिलेकाहीँ पछाडि हट्नुपर्ने हुन्छ, कहिलेकाहीँ फड्को मारेर अघि बढ्ने हुन्छ । राजनीतिमा यस्ता कुरा आउँछन् । तर, सिद्धान्तमा कहिल्यै मोलतोल हुँदैन । विचारमा मोलतोल हुँदैन । उहाँसँग अहिले वैचारिक र राजनीतिक दुुवै क्षेत्रमा सङ्घर्ष छ । यो सङ्घर्षले नै पार्टीको रूपान्तरणलाई निर्धारण गर्छ ।
अहिले आम कार्यकर्ताहरूमा यो पार्टीको एकता बचे हुन्थ्यो भन्ने ठूलो भावना छ । त्यो भावनालाई मैले देखेको र बुुझेको छुु । म आफैं पनि पार्टीको एकता जोगाउन पाए हुन्थ्यो भन्नेमा छुु ।
त्यसकारण अहिले हामी अन्तरसङ्घर्षको विशिष्ट प्रक्रियाबाट अघि बढिरहेका छौँ । यो पार्टीभित्रको अन्तरसङ्घर्ष हो । अन्तरसङ्घर्षहरू कहिलेकाहीँ ठूलो मतभिन्तताका रूपमा देखिए पनि क्रमिकरूपले अघि बढेर सहमतिमा पुुग्न सक्छन्, रूपान्तरण हुन सक्छन् । मान्छेले गल्तीलाई महसुस गर्दै गयो भने रूपान्तरण हुन सक्छ । कहिलेकाहीँ मान्छेले पोजिसन पनि छोड्छन् । मैले सकिनँ, अब नयाँ मान्छेहरूले गर्नुस् भन्छन् । त्यसरी पनि सहमति हुनसक्छ । तर, विचार र सिद्धान्तमा मोलतोल हुँदैन ।
यहाँले २०४६ सालमा मदन भण्डारीलाई नेतृत्व हस्तान्तरण गरेको उदाहरण छ । अहिले पनि एउटा सङ्केत गर्नुभयो कि कसैले सकेन भने पोजिसन छोड्न सक्छ । एमालेका आम कार्यकर्ताको भावनाअनुसार पार्टीको एकता बचाउने तपाईंसँग कुनै सूत्र छ ? एमालेलाई मिलाउने त्यस्तो सूत्र के होला ?
एमालेलाई मिलाउने सबैभन्दा निर्णायक कुरा यसको वैचारिक–राजनीतिक कार्यदिशा र नीति नै हो । यसमा मिल्दै मिलिएन भने मिल्न धेरै गाह्रो हुन्छ । तर, यसलाई मिलाएर लिएर जान सक्ने हाम्रो देशको यो कम्युनिस्ट आन्दोलनमा युवा क्रान्तिकारीहरूसँग त्यो तागत छ । त्यो तागतलाई उहाँहरूले प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।
म जतिबेला युवा थिएँ, २० वर्षको उमेर हुँदा मैले नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्ला गठन गरेको थिएँ । मलाई कुनै नेताले निर्देशन दिएर त्यतिबेलाको नेतृत्वले मार्गदर्शन गरेर बनाएको होइन । मैले आफ्नो दिमागले जे बुुझेँ, कम्युनिस्ट पार्टीबाहेक अरूले यो देश बचाउन पनि सक्दैनन् र प्रगतितर्फ लैजान पनि सक्दैनन् भनेर कम्युनिस्ट पार्टी नै बनाउनुुपर्छ भनेर मैले कम्युनिस्ट पार्टीको भूमिगत रूपमा निर्माण थालेँ । २०२६ सालबाट निर्माण थालेपछि देशभरका सारा कम्युनिस्ट नेतासँग भेटघाट र कुराकानी गरेँ । मैले आफूलाई नेतृत्व गर्ने नेताहरू पाइनँ ।
०३२ सालमा पुुग्दा हामी आठवटा जिल्लाका साथी मिलेर हामीले नयाँ ढङ्गले कोअर्डिनेसन बनाऔँ, सबै साथीहरूलाई वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा एकताबद्ध गरौँ र नयाँ ढङ्गले एकीकृत पार्टी निर्माणको थालनी गरौँ भन्यौँ । त्यतिबेलाका बूढापाकाले पार्टीलाई एकीकृत गरेको होइन, युवाहरूले गरेको हो । त्यसपछि हामी आठ जनाले मिलेर यो पुनर्गठन र एकीकरणको अभियान थालनी ग-यौँ । यही अभियानको अन्तिम संस्करण हो नेकपा एमाले र नेकपा माओवादीको एकीकरण । हामीले त्यसभन्दा अगाडि कम्तीमा पनि ३५ वटा समूहहरू एकताबद्ध गरेर आयौँ ।
शीर्ष भनिएका ‘बूढा’ नेताहरूबाट चाहिँ अब एमाले पार लाग्ने देख्नुहुन्न ?
हामीले जुन समूहको नेतृत्व गरिरहेका छौँ त्यो समूहमा म ७२ वर्ष पुगेको नेता हुँ । हाम्रो आयु त सीमित नै हुन्छ । स्वाभाविक रूपमा लामो यात्रामा जानु नै पर्नेछ । यो यात्रामा कसरी जाने ? म बाटो देखाउन सक्छु, मलाई विश्वास छ । तर, पनि मेचीदेखि महाकाली, हिमालदेखि पहाड दौडनुपर्छ नेताहरूले । यो दौडने काममा मेरो विचारमा ७० वर्ष उमेर पुगेका मान्छेले चाहाना हुँदाहुँदै पनि धैरै भ्याउन सक्दैन । उनीहरूको सैद्धान्तिक र वैचारिक क्षमता पनि हुनसक्छ । तर, सङ्गठनात्मक हिसाबले काम गर्न त्यो उमेरका मान्छेलाई निकै कठिन हुन्छ । त्यसो हुनाले उहाँहरूले बुद्धि पुर्याएर युवा पुस्तालाई अगाडि बढाउने प्रयत्न गर्नुपर्छ ।
यो कुरालाई ध्यानमा राखेर हाम्रो पार्टीको नवौँ महाधिवेशनताका जतिबेला म ड्राफ्टिङ कमिटीमा थिएँ, विधान बनाउँदा हामीले एउटा प्रावधान राख्यौँ । त्यसमा अब ७० वर्षलाई एउटा आधार वर्ष बनाएर त्योभन्दा माथिका साथीहरू सल्लाहकारको भूमिकामा बस्ने भनेर ।
७० वर्षमुनिका साथीहरूलाई कार्यकारी भूमिका दिने त्योभन्दा माथिकालाई पार्टीमा योगदान गरिरहन दिने तर सल्लाहकारको भूमिका दिने र नयाँ पुस्तालाई अघि बढाउन जिम्मेवारी दिन त्यो अवधारणा वा प्रावधान राखिएको हो । त्यो प्रावधान सुविचारित ढङ्गले राखिएको हो, सर्वसम्मत पारित भएको हो । त्यसैले त्यो प्रावधानलाई कुनै पनि बहानामा हटाउनु नैतिकताभित्रको कुरा हुँदैन ।
७० वर्ष पार गरेका वा पार गरिरहेका कुनै पनि नेताहरूबाट देशको कम्युनिस्ट आन्दोलनलाई सम्याएर लानेभन्दा उनीहरूले आफ्ना अनुभवहरू दिएर युवालाई अगाडि बढाएर, अग्रपङ्क्तिमा राखेर, जिम्मेवारी दिएर अगाडि बढाउन सक्नुपर्छ ।
केपी ओलीले जतिसुकै गरे पनि उहाँको समूहलाई अगाडि बढाउन सक्नुहुन्न । उहाँले आफ्नो नेतृत्वमा रहेका धेरै युवाहरूको भविष्य अन्धकारमा हाल्दै हुनुहुन्छ । उहाँले एकीकृत भएको पार्टी फुटाउनुभयो । एमाले पनि उहाँका क्रियाकलापले विभाजन र विघटनतर्फ जाँदैछ ।
हरेक दिन तपाईंले देखिरहनुभएको छ, हिजो मात्रै पनि कति स्थायी कमिटीका साथीहरूलाई पार्टीबाट निकालेर अरू आफ्ना भारदारहरूलाई भर्ती गर्नुभयो भन्ने मैले सुन्दैछु । पार्टीमा भारदार, उद्योगपति, व्यापारी र दलाल पुँजीपतिहरूलाई भर्ती गरेर यो पार्टीलाई निरन्तर अधोगतितर्फ रूपान्तरण गर्नेबाहेक उहाँले केही गरेको देखिँदैन । दक्षिणपन्थी चिन्तनले ल्याउने कुरा त्यही हो र उहाँ त्यही काममा लाग्नुभएको छ । उहाँको नेतृत्वमा अरूको भविष्य पनि समाप्त हुँदैछ । अब विस्तारै उहाँको पछाडि लागेर गएका मान्छेहरूले अहिले यो कुरा नबुझे पनि अब बुझ्दै जानेछन् ।
अहिलेको अवस्थामा पनि दुवै समूहमा युवाको ठूलो पङ्क्ति छ । ती युवा एक ठाउँमा आउनुपर्छ र उनीहरूले सही वैचारिक राजनीतिक कार्यदिशाको आधारमा एकताको प्रयत्न गर्नुपर्छ । अरू कुनै आधारमा एकता हुँदैन । सही कार्यदिशाको आधारमा मात्रै सङ्गठनात्मक एकता हुन्छ ।
यसको अर्थ, दुवै समूहका युवाले चाहे भने एमालेभित्रको एकता जोगाउन सक्छन् भन्ने तपाईंको निष्कर्ष हो ?
हो । युवाहरूमा त्यो ब्रह्मास्त्र छ । त्यो उहाँहरूले प्रयोग गर्न सक्नुपर्छ । प्रयोग गर्न सक्नुभएन भने उहाँहरूले आफ्नै भविष्यमा आगो लगाउनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने सन्दर्भमा बीस र तीसको दशकमा मेरो पङ्क्तिले जुन ढङ्गको भूमिका खेल्यो, त्यतिबेला हामी ज्वाजल्यमान युवा थियौँ । हामी अँगार र ढुङ्गा खान सक्थ्यौँ । त्यो तागत थियो र हामीले आँट गर्याैँ, कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले रूपान्तरण गर्न सक्यौँ ।
म दावाका साथ भन्छु हाम्रो पङ्क्तिले यो देशको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले सम्यायो । पहिलो पुस्ताले गर्नसक्नुभएको थिएन, उहाँहरूको लिगेसीलाई हामीले समात्यौँ । उहाँहरूका असल परम्परालाई समात्यौँ । असल कार्यशैलीलाई पनि समात्यौँ र लेनिनले भनेजस्तै देशको विद्यमान ठोस परिस्थितिको ठोस विश्लेषण गर्यौँ । त्यो विश्लेषण गरेर नेपाली क्रान्तिका कार्यदिशा र नीति के हुन् ? समाजको वर्गविश्लेषण के हो ? यसका वर्गीय असमानता र अन्तरविरोध के हुन् ? यसलाई रूपान्तरण गर्न के गर्नुपर्छ ? कस्तो बाटोबाट क्रान्तिलाई सम्पन्न गर्नुपर्छ भन्ने त्यो सबै हामीले आविष्कार गरेको कुरा हो ।
मैले मार्क्स र एङ्गेल्सका भोल्युमहरू पढेँ । लेनिनका ४५ वटा भोल्युम र स्टालिनका १४ वटा भोल्युम पढेँ तर कहीँ पनि नेपाली क्रान्तिको बाटो भेटिनँ । कहीँ पनि नेपाली राजनीति यसरी गर भन्ने छैन । यी सम्पूर्ण सैद्धान्तिक भण्डारहरूबाट तीनवटा कुरा सिकेँ ।
पहिलो– सही दृष्टिकोण लिएर हिँड । क्रान्तिकारी वर्ग दृष्टिकोण लिएर हिँड । सर्वहारा वर्गीय दृष्टिकोण लिएर हिँड । त्यो दृष्टिकोणमा अविचलित होऊ ।
दोस्रो– सधैँभरि वर्गीय अडानमा बस । वर्गीय अडान कहिल्यै नछोड । वर्गीय अडानका साथ परिस्थितिको विश्लेषण गर । समाजका विभिन्न वर्गहरूको विश्लेषण गर । सबभन्दा क्रान्तिकारी वर्ग भनेको सर्वहारा श्रमिक वर्ग हो । त्यो वर्गको हितलाई सर्वोपरी राखेर समाजवादको लक्ष्यलाई सर्वोपरी राखेर अगाडि बढ भनेर मैले सिकेको हो ।
तेस्रो– मैले सिकेको कुरा नयाँ मेथर्ड (विधि) । मार्क्सवादी मेथर्ड । द्वन्द्वात्मक भौतिकवादी मेथर्ड । विश्लेषणात्मक मेथर्ड । हरेक चिजको विकास हुन्छ र उत्पत्ति हुन्छ र त्यसको अन्त्य हुन्छ । हरेक चिज गतिमा मात्र बाच्न सक्छ । जसको गति अन्त्य हुन्छ, उसको मृत्यु हुन्छ । यी तीनवटा कुरा मैले मार्क्सवादका विभिन्न ठेलीको अध्ययन र नेताहरूबाट सिकेँ ।
हामी जोकसैले पनि मार्क्सवाद पढेर अरू विभिन्न देशका रोचक सङ्घर्ष या क्रान्तिका कहानीहरू हेर्न पाइन्छ । तर, आफ्नो देशको बाटो तय गर्ने मार्क्सवादले दिएको अचूक अस्त्र भनेको ठीक अडान लेऊ, ठीक दृष्टिकोण राख र ठीक मेथर्ड प्रयोग गरेर अगाडि बढ भन्ने नै हो ।
नेतृत्वमा नयाँ पुस्ता ल्याउनुपर्छ भनेर अघि नै भनिसक्नुभयो । एमालेमा अहिले एउटा धारको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको छ, अर्को धारको तपाईंहरूले । केपी ओली पक्षले धमाधम कारबाही गरेर तपाईंहरूले नेतृत्व गरेको धारलाई समाप्त पार्दै गरेको अवस्था छ । तपाईंहरूले अघि सरेर गरेको अन्तरसङ्घर्षको परिणामचाहिँ कहिले आउँछ ?
हामीलाई कारबाही गरेर, हामीलाई डण्डा देखाएर, हामीमाथि अनुशासनको धाकधम्की दिएर हामीलाई समाप्त गर्न कसैले सक्दैन । सही विचार त्यसरी सकिँदैन ।
तर, व्यवहारिक रूपमा त तपाईंहरु निरीह देखिनुभएको छ नि ?
तपाईंलाई कसैले पद र ओहदाबाट हटाइदिन सक्छ । कुनै पनि पद र ओहोदा भनेका अस्थायी हुन् । स्थायी भनेको विचार हो, नीति हो, सिद्धान्त हो । हामीलाई विचार र नीतिबाट कसैले राजीनामा गराउन सक्छ ? कसैले हटाउन सक्छ ? कसैले सक्दैन । यस्ता पदहरू आइरहन्छन्, गइरहन्छन् । सही विचार र पार्टी छ भने पद प्राप्त गर्नसक्नुहुन्छ । सही विचार र पार्टी पनि छैन र निराश हुनुहुन्छ र पदका निम्ति काम गर्नुहुन्छ भने केही गर्न सक्नुहुन्न ।
त्यसकारण, हामी अहिले पार्टीलाई पुनर्गठन गर्नुपर्छ, एकताबद्ध गर्नुपर्छ भनिरहेका छौँ, हामी सिद्धिने शक्ति कदापि होइनौँ । यो त नवीन शक्ति हो । नेपाली समाजमा नयाँ आशा जगाउने शक्ति हो । नेतृत्वले गद्दारी गर्यो भने पनि त्यसविरुद्ध जुधेर पनि आन्दोलन अगाडि बढ्ने रहेछ । त्यस्तो उदाहरण र नमुना बन्नेछ यो ।
तपाईंले प्रयोग गर्नुभएको यो निरीह शब्द हाम्रो डिक्सनरीमा छैन । त्यो तपाईंहरू जस्ता साथीको डिक्सनरीमा हुन सक्छ । तपाईंहरू डराउनुहोला, निरीह पनि बन्नुहोला, हामी हुँदैनौँ । हामी भनेको बलिरहेको बत्ती जस्तै हौँ । बत्तीले अन्धकारसँग कहिल्यै सम्झौता गर्दैन ।
तपाईंहरूकै नेता कार्यकर्ताले प्रयोग गर्ने गरेको निरीह शब्द हामीले सापटी लिएको हो, तपाईंहरू निरीह बनेको होइन ?
होला, हाम्रा कार्यकर्तामध्ये कुनै एकले त्यस्तो शब्द प्रयोग गरेको हुनसक्छ । तर, हाम्रो समूहले त्यो शब्द प्रयोग गर्दैन । हाम्रो क्रान्तिकारी विचारले यस्तो कुरा प्रयोग गर्दैन । हामी एकबाट पनि अनेक हुँदै जान्छौैँ । सानोबाट ठूलो र कमजोरबाट बलियो हुँदै जान्छौँ । तर, हामी सही कुराको पक्षमा उभिनसक्नुपर्छ पनि भनेका छौँ ।
कतिपयले एमाले अब फुटि नै सक्यो भनेका छन् । योसँगै तपाईंहरूको समूह फुटेपछि माओवादी केन्द्रसँग एकता गर्ने गृहकार्य पनि भइरहेको छ भन्ने चर्चा छ नि ?
हामीले त्यस्तो केही पनि गृहकार्य गरेका छैनौँ । हामी यो देशको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत अवस्थाबाट उठाएर ल्याउने मान्छे हौँ । त्यसमा म, माधव नेपाल, अमृत बोहोरा, मुकुन्द न्यौपानेलगायतले यो पार्टीलाई क्षतविक्षत भएका बेलामा नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्छ भनेर २०३२ सालबाट अभियान चलाएका हौँ । आठ जना थियौँ, तीमध्ये तीन जना निष्क्रिय हुनुभयो । एकजना मारिनुभयो । हामी आठजनाले यत्रो कम्युनिस्ट आन्दोलनको उभार सिर्जना गर्न सक्यौँ ।
कहिलेकाहीँ पार्टीमा नेतृत्व एउटाले कब्जा गर्नसक्छ । तर, पार्टीका सबै विचार, नीति, सिद्धान्त र आदर्श कब्जा गर्न सक्दैन । क्रान्तिकारीहरूले अगाडि बढाउँछन्, हामी बढाउँछाँै । कम्युनिस्ट आन्दोलनमा अहिले पनि आठ/दसवटा समूह छन्, तिनलाई पनि हामी सम्भव भएसम्म एकताबद्ध बनाएर लैजान्छौँ । तपाईंले सोधेको दोस्रो प्रश्न माओवादीसँग एकता गर्ने भन्ने कुरा गलत हो । हाम्रो गृहकार्य भनेको नेकपा एमालेलाई पुनर्गठित गर्ने, क्रान्तिकारी धारमा उभ्याउने हो ।
एमाले पुनर्गठित गर्छौं भन्नुहुन्छ । एमालेको कार्यालय पनि जानुहुन्न, पार्टी बैठकमा जानुहुन्न । अनि बाहिर बाहिरैबाट सोचेजस्तो पुनर्गठन सम्भव होला ?
नेकपाको एमालेको अहिले कार्यालय छैन । नेकपा एकीकृत भएको अवस्थामा धुम्बाराहीमा कार्यालय थियो । त्योभन्दा अघि बल्खुमा कार्यालय थियो । बल्खुको कार्यालय भूकम्पले ध्वस्त भएपछि धुम्बराहीमा सारेको हो । त्यो पनि के–के लफडा छन्, हाम्रो हातबाट गैसक्यो । अहिले पार्टीमा रहेको अर्को गुटले कुन मारवाडीको जग्गा लिएको छ भन्ने म सुन्दैछु । त्यो कार्यालय छैन । हामीले आवाश्यकता अनुसार कार्यालय बनाउनुपर्ने हुन्छ । यो परिस्थितिको उपज हुन्छ । यो क्रमशः आफ्नो प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा भइसकेपछि ती सब कुरा देखिन्छन् ।
आज हामी हामी लोकतन्त्र दिवस मनाउँदैछौँ । आज त्यो आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिलाई कसरी स्मरण गर्नुहुन्छ ?
वैशाख ११ गते ऐतिहासिक र आमूल परिवर्तनको दिन हो । नेपाली समाज जनवादी क्रान्तिको ५८ वर्षको कार्यकाललाई पार गरेर समाजवादी नयाँ युगमा प्रवेश गरेको दिन हो वैशाख ११ । त्यसैले यो ऐतिहासिक दिन हो । कसैले मेटेर मेटिँदैन । कोही प्रतिगमनमा जाओस् वा निरङ्कुशता र तानाशाहीतर्फ फर्कियोस् तर जुन वस्तुगत परिवर्तन भएको छ नेपालमा त्यसलाई कसैले मेटेर मेट्न सक्दैन ।
त्यो क्रान्तिले ल्याएको सवभन्दा ठूलो उपलब्धि यो देशबाट सामन्तवादलाई समाप्त गर्नु हो । नेपालको आफ्नै विशिष्ट क्रान्तिमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र सामन्तवादलाई हामीले समाप्त गर्यौँ । सामन्तवादको आर्थिक आधार पनि समाप्त भयो । अधिसंरचना पनि समाप्त भयो । ठेक्का, कुत, अधियाँ, जस्ता सामन्त वर्गका मुख्य रूपहरू अन्त्य भए । अब व्याज बैङ्कले दिन्छ । बैङ्किङ सिस्टम अहिले देशव्यापी हाबी हँुदै गएको छ । २०६३ सालको परिवर्तनले उपरी ढाँचामा रहेको सामन्तवादलाई पनि खत्तम गर्यो । २ हजार वर्षदेखि नेपालमा राजतन्त्रको शासन थियो । सामन्तवादको जग समाप्त भएपछि त्यो पनि समाप्त हुनु अनिवार्य थियो, भयो । नेपाली जनतालाई त्यो जनवादी अधिकारहरू उपलब्ध गरायो ।
अहिले हामीले जनवादी क्रान्तिको कालखण्डमा नयाँ जनवाद ल्याउँछौँ । हामीले राष्ट्रिय जनवाद ल्याउँछौँ । जनताको बहुदलीय जनवाद ल्याउँछौँ । लोक जनवाद या जनताको जनवाद ल्याउँछौ भनेका थियौँ, त्यो यही हो ल्यायौँ । यसरी बनाएको संविधानले यो कुरा स्थापित गरेको छ ।
जनताको जनवाद स्थपित हुनु भनेको जनतालाई लोकतान्त्रिक हक र अधिकारले सुसम्पन्न गर्ने कुरा मात्रै हो । हिजो नभएको अधिकार अहिले गाउँगाउँ, कुनाकाप्चाका मानिसले यो प्राप्त गरेका छन् । वैशाख ११ को परिवर्तनपछि बनेको संविधानले नेपाली जनतालाई गणतन्त्र र समावेशी लोकतन्त्र दियो । सबै वर्ग, जाति र समुदायका अधिकार दियो । जुन संविधानअन्तर्गत अरू थुप्रै ऐन पनि बनेका छन्, त्यसमार्फत जनताका मौलिक हकअधिकारहरूलाई पनि संस्थागत गरिएको छ ।
यो देशको सामाजिक, आर्थिक ढाँचा वर्गीयरूपले बदलियो । तर, वर्गीयरूपले बदलिएको समाजलाई रूपान्तरण गर्ने भनेको समाजवादी रूपान्तरणले हो । त्यो रूपान्तरणको कामचाहिँ केही पनि हुन सकेको छैन ।
समयको मागलाई सम्बोधन गर्ने नेतृत्व स्थापित हुन नसक्दा रूपान्तरणको काम हुन नसकेको हो कि ?
हो । त्यो समयको मागलाई आपूर्ति गर्ने, पार्टीका सोच, विचार, दर्शन र नीतिहरूलाई कार्यादिशालाई लागू गर्ने नेतृत्व निर्माण गर्न सकेनौँ । जसले गर्दा पछिल्लो (नवाँै महाधिवेशनपछि) समय हाम्रो पार्टीमा दक्षिणपन्थी भड्काउ हावी हुन पुग्यो । त्यो दक्षिणपन्थी भड्कावको मुख्य नेतृत्व केपी शर्मा ओलीले गरिरहनुभएको छ ।
उहाँले नेकपा एमालेलाई निरन्तर पुँजीवादी दिशातर्फ लानुभएको छ । पार्टी सदस्य कसरी भन्ने मापदण्ड नै नपुगेका मान्छेलाई धमाधम भर्ती गर्नुभएको छ । अस्ति त २४० जना व्यापारी, व्यवसायीलाई पार्टी सदस्यता दिनुभयो रे । उहाँका आर्थिक सल्लाहकार को भन्दा मोती दुगड । अस्ति माधव नेपाल र उहाँको बीचमा वार्ता गराएको पनि उनैले रे !
यसरी उहाँले पार्टीलाई पुँजीवादीकरण गर्दै लानुभएको छ । नेपाली जनताले जुन आशा र अपेक्षाका साथ २०६२–६३ मा समाज समाजवादउन्मुख भएर जान्छ भनेर आन्दोलनमा त्याग गरेका थिए, त्यता उन्मुख गराउन सकिएको छैन ।
यस्तो स्थितिमा यहाँले भनेजस्तो समयानुकूल नेतृत्व आउँछ भनेर कसरी आशावादी हुने ?
अब २०६२–०६३ को जनक्रान्तिको अगाडि कोही जानै सक्दैन । त्यो सकियो । इतिहासले त्यसलाई बन्द गरिसक्यो । इतिहास आमरूपमै वान स्टेप फरवार्ड भइसक्यो । अब समाजवादउन्मुख भएर समाजलाई कसरी गर्ने भनेर नयाँ नेतृत्व निर्माण गर्नुपर्छ । वैशाख ११ हाम्रो एउटा दिवसको दिन पनि हो । यस दिनमा यो देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले, लोकतन्त्रका पक्षधरहरूले, समाजवादका पक्षधरहरूले आमूल परिवर्तन गर्नसक्ने नेतृत्वको खोजीमा, निर्माणमा र आविष्कारमा लाग्नुपर्छ ।
त्यस्तो नयाँ नेतृत्वले नलिई सुखी नेपाली समृद्ध नेपाल सम्भव छैन । यो नारा मैले नवौँ महाधिवेशनमा अगाडि सारेको हो । कम्युनिस्ट आन्दोलन करिब ७० वर्ष पुग्दैछ । आउने ३० वर्षमा के काम गर्छन् त कम्युनिस्टहरूले ? त्यो कामका लागि हामीले सुखी नेपाली समृद्ध नेपाल बनाउने गरी जानुपर्छ । समाजवादबिना त्यो बन्न सक्दैन । समाजवाद ल्यायौँ भने मात्रै सुखी नेपाली समृद्ध नेपाल हुन्छ । समाजवादले मात्रै नेपाली समाजलाई बचाउन सक्छ । समाजवादले मात्रै हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई, राष्ट्रिय अखण्डतालाई जोगाउन सक्छ । समाजलाई अग्रगतितर्फ समृद्ध, एकताबद्ध समाजका रूपमा रूपान्तरित गर्न सक्छ । त्यो भरपूर सम्भावना छन् । यसमा हामी आशावादी हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी