शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकालाई चीनको जवाफ – लोकतन्त्र कोकोकोला होइन, जसको स्वाद एकै होस्

शनिबार, ११ वैशाख २०७८, १५ : ०२
शनिबार, ११ वैशाख २०७८

चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चिनियाँ जनता र चीनको शान्तिपूर्ण विकासको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार अमेरिकी काउन्सिलका अध्यक्ष रिचर्ड हाससँग भएको भिडियो वार्ताका दौरान उनले सौहाद्रपूर्ण रुपमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखे ।

यस बैठकमा अमेरिकाबाट झन्डैं पाँच सय प्रतिनिधि सहभागी थिए । अमेरिकाले चीनको शान्तिपूर्ण विकासलाई स्विकार्ने र चिनियाँ नागरिकहरुको राम्रो जीवन बाँच्न पाउने अधिकारको सम्मान गर्ने विषयमै आपसी सम्बन्ध निर्भर गर्ने विदेशमन्त्री वांगले बताए । 

चिनियाँ सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार यसक्रममा उनले लोकतन्त्र कोकोकोलाजस्तो नभएकाले विश्वका सबै कुरामा समान स्वादको वाचा गर्न नसकिने बताएका थिए । चीनले आफैं आफ्नो बाटो रोजेकाले अमेरिकाले त्यसको सम्मान गर्नुपर्ने वांगले बताएका थिए । 

चीनलाई लिएर अमेरिकाको विदेश नीतिमा धेरै गलत धारणाहरु रहेको  र अहिलेसम्म चीनसँगको सम्बन्ध सामान्य गर्ने विषयमा अमेरिकाले सही बाटो खोज्न नसकेको उनको दाबी थियो । उनले दुुई देशबीच सौहाद्रपूर्ण सम्बन्ध कायम गर्नका लागि पाँचवटा सुझाव दिएका छन् ।

यी पाँच सुझाव यस्ता छन् –

एक – अमेरिकाले चीनको विकासलाई निष्पक्ष र तर्कसंगत रुपले बुझ्ने कोसिस गरोस् । 

दुुई – दुबै देशको सहअस्तित्व र आपसी हितका लागि अमेरिकाले चीनसँग नयाँ तरिकाले काम गर्नुपर्छ । 

तीन – चीनले आफ्ना लागि जो बाटो चुनेको छ, अमेरिकाले त्यसको सम्मान गर्नुप्रति र चीनप्रति सहनशिलता देखाउनुपर्छ । 

चार– अमेरिकाले वस्तुगत रुपमै बहुध्रुवीय विश्वलाई स्विकार्नुपर्छ ।

 पाँच – चीनको आन्तरिक मामिलामा उसले हस्तक्षेप गर्न हुँदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप