बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि आकासियो खानेतेलको मूल्य !

मूल्यवृद्धिमा विभागकै संलग्नता रहेको उपभोक्ता अधिकारकर्मीको आरोप
शुक्रबार, १० वैशाख २०७८, १२ : ४२
शुक्रबार, १० वैशाख २०७८

बजारमा खानेतेलको मूल्य फेरि बढेको छ । गत कात्तिकमा खानेतेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए । अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।  

अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ । रिफाइनरी इन्धन तेलको मूल्य क्रमिकरूपमा बढिरहेका बेला आम सर्वसाधारणको प्रत्यक्ष चुलोसँग जोडिएको अत्यावश्यक वस्तुको मूल्य बढेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो ।

 ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ । त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने सोयाबिन (भट्मास) को तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ ।

बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र सोयाबिन (भटमास) को तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।

यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो ।

गत कात्तिकमा पनि व्यवसायीहरुले आफूखुसी तेलको मूल्य बढाएका थिए । त्यसबेला व्यवसायीले तोरीको तेलदेखि भटमासको तेलसम्म प्रतिलिटर अधिकतम ५० रुपैयाँसम्मले वृद्धि गराएका थिए । बजारमा त्यसको तीव्र विरोध भएको थियो ।

तेलको अस्वाभाविक मूल्य वृद्धिलाई लिएर चौतर्फी विरोध भएपछि सरकारी नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा तेल उद्योगलाई कारबाहीसमेत गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएकै कारण तेलको मूल्य वृद्धि गर्नुपरेको बताउँदै आएका उद्योगहरुसँग विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान गरेको थियो ।

उक्त प्रज्ञापनपत्रको विश्लेषणका आधारमा केही मूल्य घटे पनि उद्योगीहरुले मनलाग्दी मूल्य निर्धारण गरेको भन्दै विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई कारबाही गरेको थियो ।

त्यसपछि भने केही समयका लागि व्यवसायीहरुले थोरै मूल्य मात्र घटाएका थिए । तर, मूल्य घटेको केही महिना पनि हुन नपाउँदै व्यवसायीहरुले पुनः मूल्य वृद्धि गराएका छन् ।

के भन्छन् व्यवसायी ?

अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव उत्पादित तेलमा परेको उद्योग व्यवसायीहरुको दाबी छ । रिफाइनरी तेलको कच्चा पदार्थ नै महंगो पर्दा उत्पादनको लागत बढ्न गई केही मूल्य बढ्न गएको व्यवसायीहरुको तर्क छ ।

यद्यपि हालको अवस्थामा गत पुसयताकै मूल्यमा बजारमा खाने तेल उपलब्ध गराइरहेको दाल चामल तथा तेल उत्पादक सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले रातोपाटीसँग बताए ।

‘बजारमा तेलको मूल्य बढेको भन्ने हल्लामा कुनै सत्यता छैन । हामीले अझै गत पुसयताकै मूल्यमा तेल उपलब्ध गराइरहेका छौँ । तर, उत्पादनको लागत नै बढेर हामी व्यवसायीमाथि मूल्य वृद्धिको दबाब भने अवश्य परेको छ । तर, पनि हामीले पुरानै मूल्यमा तेल उपलब्ध गराइरहेका छौँ,’ गुप्ताले भने ।

बजारमा मूल्यवृद्धिको हल्ला सुनिनुमा भने केही बदमास व्यवसायीहरुले अनुचित फाइदा लिन पनि मूल्य वृद्धि गरेको हुन सक्ने उनले बताए ।

‘दसैँ–तिहारपछि ह्वातै बढेको तेलको मूल्य केही समयअघि मात्र केही घटेजस्तो भएको थियो । तर, पछिल्लो समय पुनः मूल्य बढेको छ,’ नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले रातोपाटीसँग भने, ‘व्यवसायीहरुले भनेजस्तै लागत नै बढेर मूल्य बढेको हो कि मूल्य बढाइएको हो, उनीहरु नै जानुन् । तर, योबीचमा अन्य खाद्यान्नको मूल्य भने खासै बढेको छैन ।’

के गर्दैछ नियामक निकाय ?

बजार व्यवस्थापनदेखि उपभोग्य वस्तुको आपूर्ति, सहजीकरण तथा नियमनको जिम्मा वाणिज्य विभागलाई छ । तर, अहिले सोही विभाग उपभोक्ताहरुको ढाड सेक्ने गरी तेलको मूल्य वृद्धि हुँदासमेत बेखबरजस्तै छ । उद्योग व्यवसायी, मेल वाला र वितरकहरुको मिलेमतोमा तेलको मूल्य आफूखुसी वृद्धि गरिरहे पनि वाणिज्य विभाग थाहा नपाएजस्तै गरिरहेको छ ।

 बजारमा खाने तेलको मूल्य वृद्धिको हल्ला चले पनि विभागमा अहिलेसम्म गुनासो नपरेको विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् ।

‘बजारमा खाने तेलको मूल्य वृद्धि भयो भन्ने हल्ला त चलेको छ तर के कति बढ्यो भन्ने अहिलेसम्म जनगुनासा आएका छैनन् । गुनासा नआएकोमा हामीले पनि त्यति धेरै सोधीखोजी गरेका छैनौँ,’ पौडेल भन्छ, ‘हालै मात्र संसदीय समिति, उद्योग वाणिज्य आपूर्ति, श्रम तथा उपभोक्ता संरक्षण समितिले मूल्य वृद्धिका बारेमा आवश्यक छानबिनसहित ६ महिनाभित्र उद्योगहरुको मूल्यसूचि तथा मूल्य निर्धारण मापदण्ड उपलब्ध गराउन निर्देशन गरेको छ । अहिले हामी त्यसको तयारीमा जुटेका छौँ ।’

महानिर्देशक पौडेलले अगाडि भने, ‘त्यसो त योबीचमा मूल्य वृद्धिकै विषयलाई लिएर हामीले दुईपटक तेल उत्पादक उद्योगीहरुलाई छलफलका लागि बोलाइसकेका छौँ । उनीहरुले हालसालै कुनै पनि तेलको मूल्य वृद्धि नगरेको तर पुस १ गते यताकै बजार मूल्यमा तेल उपलब्ध गराइरहेको बताएका छन् । जुन हामीले अनुगमन गर्दा पनि सोही कुरा भेटेका छौँ’ उनले भने ।

उपभोक्ताकर्मीहरुले भने नियामक निकायकै कमजोरीका कारण व्यवसायीहरुले मनलाग्दी गरेको बताएका छन् । बजार अनुगमनका नाममा वाणिज्य विभागले व्यवसायीहरुसँगै मिलेर फितलो कार्य सम्पादन गर्ने र व्यवसायीहरुले उपभोक्ताहरुको ढाड सेक्ने काम गरेको उपभोक्ताकर्मीहरुको आरोप छ । यस्तो कार्य रोक्न व्यवसायी र नियामक निकाय दुवैलाई बाँध्न दरिलो कानुनको आवश्यक रहेको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप