बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमण तीव्र, प्रदेश र स्थानीय सरकार अलमलमा

बिहीबार, ०९ वैशाख २०७८, २० : ३४
बिहीबार, ०९ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो समय प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा बढी प्रभावित भएको छ । कास्कीका ग्रामिण भेगमा सामान्य प्रभाव देखिए पनि विशेषगरी पोखरामा संक्रमण तीव्र रुपमा वृद्धि भएको छ ।

नयाँ वर्षको सुरुवातसँगै प्रदेशमा ४५० जनाभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लामा संक्रमण दर क्रमशः वृद्धि हुदै गएको छ । त्यसमध्ये सबैभन्दा धेरै कास्कीमा झण्डै ५ सयको संख्यामा सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितको संख्याका हिसाबले बागलुङ दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ९९ सक्रिय संक्रमित पाइएको छ ।

प्रदेशमा झण्डै ७०० को संख्यामा संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले बताए । तीमध्ये ४८३ सक्रिय संक्रमित कास्कीका हुन् । प्रदेशमा हालसम्म संक्रमितको संख्या १७ हजार ४०६ पुगेको छ । त्यसमध्ये १६ हजार ५३१ जना निको भइसकेका छन् । 

बढ्दो संक्रमणलाई रोक्न स्कुल, सुपरमार्केट बन्द गर्ने र बाहिरबाट आउनेलाई व्यवस्थित गर्न आवश्यक रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.शर्मा बताउँछन् । उनले सबै नागरिक जिम्मेवार भएर संक्रमण रोक्न पहल गर्नुपर्ने बताए । 
गण्डकी प्रदेशमा पछिल्लो समय १०४ जनामा संक्रमणको नयाँ भेरियन्ट पुष्टि भएको छ । त्यसमध्ये २७ जना विद्यार्थी छन् । 

स्कूल, डान्सबार, डिस्को, दोहोरी बन्द 

कोरोना संक्रमण तीव्र बन्दै गएपछि प्रदेश अन्तर्गतका जिल्ला प्रशाशन कार्यालयहरूले भेला, सभा र सम्मेलन लगायतमा बन्देज लगाएका छन् । सार्वजनिक ठाउँमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै पोखरा क्षेत्रका शिक्षण संस्था, डिस्को र दोहोरी लगायतलाई बन्द गर्न निर्देशन दिएको छ । 

त्यसैगरी संक्रमण प्रभावित जिल्लामा अवस्था हेरेर शिक्षण संस्था बन्द गर्न र अन्य भिडभाड हुने स्थानमा बन्देज लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आग्रह गरिएको छ । 
कोरोना जोखिमलाई मध्यनजर गर्दै कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा, तनहुँ, लमजुङ र गोरखा लगायतका जिल्लामा स्थानीय प्रशासनले सिनेमा हल, डान्सबार, डिस्को, दोहोरी, खेल गतिविधि, धार्मिक स्थलमा पूजापाठ गर्न रोक लगाएको छ । 

कास्की जिल्ला प्रशासन कार्यालयले १७ बुँदे आदेश जारी गर्दै पालना नगरेमा कारवाही गरिने चेतावनी दिएको छ । यस्तै सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल, रेष्टुरेण्ट लगायतलाई छुट्टाछुट्टै मापदण्ड तयार गरिएको छ । कार्यालय, पसल, यातायात लगायतमा हिँड्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । 

पोखराका विभिन्न मठमन्दिरमा नित्यकर्मका लागि मात्र पूजाआजा गर्ने, सर्वसाधारणका लागि भने त्यस्ता स्थानमा पूजा गर्न बन्देज लगाइएको छ । मास्क प्रयोग नगरी आएका सेवाग्राही वा यात्रुलाई १० रुपैयाँ लिएर मास्क लगाउन लगाएर मात्र सेवा दिन सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ ।

कुनै पनि सभा, समारोहमा २५ जनाभन्दा बढी भेला हुन नपाउने र तोकिएको संख्यामा सहभागी भएकाहरुले पनि २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने निर्देशन जारी गरिएको छ । होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । 

परीक्षा भने नरोकिने

सरकारले कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गरे पनि पोखरा महानगरपालिकाले वार्षिक परीक्षा भने नरोक्ने भएको छ । बुधबार बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरको निर्देशनपछि वैशाख १० गतेबाट वार्षिक परीक्षाहरु सञ्चालन हुने भएको हो । कोरोना संक्रमण फैलिँदै गएपछि केन्द्र सरकारले सहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरे पनि पोखरा महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । 

महानगरको शिक्षा महाशाखाले परीक्षा सञ्चालन गर्दा भिडभाड नहुने गरी हरेक दिन दुई वा तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने, भौतिक दूरी, मास्क र सेनिटाइजर प्रयोग, साबुन पानीले हात धुने व्यवस्थालाई कडाइका साथ लागू गर्नसमेत निर्देशन दिएको छ । यसैगरी कक्षा ८ को परीक्षा भने पूर्वनिर्धारित तालिका अर्थात् जेठ ३ गतेबाटै सञ्चालन गर्ने तर आवश्यकता परेमा कार्यतालिका परिवर्तन हुन सक्ने महानगरले जनाएको छ ।

महानगरले जेठ महिनामा वार्षिक नतिजा प्रकाशन र आगामी शैक्षिक कार्ययोजना निर्माण गर्ने, विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर शैक्षिक गतिविधि गर्नुपर्ने निर्णय गरेको छ । 
यस्तै परीक्षापूर्व कक्षा सञ्चालन गर्नुपर्ने भएमा अनलाइन माध्यमबाट मात्र गर्न आग्रह गर्दै महानगरले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ ।

प्रदेश र स्थानीय सरकारको तयारी शून्य

प्रदेशमा दिन प्रतिदिन कोरोना संक्रमण तीव्र रुपमा फैलिँदासमेत प्रदेश र स्थानीय सरकारले आवश्यक तयारी गर्न सकेका छैनन् । गत वर्ष संक्रमण फैलिएपछि निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसनको अस्तित्व मेटिइसकेको छ । कोरोनाको दोस्रो लहर सुरु भएको बताइए पनि स्थानीय सरकारहरुले क्वारेन्टिन र आइसोलेसन निर्माण थालेका छैनन् । संक्रमण पुष्टि भएकालाई सम्बन्धित कै घरमा होम आइसोलेसनमा राख्ने स्थानीय सरकारको योजना छ ।
क्षेत्रफलका हिसाबले देशकै ठुलो पोखरा महानगरपालिकाले गत वर्ष संक्रमण वृद्धि भएपछि निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन हटाइ सकेको छ । पोखरा महानगर स्वास्थ्य शाखाका प्रमुख हेमन्त शर्माले कोरोना संक्रमण घटेसँगै आइसोलेशन हटाएको बताए । उनले अहिले संक्रमण वृद्धि भए पनि क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने निर्णय भइनसकेको बताए ।

निजी अस्पतालमा पनि आइसोलेसनको व्यवस्था गर्न थालेपछि महानगरले आइसोलेसन र क्वारेन्टिन हटाएको उनको भनाइ छ । कोरोना संक्रमण फैलिएको लामो समय बिते पनि प्रदेश सरकारले समेत पर्याप्त तयारी गर्न सकेको छैन । प्रदेशका ११ जिल्लामा संक्रमितका लागि आवश्यक आइसीयुसहितको वार्ड र जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकार असफल देखिएको छ । प्रदेशका बागलुङ, कास्की र गोरखामा सीमित बेड बाहेक अन्य जिल्लामा उचित मात्रामा आइसियु वार्ड र आवश्यक जनशक्तिको व्यवस्था हुन सकेको छैन ।

सरकारी तथ्यांकअनुसार प्रदेशमा जम्मा २४३ वटा आईसीयु बेड छन् । तीमध्ये ४४ वटा बेड प्रयोग भइरहेका छन् । प्रदेशमा जम्मा ६७ वटा भेन्टिलेटर उपलब्ध छन् । पछिल्लो समय गण्डकीमा संक्रमण देखिएकालाई होम आइसोलेसनमा राख्ने गरिएको छ । प्रदेशमा पूर्वाधार निर्माण गर्न र आवश्यक उपकरण थप्ने कुनै कार्य भएको छैन । अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएकाले प्रदेश सरकारका मन्त्रीहरु सत्ता जोगाउने पहलकदमीमा व्यस्त छन् । त्यसैले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले ध्यान दिन नसकेको जानकारहरु बताउँछन् ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले कोरोना संक्रमण तीव्र रुपमा वृद्धि भएकाले आवश्यक पूर्वाधार बढाउने काम भइरहेको दाबी गरे । उनले सामाजिक मन्त्रालयसँगको समन्वयमा पूर्वाधार थप्ने योजना अगाडि बढिरहेको उनको भनाइ छ ।
पोखरामा गत वर्ष कृषि तालिम केन्द्र मालेपाटनमा ४६ बेडको आइसोलेशन निर्माण गरिएको थियो । त्यस्तै, महिलाका लागि नदीपुरस्थित प्रयोगमा नआएको अस्पतालमा २५ बेडको आइसाेलेसन र क्वारेन्टिन निर्माण गरिएको थियो ।
यसैगरी, लेकसिटी अस्पतालमा एक सय बेडको क्वारेन्टिन तयारी अवस्थामा राखिएको थियो । संक्रमण दर घटेसँगै ती आइसोलेसन तथा क्वारेन्टिन सेन्टरहरु हटाइएका थिए । पोखरामा हाल सरुवा रोग अस्पतालमा लेखनाथमा ५० र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४० बेड मात्र आइसियु उपलब्ध छ ।

कोरोना संक्रमण वृद्धिसँगै सरकारी अस्पतालमा बेड अभाव भएपछि सरकारले निजी अस्पताललाई कोरोना उपचारको अनुमति दिएको थियो । पछिल्लो समयमा प्रदेश सरकारले मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेजलाई शुल्क लिएर कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप