दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा कामदार पठाउन सकिएन : श्रम मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा वैदेशिक रोजगारमा रहेका समस्या सम्बन्धमा भएको छलफलमा सचिव गौतमले माग प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित मुलुकमा रहेका दूतावासहरुलाई भएको र उनीहरुले समयमै माग प्रमाणीकरण नगरिदिँदा समस्या भएको बताए ।
युरोपका पोल्याण्ड र जर्मनीमा मात्रै १० लाख भन्दा बढी जनशक्तिको माग आउने सम्भावना रहेको तर दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा कामदार पठाउन नसकिएको बताए । वैदेशिक रोजगार ऐनले ५ हजार भन्दा बढी कामदार भएको ठाउँमा श्रम सहचारीका व्यवस्था गरी माग प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको तर दूतावासहरुले गर्नुपर्ने ठाउँमा प्रमाणीकरण नगरिदिएको बताए ।
त्यसैले समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गरी आवश्यक निर्देशन दिन सचिव गौतमले माग पनि गरे । उनले भने, ‘युरोपमा पनि धेरै राम्रा राम्रा प्रस्तावहरू, जनशक्ति मागका सम्बन्धमा आएको छ तर प्रमाणीकरण गर्न नसकेको कारणले म्यानपावर पठाउन सकेको अवस्था छैन् । हाम्रो राम्रो गन्तव्य हुने अवस्थामा पनि पठाउन सक्ने स्थिति छैन् । मुहानमै समाइएको छ । त्यसो हुनाले परराष्ट्र मन्त्रालयलाई एकचोटी प्रमाणीकरण कतिदिन भित्र गर्नुहुन्छ, यति दिन भित्र गरिसकौं, फाइल पेश भएको यति दिन भित्र माग प्रमाणीकरण भइसक्नुपर्छ भन्ने हिसाबले निर्देशन दिनुपर्छकी भन्ने लाग्छ मलाई ।’
पछिल्लो समय विभिन्न मुलुकबाट प्रस्ताव आएको ६ महिना भइसक्दा पनि दूतावासहरुले प्रमाणीकरण नगरिदिएको बताए । खाडी मुलुकको केसमा पनि त्यस्तै अवस्था रहेको बताए । अहिले खाडी मुलुकका लागि २ हजार ३ सय फाइल प्रमाणीकरण नभएर रोकिएको बताए । अहिले सबै फाइललाई छिटो प्रमाणीकरण गर्न श्रम सहचारीलाई निर्देशन दिइसकेको पनि उनले बताए ।
माग प्रमाणीकरणका लागि श्रम मन्त्रालयले छुट्टै युनिट बनाएर काम गर्न प्रस्ताव गर्दा दूतावासहरुले नदिएको गुनासो समेत सचिव गौतमले गरे । श्रम सम्बन्धी विषय श्रम मन्त्रालयको हो भनिने तर माग प्रमाणीकरण गर्ने अधिकार दूतावासहरुमा रहदा समस्या आएको पनि प्रष्ट पारे । यस्तै पछिल्लो समय कतार पुलिसमा कामदारका लागि प्रस्ताव आएको तर केही कानूनी जटिलताका कारण निर्णय नलिइएको बताए ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जटिल प्रकृतिको विषय भएकोले सरोकारवालाहरुसँग छलफल गरेर मात्रै निर्णय लिन सुझाव आएको पनि बताए । गृह मन्त्रालयबाट सकारात्मक कुरा आएको र रक्षा मन्त्रालयसँग सुझाव माग गरिएको बताए । कतार पुलिसमा कामदार पठाउँदा त्यहाँको मेलिटरी सर्भिस कानुनसँग जोडिएर पेनाल्टीको कुरा आउने र राष्ट्रिय सुरक्षामा तलमाथि भएको खण्डमा मृत्युदण्ड सम्मको कुरा आउने भएकाले राम्रोसँग विश्लेषण नगरिकन निर्णय गर्न नसकिने बताए ।
यस्तै घरेलु कामदार सम्बन्धी विषयमा यसअघि समितिले दिएको ६ बुँदे निर्देशन पूर्ण रुपमा पालना गर्ने हो भने कुनैपनि मुलुकमा कामदार पठाउन नसकिने पनि सचिव गौतमले बताए । यस्तै कतिपय मुलुकले कोभिड–१९ संक्रमणको उच्च जोखिममा नेपाललाई राखेकाले कामदार लैजान रोकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान