केन्द्रीय संस्करण
जितु नेपालका दस किस्सा

प्रचण्डले भने ‘तपाईंसँग नसकिने रहेछ’

त्यो दिन रुँदैरुँदै प्रहरीचौकी पुगेँ

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

काठमाडौँ । जितु नेपाल नेपालका चर्चित हाँस्य कलाकार तथा अभिनेता हुन् । पछिल्लो समय उनी नामले भन्दा पनि कलाकारिताको उपनाम ‘मुन्द्रे’ बाट चिनिन्छन् । यो परिचय उनलाई हाँस्य टेलिशृङ्खला ‘जिरे खुर्सानी’ले दिलाएको हो ।

‘ट्वाक्क टुक्क’ मार्फत अभिनयमा डेब्यु गरेका जितु हाँस्य टेलिशृङ्खला, फिल्म हुँदै अहिले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी सो चलाउँछन् । कमेडियनका रूपमा देश तथा विदेशका थुप्रै कार्यक्रमको अनुभवसमेत सँगालेका नेपालसँग जीवन यात्राका क्रममा भोगेका थुप्रै तीतामीठा अनुभव पनि छन् । तीमध्ये दस रोचक किस्सा उनकै शब्दमा ।

घरमा ढाँट्थे

वि.सं २०४४/०४५ तिर म स्कुल पढ्थेँ । विद्यार्थी जीवनमा स्कुल सकिएपछि सरासर घर नगएर साथीहरुसँग बाटोमा अरिङ्गालको गोलामा ढुङ्गाले हिर्काउँथ्याँै । त्यसो गर्दा गोलो फुट्छ र अरिङ्गालले हामीलाई नै आक्रमण गर्छ भन्ने हेक्का छँदैथिएन ।

एक पटक ढुङ्गाले हान्ने क्रममा अरिङ्गालको गोलो फुटेर हामीतिर आयो । अरिङ्गाल आफूतिर आएकाले भाग्दा लडेर मेरो खुट्टा नै मर्कियो, घाउ पनि भयो । गाली गर्छन् भनेर खुट्टा हिँड्दा हिँड्दै लडेर यस्तो भएको भनेर घरमा ढाँटेँ ।

रुँदै प्रहरीमा पुगे

२०५० सालतिर म ‘ट्वाक्क टुक्क’मा अभिनय गर्थंे । त्यसको अलवा निर्मल पौडेल भन्ने साथीसँग मिलेर भीमसेनगोलामा तरकारी पसल राखेको थिएँ । पसलका लागि तरकारी कालिमाटीबाट साइकलमा ओसार्थे । साइकलको ताल्चा लगाए पनि जोडले थिच्यो भने खुल्थ्यो ।

एक दिन मैले तरकारी बजारमा ताल्चा खुल्छ कि खुल्दैन भनेर चेक गर्दा खुल्यो । फेरि बन्द गरेर तरकारी किन्न गएँ । मैले त्यसो गरेको कसैले हेरिरहेको रहेछ । तरकारी किनेर फर्किंदा साइकल हराएछ ।

साइकल हराएपछि म रुँदैरुँदै प्रहरी चौकीमा पुगेँ । प्रहरीले त्यस्ता साइकल कति हुन्छ कति । नम्बर हुँदैन कहाँबाट भेट्नु भन्दै फर्काए । ट्याम्पोमा तरकारी लिएर म घर फर्किएँ । त्यो दाइको साइकल थियो । दाइले धेरै गाली गर्नुभयो । त्यो गाली अहिले पनि सम्झना छ ।

प्रचण्डले भने ‘तपाईंसँग नसकिने रहेछ’

मिर्गौला फेल भएका राष्ट्रिय भलिबल खेलाडी दिनेश बानियाँको सहयोगार्थ सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र म लगायतको आयोजनामा एक पटक रङ्गशालामा नेता र कलाकारको फुटबल आयोजना भएको थियो । त्यो खेलमा कमरेडले प्रचण्डले पनि खेल्ने चाँजोपाँजो मिलायौँ ।

त्यो समय प्रचण्डका लागि १० नम्बरको जर्सी छुट्याएका थियौँ । खेलका लागि प्रचण्डले प्रकाशलाई लुगा र जुत्ता दिनु भनेका थिए । त्यसका लागि मैले साथीहरुलाई प्रचण्डका लागि मात्रै एकै नम्बरको दुई जोर जर्सी बनाउन लगाएँ । एक जोर घरमा पठाउने । त्यो बिर्सिएको खण्डमा कार्यक्रम स्थलमा अर्काे जोर दिने भनेर । उहाँ कार्यक्रममा सधैँ व्यस्त रहने भएकाले बाहिरबाटै कार्यक्रममा आउन पनि सक्ने हाम्रो अनुमान थियो ।

खेलको दिन भयो त्यस्तै । त्यस दिन प्रचण्ड बाहिरको एक कार्यक्रमबाटै सीधै आउनुभयो । ‘घरमा पठाएको जर्सी उतै रहेछ । साथीहरु फुटबल खेल्छन् म हेर्छु,’ जर्सी घरमा बिर्सिएको प्रसङ्ग सुनाउँदै प्रचण्डले भन्नुभयो । त्यो समय मैलै यस्तै पर्ला भनेर त्यस्तै जर्सी अर्काे जोर पनि बनाएको छु भनेर दिएँ । त्यो समय प्रचण्डले मलाई भन्नुभयो, ‘तपाईंसँग नसकिने रहेछ ।’ त्यसपछि जर्सी लगाएर उहाँ रङ्गशाला उत्रिनु भयो । उक्त समय थुप्रै कलाकार र नेता फुटबल मैदानमा उत्रिएका थिए ।

प्लेन चढ्न चाकडी

‘विमान चालक’ भन्ने टेलिशृङ्खला अभिनय गर्दै थिएँ । पाइलटको घरमा काम गर्ने व्यक्तिको भूमिका मेरो थियो । ‘पाइलटको घरमा काम गर्ने व्यक्ति, अहिलेसम्म प्लेन चढेको छैन । बरु मलाई प्लेनको खलासी राखिदिएको भए हुन्थ्यो,’ मेरो डाइलग थियो ।

उक्त समय रियलमा पनि प्लेन चढेको थिइनँ । एक दिन कुरैकुरामा सबैका अगाडि प्लेन नचढेको कुरा राखेँ । उक्त शृङ्खलामा स्वर्गीय क्याप्टेन विजय गिरीको पनि अभिनय थियो । उहाँले मेरो कुरा सुनेर तिमीलाई मैले उडाएको प्लेन चढाउँछु भन्नुभयो ।

केही समयपछि सुटिङको सिलसिलामा विनोद मानन्धर, नारायण त्रिपाठी, जीवननाथ सुवेदी, मलगायत नेपालगञ्ज पुगेका थियौँ । त्यहाँबाट फर्किन प्लेन र बसको व्यवस्था थियो । मेरो भागमा बस पर्यो ।

नारायण त्रिपाठी दाइलाई प्लेनको व्यवस्था थियो । त्यो समय मलाई प्लेन चढ्ने भए त्रिपाठीलाई मना भनियो । प्लेन चढ्नका लागि मैले नारायण त्रिपाठी दाइको एक हप्ता चाकडी गरेँ । मेरो चाकडीले उहाँको मन पग्लियो । उहाँ गाडीमा फर्किनुभयो, म प्लेनमा ।

त्यो समय पहिलो पटक प्लेन चढ्ने अवसर मिल्यो । ब्याग सानो भएकाले ट्याग लगाएन । हातमै बोकेर प्लेनमा पठायो । मलाई प्लेन चढेको देखाउन झोलामा ट्याग चाहिएको थियो । त्यसका लागि प्लेनबाट झरे पनि क्यामरामा टाँसेको ट्याग उक्काएर ब्यागमा टाँसेर देखाउँदै घरतिर लागेँ ।

टुटेफुटेको अङ्ग्रेजीले कमाल

कलाकारिताका कारणले केही घुमेको थिएँ । युरोप पुगेको थिइनँ । निर्देशक राजु शाह सरको ‘सपनाको नौलो संसार’ भन्ने फिल्मका लागि यो चान्स आयो । दिलिप रायमाझी, ऋचा घिमिरे, उषा पौडेल, मलगायत केही टिम युरोप जाने भयौँ । काठमाडौँको जर्मन दूतावासले भिसा दिएन । त्यसका लागि दिल्लीको बेल्जियम दूतावास पुग्यौँ ।

त्यहाँबाट अन्तरवार्तामा बोलायो । मेरो अङ्ग्रेजी कमजोर भएकाले कसरी अन्तरवार्ता दिने भनेर काठमाडौँबाट हिँडेदेखि तनाव भयो । दूतावासले सबैलाई पालैपालो बोलाउँदा मेरा पनि पालो आयो । मुटु ढुकढुक फुलेर त्यही ढलिएला जस्तो भएको थियो ।

मभन्दा अगाडि अन्तरवार्ता दिने राजु सरले कलाकारको परिचय दिँदा मेरो बारेमा चलेका कमेडी कलाकार ‘मिस्टर बिन’ जस्तै हो जितु नेपालको भनिदिनुभएको रहेछ । भिसा दिने व्यक्ति कमेडियन मनपराउने रहेछ । मेरो पालोमा ऊ बसेको ठाउँबाट उठेर मलाई सम्बोधन गर्दै बोल्न थाल्यो । अङ्ग्रेजी बोल्छस् भनेर सोध्यो । ‘लिटिल लिटिल’ मैले जवाफ फर्काएँ ।

ऊ पनि राम्रो अङ्ग्रेजी बुझ्दो रहेनछ । म पनि राम्रो नबोल्ने । उसले पनि बोल्यो । म पनि बोलेँ । उसले बोलेको मैले केही बुझेँ, केही बुझिनँ । मैले बोलेको झन् उनले के बुझ्यो होला र । त्यस्तै त्यस्तैमा मैले उसलाई हँसाए । उसले खुसी हुँदै भिसा दियो । त्यहाँबाट निस्कने बेला गेटसम्म छोड्नसमेत आयो ।

स्टेजबाट भागेँ

२०६३/०६४ तिर साउदीको राजदूत अमित अन्सारी हुनुहुन्थ्यो । कार्यक्रमका लागि भनेर म, शिवहरि पौडेल, किरण केसी, नायिका निशा सुनुवार लगायतको टिम त्यहाँ पुगेका थियाैँ । हामी गायक खेम गुरुङको अगुवाइमा त्यहाँ पुगेका थियौँ । त्यो समय साउदीको कानुन कडा थियो । एयरपोर्टबाट झरेदेखि नै महिलाले बुर्खा लगाउनुपथ्र्यो । महिला पुरुषसँगै बस्न मिल्दैन थियो । बस्नै परे विवाहको प्रमाण चाहिन्थ्यो ।

हाम्रा लागि राजदूतले खाना खुवाउने कार्यक्रम राख्नुभएको थियो । त्यो समय उहाँले मेरो जीवनकालमा साउदीमा कलाकार ओराल्न पाए, खुसी लाग्यो । यहाँको अवस्था खतरा छ । कार्यक्रम भए पनि नभए पनि तपाईंहरुलाई साउदी घुमाएर पठाउँछु भन्नुभयो ।

त्यही बेला यहाँ धार्मिक सीआईडीहरु छन् । मिले कार्यक्रम गरौँला नमिले नगरौँला, कार्यक्रम भयो भने पनि कार्यक्रम गर्दागर्दै उनीहरु आउन सक्छन् । चनाखो रहनुपर्छ भनेर सम्झाउनुभएको थियो । कार्यक्रम हुने भयो । पालैपालो कार्यक्रम गर्दा मेरो पालो आयो । त्यतिबेला नेपालमा रेखा थापाको छोटो लुगाको चर्चा हुन्थ्यो । मैले पनि त्यही थिममा प्रस्तुति दिएर दर्शक हसाउँदै थिए । तीन जाना सेतो कपडा लगाएका लामा लामा दाह्री भएका मानिस कार्यक्रम स्थलमा छिरे । सीआईडी छिरे भनेर मेरो सातो गयो । म स्टेजबाट प्रस्तुति छोडेर भागेँ ।

राम्रो हँसाइरहेका थियौँ । किन कार्यक्रम छोडेको भनेर किरण दाई र शिवहरि दाईले सोधे । ‘हिजो राजदूतले भनेझैँ सीआईडी आए अनि भागेको’ भनेर मैले जवाफ फर्काएँ । आयोजकले ती सीआईडी होइनन्, हाम्रा गेस्ट हुन् भनेपछि  मनमा केही चैन मिल्यो । अनि फेरि स्टेजमा फर्किएँ ।

राज्य नै जिते जस्तो लाग्यो

डेनमार्कबाट रन्जन ओझाले म एक्लैलाई कार्यक्रमका लागि बोलाउनुभयो । त्यहाँको समयअनुसार म बिहानको ५ बजे पुगेँछु । बिहानै पुगेको, एक्लो र अङ्ग्रेजी पनि राम्रो नभएकाले सोधपुछमा के हुने हो भनेर डर लागिरहेको थियो । मेरो अङ्ग्रेजी बुझेन भने नेपाल फर्काउँछ कि भन्ने डरले मुटु काँपेको थियो ।

त्यही समय सोधपुछ गर्ने अफिसरसँग भेट भयो । उहाँ भर्खर उठेर डिउटी आउनु भएको रहेछ कि के हो हाई हाई गर्दै हुनुहुन्थ्यो । मैले पासपोर्ट दिएको त उहाँले फोटोसमेत नहरी ओके भन्नुभयो । त्यो समय मेरो खुसीको सिमाना नै थिएन । एक किसिमले भन्ने हो भने राज्य नै जिते जस्तै लाग्यो ।

मलेसियामा मर्छु भनेँ

२०६५/०६६ मा मलेसियाको एक कार्यक्रमका लागि निखिल उप्रेती, भगवान् भण्डारी, बद्री पङ्गेनी, दिलिप रायमाझी, झरना थापालगायतसँग म पनि गएको थिए । केही समयपछि चाइनिज न्यु इयर पथ्र्यो । चाइनिज न्यु इयरमा मेरो हङ्कङमा कार्यक्रम थियो । हङ्कङ्का आयोजकले मलेसिया नजानू सीधै यता आउनु भनेका थिए । म बढी जान्ने भएर उतैबाट हङ्कङ उड्ने भन्दै मलेसिया पुगँे ।

मलेसियामा कार्यक्रम सकिएपछि हङ्कङ उड्न खोजेको त टिकट पाइएन । हङ्कङको कार्यक्रम मैले नै होस्ट गर्नुपर्ने थियो । मलेसियाका आयोजकले हङ्कङ जान मिल्दैन, नजानू भनेका थिए । मैले हङ्कङ जान नपाए मर्छु भनेर धम्क्याएँ । उनीहरुले सिङ्गापुरबाट हङ्कङ जाने व्यवस्था गरिदिए ।

सिङ्गापुरबाट हङ्कङ उड्नुअगाडि केही समय बिताउनुपर्ने भएकाले ट्याक्सीमा बसेर कतै जाँदै थिए । सिङ्गापुर हेर्दै भेरी नाइस, पिपुल इज गुड बट बट आइ एम अफ्रेड विथ मलेसिया  भनेको त ट्याक्सी ड्राइभरले त्यसो नभन्नु, म मलेसियन हो भनेर भन्यो । त्यो समय म कलाकार भइखाको जे पायो त्यही बोली हालेँ । मलाई के गर्ने, के गर्ने भयो । 

म्युजिक प्लिज

राजु शाह सरको फिल्म ‘सपनाको नौलो संसार’का लागि बेल्जियम जान टिमका सदस्य मध्य दिलिप रायमाझी, राजु शाह, ऋचा घिमिरे र मलाई मात्र भिसा दियो । त्यहाँ गीतको सुटिङ गर्नुपर्ने थियो । युनिटका सदस्य थोरै थियौँ । दिलिप र ऋचा नाच्ने भएकाले त्यहाँ राजु दाइले निर्देशन र छायाङ्कन, मैले रिफ्लेक्टर र क्यासेट सम्हालेँ ।

त्यो समय एक खुट्टाले रिफ्लेक्टर टेक्दै एक हातले समाएर, अर्काे हातले क्यासेट थिचेर बजाउने गर्थें । त्यो समय क्यासेट बजाउने क्रममा केही कमीकमजोरी भएछ । दिलिपले राम्रोसँग बजाउनु भनेर मलाई हप्काए ।

त्यो समय मलाई रिस उठ्यो र सबै बन्द गरिदिएँ । राजु दाइले के भयो भन्नुभयो । मैले यो नेपाल हो र यति धेरै दुःख गरिरहेको छु । उल्टै हप्काउने । अब म्युजिक प्लिज नभनेसम्म बज्दैन भनेर रोके । त्यसपछि म्युजिक प्लिज भन्न थालियो । हामीले हाँस्दै हाँस्दै सुटिङ सकायौँ ।

बल हान्न सकिनँ

एक पटक नयाँ पत्रिका दैनिकले सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा कलाकार र नेताको फुटबल आयोजना गरेको थियो । त्यो समय स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलगायत धेरै नेता र कलाकार मैदानमा उत्रिएका थिए ।

सुशील कोइराला सुरक्षाकर्मीको निगरानीमा हुन्छ । उहाँको स्वस्थ्य अवस्थाले विशेषमा ध्यान दिनु भनिएको थियो । खेल सुरु भएको केही समयपछि मेरो खुट्टामा बल पर्यो । कसेर हान्छु भन्दा अगाडि सुशील कोइराला पाएँ । मैले बल हान्न सकिनँ । उहाँले पखपख म हान्छु भन्नुभयो । मैले छोडिदिएँ ।

त्यो खेलमा म जति पटक बल नजिक पुगेँ उहाँलाई अगाडि पाएँ । उहाँलाई लाग्ला भनेर मैले बल हान्न सकिनँ ।

कुमार सानुलाई उडाएँ

केही समयअगाडि होटल याक एन्ड यतीमा कुमार सानु नाइट आयोजना भएको थियो । त्यो बेला होस्ट म थिएँ । कार्यक्रम सुरु हुँदा कुमार सानु आउनुभएको थिएन । त्यसैले मैले उहाँ कुमार सानु किन, यति धेरै हिट गायक कुमार ठूले हुनुपर्ने भनेर विभिन्न तरिकाले उडाएको थिएँ ।

केही पहिले कार्यक्रममा आएर उनले सबै प्रस्तुति हेरिरहनुभएको छ । मलाई केही थाहा भएन । स्टेजमा पनि मैले उहाँलाई तपाईंका यति धेरै गीत छन् । चर्चित हुनुहुन्छ । कसरी सानु हुनुभयो भनेर सोधेँ । उहाँले केही नभनी राम्रो माया दिनुभयो ।

भोलिपल्ट भारतीय दूतावासले उहाँको सम्मानमा एक पार्टी दिएको थियो । त्यहाँ म पनि गएको थिएँ । उहाँले त्यहाँ सबैलाई चिनाउँदै यो हेर्दामा छोटा, सानो छ । तर तगडाको मानिस छ भनेर राम्रोसँग चिनाउनुभयो । म  खुसीले गदगद भएँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.