शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु भएकाको शव परिवारको जिम्मा लगाउँदा...

शनिबार, ११ वैशाख २०७८, १७ : १७
शनिबार, ११ वैशाख २०७८

अस्पतालको लापरबाहीका कारण कोरोना संक्रमितको शव परिवारकै जिम्मा लगाउँदा ५० भन्दा बढी मलामी दाहसंस्कारमा संलग्न भएको खुलेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार राती मृत्यु भएका ४५ वर्षीय संक्रमितको शव विहिबार विहान अस्पतालले परिवारकै जिम्मा लगाएको थियो । 

त्यसपछि परिवारले शवलाई चतरास्थित कोशी किनारमा लगेर अन्त्येष्टि गरेको थियो ।

शव अन्त्येष्टिमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको परिवारलाई प्रतिष्ठानको डाक्टरले नै फोन गरेर शव लैजान सक्नु हुन्छ भनेर जिम्मा लगाएको बताए । आफूले पछि बुझ्दा ५० जना भन्दा बढी मलामी गएको जानकारी पनि अध्यक्ष लामाले दिए । 

अध्यक्ष लामाले अस्पताल र प्रहरीले जनस्वास्थ्यमा खेलबाड हुने गरि शव जिम्मा लगाएको भन्दै आक्रोश पनि पोखेका छन् । मलामी गएकाहरुलाई पहिचान गरेर क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न स्वास्थ्य महाशाखा प्रमुखलाई आग्रह गरेको पनि उनले बताए ।

 ‘मलामी गएकाहरु सबैलाई क्वारेन्टिनमा राख्नुस् भनेको छुँ, शवलाई वीपीबाट डाक्टरले नै लैजान सक्नुहुन्छ भनेर पठाएको रहेछ,’उनले भने । 

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली बिहिबार मृतकको परिवारलाई भेट्न घर पुगेका थिए । ‘मलामी ५०, ५५ जना जति गयौं, तर मोटरसाइकलमा दुरी कायम गरेको भने,’मेहताले भने,‘कोशी नदी छेउमा खाल्डो खनेर, शव नछोइ डोरी प्रयोग गरेर गाड्यौ भने ।’ 

मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए । मलामी गएकाहरु सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए । ‘२५ जना मात्र मलामी जाने भन्ने थाहै थिएन भने । सबैलाई क्वारेन्टाइनमा बसाएर सोमबार स्वाब लिन्छौं,’मेहताले भने । 

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा प्रमोद बरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट नै खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए । यद्यपी, प्रोटोकल पालना गराउन सबै सचेत हुनुपर्ने उनले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य प्रोटोकल सबै पुरा गर्न चाहँदा मात्र शव जिम्मा दिइने बताए । प्रोटोकल पुरा गर्न नसक्दा नेपाली सेनाले नै अन्त्येष्टि गर्ने प्रजिअ ढकालले बताए ।
 ‘परिवारले प्रोटोकल पुरा गर्छ भने मात्र शव जिम्मा दिने हो, नत्र सेनालाई नै दिन्छौं,’प्रजिअ ढकालले भने,‘प्रोटोकल पुरा भए नभएको पालिकाका स्वास्थ्य संयोजक, प्रहरीले हेर्नुपर्छ ।’ 

शव अन्त्येष्टि गर्न पिपिई लगाउनुपर्ने, शव खोलेर हेर्न नपाउने, २५ जना भन्दा बढी मलामी जान नहुने लगायत सबै पालना गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप