आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सौराहाको व्यथा : गरीबलाई हात्ती पाल्न गाह्रो !

हात्ती चढ्ने पर्यटक नआउँदा आम्दानीभन्दा खर्च धेरै
शनिबार, ११ वैशाख २०७८, ०८ : ४४
शनिबार, ११ वैशाख २०७८


 नेपालीमा एउटा आहान छ, गरिबलाई हात्ती पाल्न गाह्रो हुन्छ । निःशुल्क हात्ती दान दिए पनि गरीबले पाल्न सक्दैन । अहिले चितवनको सौराहामा हात्ती सफारी गराउने व्यवसायीहरुको हालत यस्तै भएको छ ।  हात्ती पाल्नेहरूले कोभिडका कारण आम्दानीभन्दा खर्च धेरै व्यहोर्नु परिरहेको छ ।  

सौराहा वाइल्ड लाइफ टुरिजममा निकै प्रसिद्ध छ । मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्रको यो संरक्षित क्षेत्रमा हात्ती सयरलाई निकै रोचक र मनोरञ्जनात्मक जंगल सफारीको रुपमा लिने गरिन्छ । हात्ती चढेर निकुञ्जभित्रका संरक्षित जंगली जनावरहरुको अवलोकन, अनुसन्धान गर्नुको मज्जा नै बेग्लै छ ।

आहार–विहार गर्दै गरेका, घाम ताप्दै गरेका र बच्चासँग रम्दै गरेका जंगली प्राणीहरुको लाइफ स्टाइल (जीवन पद्दति) लाई प्रत्यक्ष नजिकबाट साक्षात्कार गर्न पाउँदा नेपालीहरु मात्र होइन, विदेशीहरु समेत खुशी हुने गर्छन् । त्यसैले त नेपाल आएका विदेशी पर्यटकहरु एक पटक चितवनको सौराहा अवश्य पुग्ने गर्छन् ।

तर, अहिले अवस्था फेरिएको छ । सौराहामा विदेशी पर्यटकहरु उत्ति देखिँदैनन् । कोभिड–१९ पछि त विदेशी पर्यटकहरुको सौराहा आगमन प्रायः शुन्य जस्तै छ । अहिले जेनतेन १०–१५ प्रतिशत आन्तरिक  पर्यटकहरुले मात्र सौराहाको पूर्ण व्यवसाय धानिरहेको अवस्था छ । सौराहाको पर्यटन व्यवसायमा यसरी विचलन आएको भूकम्पपछि सम्भवतः यो नै पहिलो पटक हो ।

पर्यटक अभावको यस्तो दुर्गति भूकम्पपछि पहिलो पटक नै आफूले महसुस गरेको सौराहाका एक हात्ती सयरकर्ता (माउते) रमेश चौधरी बताउँछन् ।

‘सौराहामा पर्यटकको खडेरी लागेको यो दोस्रो पटक हो । मैले थाहा पाएसम्म पहिलोपटक २०७२ सालको महाभूकम्प गएका बेलामा यसैगरी सौराहामा पर्यटकको खडेरी लागेको थियो र अहिले त्यस्तै अवस्था देखिएको छ ।

चौधरीका अनुसार बरु, भूकम्पताका यति लामो समय प्रभाव परेको थिएन । तर, अहिले त कोभिड–१९ का  कारण पूरै वर्ष प्रभावित हुन पुगेको छ । जसले गर्दा अहिले हात्ती सयरका लागि पर्यटक पाउनै मुस्किल छ ।

त्यसो त हाल सौराहा बागमारा मध्यवर्ती सामुदायिक वनमा अधिकतम ४० वटा हात्तीहरु जंगल सफारीका लागि राखिएका छन् । माउते चौधरीका अनुसार कोभिडपछि यी हात्तीले पर्याप्त काम पाइरहेका छैनन् । एउटा हात्तीले बिहानदेखि बेलुकासम्म दैनिक ३ पटक मात्र मुस्किलले पर्यटक बोक्न पाउने गरेका छन् । शनिबार बाहेक त प्रायः व्यवसाय शुन्य जस्तै नै हुने माउते चौधरीले बताए ।

आम्दानीभन्दा खर्च बढी

अहिले कोभिड–१९ पछि हात्तीको कमाइभन्दा खर्च बढी आउने गरेको छ । सिजनका बेलामा समेत पर्यटकहरु बोक्न नपाएपछि यतिखेर सौराहाको हात्ती सयरको व्यवसाय चौपट भएको छ ।

लगानीकै हिसाबले पनि करोड करोडको खर्च गरिएका हात्तीको कमाइ अहिले २÷४ हजारमा सीमित भएको छ । अर्थात् अहिले सौराहका हात्तीहरुले बिजनेस नपाउँदा दैनिक मुस्किलले एक दुईवटा ट्रिप मात्रै पाइरहेका छन्, जसले खर्च धान्नै मुस्किल छ ।

माउते रमेश चौधरीका अनुसार अहिले सौराहाका ४० हात्तीहरुले मुस्किलले दिनमा तीन ट्रिप सम्म पाउने गरेका छन् । त्यो पनि शनिबार बाहेक नलाग्न सक्छ । यस्तो अवस्थामा हात्तीको खर्च धान्ने मुस्किल पर्ने गरेको उनको भनाइ छ ।   

हाल बागमारामा ४० वटा हात्ती छन् र ४० जना नै माउते पनि । हात्तीको खुराक खर्च, स्वास्थ्य उपचार खर्च, र यता माउतेहरुको तलब भत्ता आवास लगायतको खर्च, झण्डै मासिक ४ लाखको हारहारीमा खर्च आउने गर्छ । ‘तर, कमाइ छैन’ चौधरीले भने, ‘अहिले केबल व्यवसायिक निरन्तताका लागि मात्र हात्ती सयर भइरहेको छ ।’

चौधरीका अनुसार एउटा हात्तीको दैनिक खुराक (खान्की) सदर दैनिक २० किलोग्राम धान, दुई किलो सख्खर, ७० किलो पराल, १ किलो चना, उखु, घाँसलगायत रहने गर्छ भने, स्वास्थ्य उपचारमा मासिक एक लाख हारहारीमा खर्च आउने गर्छ । यसको अतिरिक्त हात्तीको हेरचाह, स्याहार–सुसार र सयर खर्च वापत माउतेले पाउने तलब सुविधा, आवास खर्चमा बापत मासिक लाखकै हारहारीमा हुन्छ । यसरी गरिने सबै खर्च जोड्दा एउटा हात्तीको महिनाभरिको खर्च झण्डै ४ लाख पुग्छ । तर, आम्दानी भने, मासिक २ लाख हाराहारी मात्र छ ।

जबकि सहज दिनमा कोभिडअघि एउटै हात्तीले दैनिक अधिकतम ३० हजारसम्म कमाउने गर्थे, जसबाट मासिक कमाई ९ लाख माथि हुने गरेको व्यवसायीहरु बताउँछन्  ।

मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जले जंगल सफारीका रुपमा प्रयोग हुने हात्तीको सयर शुल्क अधिकतम एक हजार एक सय रुपैयाँ तोकिदिएको छ । नेपालीहरूका लागि एक हजार एक सय तोकि दिएकोमा विदेशी नागरिकहरुलाई भने अधिकतम २ हजार एक सय रुपैयाँ तोकिएको छ ।

तर, कोभिड–१९ का कारण विदेशी पर्यटकहरु प्रायः शुन्य हुँदा अहिले नेपालीहरुले मात्र हात्ती सयर गरिरहेका छन् । त्यो पनि अति न्यून संख्यामा ।

कोभिड–१९ को प्रभाव पर्यटक नलागेको अवस्थामा निकुञ्जले भने अहिले सबै हात्तीहरुले बिजनेस पाउने गरी पालोमा लगाइदिएको छ । अर्थात् जति पर्यटक लाग्छन्, त्यसमा समानरुपले पाउने गरी निकुञ्जले पालो लगाइदिएको चौधरीले बताए ।

एउटा हात्तीकै मूल्य २ करोड !

एउटा हात्तीको खरिद मूल्य करोडभन्दा माथि पर्छ । सौराहाका माउते सरोज भण्डारीले भने, ‘जवान हात्तीको मूल्य झण्डै २ करोड नै पर्छ । अलि बुढा र साना हात्तीको भने १ देखि डेढ करोडसम्म पर्छ । तर, एउटा हात्तीले आफ्नो बुढेसकालसम्म पनि काम दिइरहने हुँदा मूल्यमा खासै फरक नपर्ने उनी बताउँछन् ।

‘एउटा हात्तीले आफ्नो उमेरको उत्तरार्द्धसम्म पनि सरदर ८० देखि ९० वर्षसम्म काम गरिरहने हुँदा राम्रै मूल्यमा खरिद बिक्री हुने गर्छन्’ भण्डारीले भने, ‘अहिले निकुञ्जमा जंगल सफारी गर्ने अधिकांश हात्ती ५० वर्ष नाघेका छन् । यो नै हात्तीको वयस्क उमेर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप