मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५० वर्षअघि शिलान्यास भएको सडक अझै अलपत्र !

एक सातादेखि सडक बन्द गरी स्थानीयवासी आन्दोलनमा
बिहीबार, ०९ वैशाख २०७८, २२ : १०
बिहीबार, ०९ वैशाख २०७८

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ ।

न सडक बनेको छ, न त लापरवाही गर्ने ठेकेदारलाई कारवाही नै भयो, स्थानीय देवी बस्नेत भन्छन्, ‘सडकका कारण हामी वर्षभरि सास्ती व्यहोर्न बाध्य छौं ।

मिक्लाजुङ गाउँपालिका९ का वडाअध्यक्ष सोमनाथ अधिकारी उर्लाबारीमधुमल्ला हुँदै उत्तरी भेग जोड्ने सडकको दुरावस्थाकै कारण त्यस क्षेत्रको समृद्धिको आधार गुमेको बताउँछन् ।

भत्किएको सडक निर्माणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले पटकपटक ठेकेदारलाई दबाब दिएको छ, तर अहिलेसम्म ठेकेदारले सडक निर्माणमा कुनै चासो देखाएको छैन, उनले भने ।

उर्लाबारीमधुमल्ला सडक निर्माण गर्न दबाब दिन मानबहादुर श्रेष्ठको संयोजकत्वमा उर्लाबारीमधुमल्ला १२.४ किलोमिटर सडक निर्माण पहल तथा दबाब समितिसमेत गठन गरिएको थियो । समितिले पटकपटक सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आएको छ ।

५० वर्षअघि शिलान्यास

तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटरमा कालोपत्रे भए पनि गुणस्तरीय काम नहुँदा अधिकांश क्षेत्रमा खाल्डाखुल्डी छ भने सडकको बाँकी खण्ड अझै धुलाम्मे नै छ ।

उक्त सडक निर्माणले पूर्णता नपाउँदा अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नुपरे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किलोमिटर पार गर्नुपर्छ ।

रविबाट झापाको दमक जोड्ने करिब ५९ किलोमिटरको सडकको २० किलोमिटर खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वर्षायाममा उक्त सडकमा पनि यातायात बन्द हुन्छन् ।

उर्लाबारीमधुमल्लारवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्नेमात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्गका रुपमा रहेको उक्त सडकको कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन । पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुन सक्छ, मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने ।

यो सडक उर्लाबारीमा पूर्वपश्चिम राजमार्ग र रवि हुँदै राँके पुग्दा मेची राजमार्गमा जोडिन्छ । तर, सुरुवाती खण्डको उर्लाबारीमधुमल्ला सडकमा टालटुले काम हुँदा सडकको भविष्य नै अन्योलमा परेको छ ।

उर्लाबारीमधुमल्ला खण्डका लागि आठ करोड ९७ लाख २२ हजार रुपैयाँमा प्रेरारज्योति जेभीले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तोकिएको समयभन्दा वर्ष दिन ढिलो गर्दै कालोपत्रे गर्दा पनि ठेकेदार कम्पनीले गुणस्तरीय निर्माण गर्न सकेन । ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रेको काम बीचैमा अलपत्र छाडेको छ । घर अगाडिको सडक कालोपत्रे भएकोमा दङ्ग परेका थियौं, स्थानीय मनोज अधिकारीले भने, ‘तर, भत्किएर हिँड्नै नसकिने भयो ।’ 

काम अलपत्र, एक करोड भुक्तानी

एक चरणको काममात्र गरेर अलपत्र छाडेको ठेकेदार कम्पनीका राजकिशोर गुप्तालाई तत्कालीन डिभिजन सडक कार्यालय विराटनगरले ९९ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गरेको छ ।

त्यसमध्ये ६३ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र काम सम्पन्न भएको छ । स्थानीय बासिन्दाले ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै दिएका छन् ।

डिभिजन सडक कार्यालयले पनि तत्कालीन समयमा ठेकेदारको चरम लापरवाही गरेको निष्कर्ष निकाल्दै कारवाहीका लागि विभाग पठाएको थियो । तर अहिलेसम्म नत सडक कालोपत्रे अघि बढेको छ, न लापरवाही गर्ने ठेकेदारलाई कारवाही भएको छ ।

अहिले यो सडक हेर्ने जिम्मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयमा सरेको छ । कार्यालयले पटकपटक पत्र काटेर निर्माणको काम सञ्चालन गर्न ताकेता गरे पनि ठेकेदार सम्पर्कमा आउन नचाहेको इन्जिनियर शैलेन्द्रकुमार सिंहले बताए ।

ठेकेदारको लापरवाहीले निर्माणको काम अलपत्र हुनुहुँदैन, इन्जिनियर सिंहले भने, ‘आवश्यक अध्ययन र वस्तुस्थिति बुझे लगत्तै सडक निर्माणको कामलाई गति दिन कार्यालयको तर्फबाट आवश्यक पहल हुनेछ ।

ठेकेदार गुप्ताले भने जिम्मा लिएको काम सम्पन्न गर्न आफू तयार रहेको दाबी गरे ।

एक सातादेखि सडक बन्द

मोरङको उर्लाबारीमधुमल्ला जोड्ने सडक निर्माणको माग गर्दै स्थानीयवासी एक सातादेखि आन्दोलित छन् । वैशाख २ गते बिहीबारदेखि स्थानीयबासीले उर्लाबारीमधुल्ला सडक अवरुद्ध पारेर आन्दोलन गरिरहेका हुन् ।

स्थानीय भक्ति प्रसाद पोख्रेलको संयोजकत्वमा उर्लाबारीमधुमल्ला सडक खण्ड मर्मत संघर्ष समिति गठन गरी उर्लाबारी५ र ६ को डिबी मार्ग, अबिरल चोक र मधुमल्लामा सडकमा बाँसको ढाट राखेर सडक अवरुद्ध पारिएको छ । मंगलबार प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङले स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

प्रदेश १ लेखा समितिका सभापति शिवनारायण सिंह गनगाइँ, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)लगायतले स्थानीयको आन्दोलनप्रति समर्थन जनाउँदै आफूहरुले सडक निर्माणका लागि पहल गर्ने वचन दिएका छन् । प्रदेश सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट नहाल्दा ठेकेदार पक्षले काम रोकेको सांसद लिम्बूको भनाइ छ ।

 

सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको करिब ९ वर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

पटकपटक पत्र काटेर निर्माण कार्य नियमित गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ ।

उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप