शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जो वेटरबाट होटल मालिक बने ...

शुक्रबार, १० वैशाख २०७८, १० : ३०
शुक्रबार, १० वैशाख २०७८

चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्को सपना देखे, त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।

ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् कृष्ण भट्टले । विसं २०३७ मा गोरखाको घ्याम्पेसालमा जन्मिएका भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आए। अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सीताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेन्टमा ल्याए। भट्टले त्यहाँ १० वर्ष वेटर काम गरे । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उनले दक्खल हासिल गरे । 

भट्टले भने, “मैले गोविन्द दाइ (भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्द तिवारी) लाई भनेको थिएँ, विवाह गरेपछि आफैँ केही गर्छु ।” रोजगारीकै क्रममा रकम जोगाएर उनले कृष्णपुरमा एउटा घडेरी जोडिसकेका थिए । 

उद्देश्य थियो– त्यही बेचेर व्यवसाय गर्ने । जे सोच्नुभयो त्यो भएरै छाड्यो । विसं २०६२ चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गरे । श्रीमान्, श्रीमती र दुई कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । “कैयौँ रात हामी राम्रोसँग सुतेका छैनौँ”, भट्टले विगतलाई सम्झँदै भने, “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यही पनि रात दिनको हाम्रो मेहनत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँगको सामिप्यताका कारणले कृष्ण खोज्दै आउने सेवाग्राहीका कारण व्यवसाय सफल भएको उनले बताए । 

सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उनको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरि आउने हुँदा उनलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उहाँले भरतपुरको बसपार्क चोकमा अर्को शाखा खोले । विसं २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा तीन धुर जग्गा आफैँले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त ग¥यो ।  यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उहाँले २० वटा कोठासहितको होटल शुरु गर्नुभएको छ । होटलमा ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । साठ्ठी जनासम्मलाई बसाइको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु छन् । 

आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उनी बताउँछन् । कमाएको रकम थपेर बैंकको सहायताले रु नौ करोड लागतमा होटल खोलेको भट्टको भनाइ छ । चालिस वर्षको उमेरमा दुईवटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बनेका भट्टका व्यवसायमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्छन्, “जे काम गरे पनि निरन्तर मेहनत ग¥यो भने सफलता हात पर्छ ।” 

आफ्नो कडा परिश्रमकै कारण सफल भएको उनको भनाइ छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उनको योजना छ । देशभरबाट चितवन हुँदै आवतजावत गर्ने धेरैको रोजाइको खाजा ‘तास’ परिकार उनको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उनले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाइसम्मका लागि सेवा दिँदै आएका छन् । 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउँछन् । काम सिकेपछि आफैँ उद्यमी बन्नुपर्छ भन्ने उदाहरण भट्टले प्रस्तुत गरेको उनको भनाइ छ । गौतमले भने, “युवावस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाले गर्नुपर्ने उनी बताउँछन् ।

नेपालमा रोजगारी पाइँदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बनेका छन् । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उनको जीवनबाट पाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप