सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

प्रचण्ड–बाबुरामले जनमुक्ति सेनाको अपमान गरेको आरोप
शुक्रबार, १० वैशाख २०७८, १६ : ०३
शुक्रबार, १० वैशाख २०७८

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन् । एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ ।

संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दा समेत बेवास्ता गरेको सम्झिँदै भने, “जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डकै हातबाट सम्मानपत्र लिने चाहना थियो, तर त्यो पूरा भएन । उहाँ दुई पटक र जनयुद्धका अर्का नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत हाम्रा मागको कुनै सुनुवाई गर्नुभएन । हामीलाई अपमानित गरेर शिविरबाट धपाइएको पीडा सम्झिँदै आन्दोलनमा थियौँ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीलाई सम्मान गरेको छ । यसको लागि धन्यवाद । यसमा जनयुद्धका अर्का नेता तथा गृहमन्त्री बादलको पनि महत्वपूर्ण भूमिका छ । उहाँलाई पनि विशेष धन्यवाद ।” उनले प्रचण्ड–बाबुरामले जनमुक्ति सेना बिसर्जन गर्ने र आफूहरुलगायत सहिद, बेपत्ता परिवार र घाइतेहरूलाई अपमान गरेको दाबी गरे ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष रमेश बसेल ‘करन’ले आफूहरुलाई सम्मान गर्नु शान्ति सम्झौतासँग जोडिएको विषय भएको बताए । बृहत शान्ति सम्झौतामा ‘बाल सेना’को विषय जोडिएको बताउँदै यसअघिका सरकार त्यसमा जिम्मेवार नहुँदा आफूहरु आफूहरु आन्दोलनमा हुमिन बाध्य भएको बताए ।

“हामी कुनै पार्टीका प्रवेश गरेर सम्मान गरेको होइन शान्ति सम्झौता र संविधानप्रति वर्तमान सरकार जिम्मेवार भएर ‘लोकतन्त्रका योद्धा’ सम्मानपत्र दिएको हो । यसको लागि सरकारलाई धन्यवाद” अध्यक्ष करनले बताए ।

संगठनले गरेको निर्णय वाचन गर्दै उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले अयोग्य बिल्ला खारेर गर्नु आफूहरुको आन्दोलनको पहिलो एजेण्डा भएको बताउँदै त्यो पूरा भएको बताए । उनले यसअघिका सरकारसँग भएका सहमति कार्यान्वयन नहुँदा आफूहरु आन्दोलनमै मैदान रहेको तर वर्तमान सरकारले मागको सुनुवाई गर्न सुरु गरेको बताउँदै खुशी व्यक्त गरे ।

उपाध्यक्ष यज्ञबहादुर कार्की ‘प्रदिप’ले जनयुद्धका कमाण्डर उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्री भए तर आफूहरुका मागबारे कुनै चासो नदिएको बताए । उनले आफूहरुको १२ बर्षसम्म संघर्षले अयोग्यको बिल्ला खारेज गर्न सफल भएको बताए ।

बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सहमतिको पालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप