शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादलले जित्लान् त उपचुनाव ?

के भन्छन् काँग्रेस र माओवादी ?
शनिबार, ११ वैशाख २०७८, १७ : ५३
शनिबार, ११ वैशाख २०७८

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभा सदस्य पद खोसिएका गृहमन्त्री रामबहादुर थापा बादललाई केपी ओली नेतृत्वको एमालेले पुनः उम्मेदवार बनाएको छ । बादलका कारण खाली रहेको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

वागमती प्रदेशमा ‘अन्य समूह’ बाट पुनः चुनाव लड्न लागेका गृहमन्त्री बादलले यसअघि माओवादी र एमालेको संयुक्त मतबाट  जितेका थिए । यसपालि उनी एक्लो एमालेका तर्फबाट मैदानमा खडा भएका छन् ।

जेठ ६ मा हुने उपचुनावमा बादलले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । किनभने, माओवादी, काँग्रेस लगायतका दलहरुले उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।

निर्वाचन आयोगले निकालेको सूचनाअनुसार बैशाख १० देखि १४ भित्र उम्मेदवारी दिइसक्नुपर्नेछ । ओली नेतृत्वको एमालेले भने माओवादीको कारवाहीमा परेका बादललाई नै उम्मेदवार बनाएको छ ।

मतदाताको अंकगणित

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखरहरुले मतदान गर्नेछन् ।

वागमती प्रदेशसभामा ११० जना सदस्य छन् । यस प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखको मत संख्या २३८ छ । प्रदेशसभा र स्थानीय तह दुबैमा नेकपा एमालेको एकल बहुमत छ । एमालेका सबै जनप्रतिनिधिले मत दिएको अवस्थामा बादल फेरि राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने निश्चित छ । ६ वर्षे कार्यकाल रहेका बादलको अब तीन वर्ष बाँकी छ ।

एमाले पार्टीभित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्ने सम्भावना पनि उत्तिकै छ । कर्णाली प्रदेशमा एमाले सांसदहरुले फ्लोर क्रस गरेपछि यस्तो आशंका जन्मिएको हो ।

प्रदेशसभाका कुल सदस्यमध्ये एमालेका सबैले बादललाई भोट दिएको अवस्थामा उनले ५७ मत पाउन सक्छन् । एमाले बाहेकका सबै दलको मत जोड्दा ५३ मात्रै पुग्छ । तर, विपक्षीले साझा उम्मेदवार उठाए र माधव नेपाल पक्षका ४/५ जना प्रदेश सांसदले तलमाथि गरे भने बादल अल्पमतमा पर्न सक्छन् ।

प्रदेशसभा सदस्यमा काँग्रेसको २२, माओवादीको २३, विवेकशील साझाको ३, नेमकिपा र राप्रपाको २/२ मत छ भने राजपाको एक मत छ ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्यहरुको मतभार ४८ तोकिएको छ । अर्थात् एकजना मत बराबर ४८ मत गनिन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको मतभार भने प्रदेशसभा सदस्यको भन्दा निकै कम छ । स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको मतभार १८ छ । अर्थात् प्रदेशसभा सदस्यको एक सदस्यले खसाएको मतलाई जित्न स्थानीय तहका तीनजनाको मत जोड्नुपर्ने हुन्छ । त्यसैले, प्रदेशसभा सदस्यको मत निकै महत्वपूर्ण मानिन्छ ।

वागमती प्रदेशमा स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखमध्ये पनि एमालेकै एकल बहुमत छ । २३८ मध्ये एमालेका १३३ छन् । काँग्रेस, माओवादी, लगायतका सबै विपक्षीको जोड्दा १०६ जना मात्र पुग्छन् ।

यो अवस्थामा एमालेको १३३ मत नै बादललाई पर्यो भने उनले जित्ने निश्चित छ । तर, विपक्षीले साझा उम्मेदवार दिएर एकै ठाउँमा मत खन्याएको अवस्थामा र एमालेभित्रै क्रस भोटिङ भएको अवस्थामा भने बादलमाथि चुनौती आइलाग्न सक्छ ।

तर, अहिलेसम्मको अंक गणितलाई हेर्दा सबै विपक्षीहरु मिले पनि बादलले पुनः चुनाव जित्ने सम्भावना नै प्रवल देखिएको छ । तर, माधव पक्षले धोका नदिएको अवस्थामा ।

एमालेबाट बादलको उम्मेदवारी परिसक्दा पनि काँग्रेस र माओवादीले राष्ट्रियसभाको उपचुनावबारे कुनै चासो देखाएका छैनन् । उनीहरुले एकल उम्मेदवारी दिएर जित्ने गणित छैन । तर, साझा उम्मेदवारका विषयमा पनि गृहकार्य गरेको देखिन्न । नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षले साथ नदिएसम्म माओवादी केन्द्रले बादलको जितलाई रोक्न सक्ने अवस्था पनि देखिँदैन ।

अघिल्लो राष्ट्रिय सभाको चुनावमा विवेकशील साझा लगायतका साना दलले नेपाली काँग्रेसलाई साथ दिएका थिए ।

के भन्छन् काँग्रेस र माओवादी ?

बादलको ठाउँमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा पार्टीले अहिलेसम्म उम्मेदवार तय गर्न बाँकी रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई बताए ।

त्यसैगरी नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भने, ‘एमालेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिइन्छ, तर उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।’

काँग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्ने अधिकारीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप