शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहर : आउँदो एक महिना जोखिपूर्ण हुन सक्छ !

जनता सचेत बनौं, सरकारले पनि पुरानो गल्ती नदोहोर्‍योओस्
शुक्रबार, १० वैशाख २०७८, ०९ : ३२
शुक्रबार, १० वैशाख २०७८

कोभिड १९ भाइरस नयाँ–नयाँ प्रारुपमा ‘रिलिज’ भई  नेपालमा पनि तीव्रताका साथ प्रवेश भएको छ । हिजो बुधवार बैशाख ८ गते स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याँक अनुसार नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणका २ हजार ३७१ नयाँ संक्रमित भेटिएका छन् ।  यीमध्ये १ हजार ५१ जना संक्रमित काठमाडौँ उपत्यकामा मात्रै भेटिएका छन् ।

देशभरिमा भेटिएका २ हजार ३७१ संक्रमित अथवा काठमाडाैंमा भेटिएका १ हजार ५१ जना संक्रमित निश्चय पनि महामारीका बेला डराउने संख्या बल होइन । तर, यसबारेको सम्यक उत्खनन गर्दा डराउने मात्रै होइन, आत्तिने समय नै भएको छ ।

देशभरिमा विगत २४ घण्टामा भएका कुल कोरोना संक्रमण परीक्षणको संख्या एन्टिजेन प्रविधिबाट ८०३  र आरटी पीसीआर  प्रविधिबाट ८ हजार ८४४ गरी कुल ९ हजार ६४७ परीक्षण गरिँदा नेपालमा २ हजार ३७१ जना संक्रमित भेटिएका छन् । 

जम्मा ९ हजार ६४७ परीक्षण हुँदा २ हजार ३७१ जना संक्रमित भेटिनु निश्चय पनि चिन्ताजनक कुरा हो ।  यो झण्डै २५ प्रतिशत हुन आउँछ ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थप तथ्यांक पनि हेरौं – तथ्यांकअनुसार गत एक सातामा २३ हजार ९०० परीक्षण सम्पन्न हुँदा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको २१ प्रतिशत हुन आउँछ । यसबाट सहज अनुमान गर्न सकिन्छ कि परीक्षण भइरहेका मध्ये २०÷२५ प्रतिशत रिपोर्ट पोजेटिभ आइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको अर्को जानकारीअनुसार प्रत्येक चौथो दिनमा संक्रमित भेटिने संख्या दोब्बर हुन थालेको छ ।  हिजोको दिनसम्म देशमा सक्रिय  संक्रमित संख्या १० हजार ५८२ रहेको थियो ।

विगत एक सातामा नेपालमा पीसीआर परीक्षणबाट संक्रमित निस्कनेको संख्यामा ४५  प्रतिशतले वृद्धि भएको छ ।  बैशाख २ गते पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो भने ८ गतेसम्म आइपुग्दा  यो बढेर २५.१० प्रतिशत पुगेको छ । यसको स्पष्ट आशय हो नेपालमा प्रत्येक १०० जनाको परीक्षण हुँदा २५ जनाको रिपोर्ट पोजिटिभ आउन थालेको छ । यो निश्चय पनि डरलाग्दो तथ्यांक हो ।

देशभरका कुल  आइसीयुको कुल संख्या १ हजार १६७  छन् । यसमा ५१२  भेन्टिलेटर उपलब्ध छन् । यीमध्ये यो सातासम्म १३ प्रतिशत  आईसीयू तथा १० प्रतिशत भेन्टिलेटरहरु कोरोना संक्रमितले भरिइसकेका छन् । देशमा सक्रिय संक्रमित संख्या १२ हजार नाघिसकेको छ । तीमध्ये करिब २ प्रतिशत संक्रमण गम्भीर प्रकृतिको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७० जना संक्रमित आईसीयूमा र ५९ जना  भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार बैशाख ८ मा नेपालमा १० हजार ४४८ परीक्षण गर्दा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ । यसको अर्थ, कोरोना संक्रमणको ग्राफ प्रतिदिन उकालो लाग्दै गइरहेको छ ।

स्वास्थ्य मन्त्रालय एवं कोरोना महामारीलाई  विश्लेषण गरिरहेका विज्ञहरुका अनुसार अहिले नेपालमा कोरोना संक्रमण भाग– २ को उत्कर्ष आउनै बाँकी छ ।  मन्त्रालयका प्रवक्ताले चेतावनी दिँदै भनेका छन् कि सर्वसाधारण नेपालीले सावधानी नअपनाए  देशमा प्रत्येक दिन नयाँ संक्रमित आउने संख्या ११ हजारसम्म पुग्न सक्छ ।

नेपालका सीमा नाकाहरूबाट दिनहुँ हजारौं नेपालीहरु स्वदेश फर्किरहेका छन् । सीमानामा स्वास्थ्य परीक्षणको व्यवस्था अति फितलो छ । सरकारले होल्डिङ सेन्टरहरु बनाउने निर्णय गरे पनि मन्त्रिपरिषदको निर्णय कागजमै सीमित छ ।

जमिनको सीमानाको के कुरा, हवाई उडानबाट काठमाडौंको विमानस्थलमा ओर्लिनेहरूको स्वास्थ्य परीक्षणमा चरम लापरवाही भइरहेको कुरा पूर्वराजा ज्ञानेन्द्र शाह दिल्लीबाट फर्किंदा परीक्षण नगरिए बाटै प्रमाणित भएको छ । यसका साथै नक्कली पीसीआर रिपोर्ट लिएर दिल्लीबाट आउनेहरुको लर्को लागिरहेको छ ।

विज्ञहरुका अनुसार भारतमा दैनिक तीन लाखभन्दा बढी नयाँ संक्रमित देखिँदा  पनि अहिलेसम्म कोरोना संक्रमण पार्ट–२ को उत्कर्ष आइसकेको छैन । अनुमानअनुसार मे महिनाको मध्यतिर भारतमा कोरोना २ को उत्कर्ष आउने छ । त्यो बेलासम्म भारतमा दैनिक ६÷७ लाख नयाँ संक्रमित भेटिने विश्लेषण गरिएको छ ।  संक्रमित बढेकै दरले त्यहाँ  मृत्युदर पनि वृद्धि हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

हरिद्वार महाकुम्भमा भारतभरका लाखौं मानिस पुगेका थिए ।  उत्तराखण्डमा कोरोना संक्रमणको स्थिति भयावह नै छ ।  त्यहाँ पुगेका मानिस विस्तारै आफ्नो घर फर्किन्छन् । यदि ती त्यहाँबाट संक्रमित भएर फर्किन्छन् भने कोरोना संक्रमण भारतका गाउँ गाउँमा, घर–घरमा पुग्नेछ । नेपालबाट पनि धेरै मानिसहरु हरिद्वार गएर फर्केका छन् । यसबाट महामारीले कस्तो विकराल रूप धारण गर्ने हो, अनुमान लाउन सजिलो छैन । यति भने भन्न सकिन्छ भारतले कोरोना संक्रमणका दुबै मामलामा अमेरिकालाई समेत उछिन्ने सम्भावना बढेको छ ।

भारत सरकारजस्तै नेपाल  सरकार विगतको झैं पूर्ण लकडाउन गर्ने मुडमा देखिएको छैन । विगतकै लकडाउनको असरबाट के व्यक्ति, के संस्थाहरु र के देश, कोही पनि तंग्रिन सकेका छैनन् । उता, दिल्ली र महाराष्ट्रका प्रान्तीय सरकारले लकडाउन घोषणा गर्ने बाध्यात्मक पाइला चालेका छन् ।

निश्चय पनि कोरोना भाइरसका नयाँ भेरिएन्ट पहिलाको तुलनामा बढी नै घातक छन् ।  नेपालमा तीव्र गतिले बढीरहेको संक्रमण दरले स्वतः प्रमाणित छ, नेपालमा कोरोनाका नयाँ घातक भेरिएन्टको प्रवेश भइसकेको छ । यूके भेरिएन्ट र डबल म्युटेंट भेरिएन्ट भेटिएको परीक्षणबाट साबित भइसकेको छ । अन्य घातक भेरिएन्ट पनि भित्रिएको प्रबल सम्भावना छ । पुरानो भेरिएन्टको तुलनामा कोरोनाका नयाँ भेरिएन्टले बालबालिका एवं युवालाई अत्यधिक आक्रमण गरेको छ । यो आफैंमा अत्यन्त चिन्ताजनक कुरा हो । वृद्धवृद्धाको तुलनामा बालबालिका र युवाहरु अधिक सक्रिय हुन्छन् । उनीहरु कामविशेषले बाहिर जाने बाध्यात्मक परिस्थिति हुन्छ ।

सबैले हेक्का राखे हुन्छ, कोरोना भाइरसको कुनै पनि औषधि छैन ।  भ्याक्सिन कोरोना भाइरसविरुद्धको औषधि होइन ।  भ्याक्सिन लगाएका मानिसमा भाइरसविरुद्ध लड्ने एण्टीबडी बनेको हुन्छ । तर,  भ्याक्सिन लगाउँदैमा कोरोना संक्रमित नहुने भन्ने होइन । नेपालमा आएका एवं वितरित भ्याक्सिनको प्रभावकारिता ६५÷७० प्रतिशत रहेको छ, अर्थात दुबै डोज भ्याक्सिन लगाएका १०० जना मध्ये ६५÷७० व्यक्तिमा भाइरसविरुद्ध लड्ने एण्टीबडी निर्मित हुन्छ । तपाईंले भ्याक्सिन लिँदैमा कोरोनाबाट सुरक्षित हुनु भएको छैन ।

सजगता अपनाएमा कोरोना भाइरसका नयाँ भेरिएन्टबाट पनि सुरक्षित रहन सकिन्छ । कोरोनाका नयाँ भेरिएन्ट थप जटिलता लिएर आएका छन् । संक्रमित भएको व्यक्तिमा प्रारम्भमा कुनै लक्षण देखिँदैन । शरीरभित्र भाइरसले आफ्नो बासस्थान बनाएर विभिन्न अंगलाई क्षतिग्रस्त तुल्याएपछि मात्रै परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थाहा हुन्छ ।  कतिपय केसमा कोरोना पोजिटिभ भएको थाहा पाएको एक दिनभित्रै व्यक्तिको मृत्यु भएका अनेका घटना भइसकेका छन् । संक्रमित संख्या बढ्दै जाँदा देशमा उपलब्ध चिकित्सा व्यवस्था अपुग  हुन पुग्छ । यसकारण संक्रमित मध्येको मृत्यु दर झनै बढ्न सक्छ ।

स्मरण रहोस् ब्राजिलमा ऐस्ट्रेजेनेका भ्याक्सिन नयाँ भेरिएन्टविरुद्ध १०/प्रतिशतमात्रै सफल रहेको अध्ययन रिपोर्ट आइसकेका छन् । गत २४ घण्टामा मात्रै ब्राजिलमा ३ हजार ४७२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउनुपरेको छ । ब्राजिलमा भ्याक्सिनको प्रभावकारिता अति न्यून रहेको पाइएको छ । त्यसैले भ्याक्सिन लाएको छु भन्दैमा जथाभावी गर्न मिल्दैन । कोरोनाबाट जोगिने सबै उपाय पहिलाकै जसरी जारी राख्नुपर्छ ।

त्यसैले,  सरकारले गर्ने लकडाउन घोषणाको प्रतीक्षा नगरौं । आफैं आफूलाई लकडाउन गरौं । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौं । बालवालिकालाई घर बाहिर जान नदिऔं । होस गरौं, नेपालमा कोरोना संक्रमणको दोस्रो वेभको उत्कर्ष आउन  बाँकी नै छ ।  आउँदो एक महिना (मे महिनाको अन्त्यसम्म ) को समय अति जोखिमपूर्ण हुन सक्छ । यो समयमा आफूलाई सबै किसिमले सुरक्षित राखौं ।

सरकारले विगतकै जस्तो अविलम्ब कोरोना अस्पताल सुचारु गर्ने व्यवस्थामा ध्यान नदिए स्थिति अप्रिय अवस्थामा पुग्न सक्छ । हुलमुल, भीडभाड हुने किसिमका सबैखाले गतिविधि रोक्न जरुरी छ । रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम सुरक्षित उपाय र बुद्धिमानी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप