मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

बिहीबार, ०९ वैशाख २०७८, २२ : ३५
बिहीबार, ०९ वैशाख २०७८

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् । 

बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराइमा डुबेको अनुमान गरिएको छ । रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराइमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ । 

अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपोर्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताए । जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

नौसेनाका प्रवक्ता जुलियस विजोजोनोले तेल चुहिएको क्षेत्रलाई केन्द्रित गरी खोजी कार्य तिब्र बनाइएको जानकारी दिएका छन्, तर कुन ठाउँमा डुबेको हो भन्ने ठ्याक्कै खुट्याउन नसकिएको बताए  । सेनाले पनडुब्बीको खोजीका लागि छ वटा युद्धपोत र हेलिकप्टर पठाइसकेको छ । 

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, फ्रान्स र जर्मनी समेतका अन्य मुलुकले पनि सहयोगका लागि प्रस्ताव गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री मारिज पेनले यो घटना इन्डोनेसियाली जलसेनाका लागि निकै दुःखद स्थिति रहेको बताए ।

छिमेकी मुलुकहरु सिंगापुर र मलेसियाले पनडुब्बीको खोजी कार्यका लागि जहाजहरु त्यसतर्फ पठाइसकेका छन् । इन्डोनेसियाली सेनाले युद्धपोतमा बढी तौल भए नभएको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन । बुधबार सेनाले पनडुब्बी निकै गहिराईमा डुबेको आशंका जनाएको थियो । 

करिब एक हजार ३०० टनको केआरआई नाग्गाला ४०२ पनडुब्बी सन् १९८१ मा निर्माण भएको हो । इन्डोनेसियाले पछिल्ला वर्षहरुमा आफ्ना युद्धपोतलाई अद्यावधिक र आधुनिक बनाउने प्रक्रिया थालेको छ । इन्डोनेसियासँग हाल जर्मन र दक्षिण कोरियामा निर्मित पाँचवटा पनडुब्बी छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप