बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दुई कुशल चम्किँदा नेपालको अहिलेसम्मकै ठूलो स्कोर

शनिबार, ११ वैशाख २०७८, १४ : ५५
शनिबार, ११ वैशाख २०७८

काठमाडौँ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेपालले नेदरल्याण्डसामु २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो । 

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । ​नेदरल्याण्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।

कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

नेदरल्याण्डका लागि फिलिपे बोसेभाइनले २ विकेट लिए । नेदरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपाल सिरिज हातपार्ने दाउमा छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । 

नेपालको बलिङ लाइन पनि बलियो नै छ । खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनले चार खेलमा ११ विकेट लिएका छन् । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् । यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप