शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चटारो : एकैदिन स्थायी कमिटी पुनर्गठनदेखि कारवाही र उम्मेदवार तयसम्म

शुक्रबार, १० वैशाख २०७८, १५ : ४४
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल पक्षलाई बाइपास गर्दै शुक्रबार एकलौटीरुपमा स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बालुवाटारमा ओलीको अध्यक्षमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेको हो ।

१८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका नेताहरुलाई समेटिएको छैन । यद्यपि, वामदेव गौतमलाई भने स्थायी कमिटी सदस्यमा मनोनित गरिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल छन् ।

​१८ सदस्यीय स्थायी कमिटीका लैंगिक हिसाबले महिलालाई उपेक्षा गरिएको छ । स्थायी कमिटीमा एकजना पनि महिला समावेश छैनन् ।

२०७५ जेठ २ सम्म कायम एमाले स्थायी कमिटीमा भने खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने पनि सदस्य थिए । शुक्रबार पुनर्गठित कमिटीमा भने उनीहरूलाई स्थान दिइएको छैन ।

कर्णाली प्रदेशसभाका चार सांसद बर्खास्त

नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाट हटाएको छ ।

​एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई कारवाही गरेको हो । यी चारै जनाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मत दिए पनि अन्तिम समयमा आफ्नो मत सच्याएर अविश्वासको प्रस्तावकै पक्षमा मत दिएकी सांसद देवी ओलीलाई भने दोस्रो स्पष्टिकरण सोध्ने निर्णय भएको बताइएको छ ।

२७ संघीय सांसदको बारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

बैठकले स्पष्टीकरण सोधिएका २७ संघीय सांसदको हकमा भने स्थायी कमिटीलाई निर्णय गर्ने जिम्मा दिएको छ ।

स्पष्टीकरण सोधिएका २७ मध्ये पाँच जनाले भने जवाफ नै दिएका छैनन् । स्पष्टीकरणको जवाफ नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरु जैरी र दीपक भट्ट छन् ।

पार्टी अध्यक्ष ओलीले बैठकमा बताएअनुसार स्पष्टीकरणको जवाफ दिएका अधिकांशले तुलानात्मक हिसाबले एउटै प्रकृतिको जवाफ लेखेका छन् । उनले सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको पनि बैठकमा जानकारी दिए । त्यस्तै, जय कुमार राई, सोम पाण्डे र कल्याणीको स्पष्टीकरण सुझावसहित आएको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्यमा बादललाई उम्मेदवार बनाउने

एमालेले राष्ट्रियसभाको रिक्त सदस्य पदमा रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित भएका बादललाई पार्टीले कारवाही गरेसँगै राष्ट्रियसभामा उनको सिट रिक्त भएको थियो । तर एमालेमा प्रवेश गरेका उनलाई शुक्रबार नै स्थायी कमिटी सदस्यको जिम्मेवारीसहित उनकै स्थानमा रिक्त सिटमा उनलाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप