शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारले कम्युनिस्टहरुकै बदनाम गर्‍यो : किरण

ओली, नेपाल र दाहालको जनतालाई भ्रममा पार्ने चालबाजी
बिहीबार, ०९ वैशाख २०७८, ०८ : ५३
बिहीबार, ०९ वैशाख २०७८

केपी ओली नेतृत्वको सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा विज्ञप्ति जारी गर्दै उनले कम्युनिस्ट पार्टीको सरकार भएकै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘ अहिले नेपालमा नामधारी कम्युनिस्ट पार्टीकोे सरकार छ । तर विडम्बना, यही नै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको छ । नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललाई हस्तगत गर्नेबारे ओली सरकारले भारतसँग कुटनैतिक प्रयास समेत गरेको छैन भने अर्कोतिर एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराई नेपालमा अमेरिकाको सैन्य अखडा स्थापना गर्न र नेपाललाई वैदेशिक शक्ति केन्द्रहरुको रणमैदान गराउन यो सरकार उद्दत् रहेको छ ।’

‘नवउदारवादको सिरानी हालेर तयार पारिएको साम्राज्यवादी आर्थिक नीति र त्यसैले प्रक्षेपण गरेको “सुखी नेपाली र समृद्ध नेपाल”को नारा फोस्रो गफ बन्न गएको छ । भ्रष्टाचारको सीमा छैन र सरकारका हस्तीहरू नै यसमा संलग्न रहेका छन् । सरकार कोभिड–१९को नियन्त्रणमा समेत उदासीन रहँदै आएको छ । वस्तुतः सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको कुरा स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान सङ्कट संसदीय व्यवस्थाका पक्षपाती सबै राजनीतिक पार्टीहरु, स्वयम् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको असफलताको स्वाभाविक परिणाम भएको किरणको ठहर छ । यो सङ्कट यति नै बेला विष्फोट हुनुमा माक्र्सवादको नाममा दक्षिणपन्थी संशोधनवादको अभ्यास गर्ने नक्कली कम्युनिस्टहरुको प्रतिक्रियावादी सार र त्यसैका कारण पैदा भएको सुविधा केन्द्रित अन्तर–कलहको भूमिका रहन गएको उनको जिकिर छ । ‘नाटकीय रुपमा एमाले र माकेका बीच कथित एकता गरी नेकपा (नेकपा)को निर्माण, त्यसमा पैदा भएको पदीय भागबन्डाको झगडा तथा फुट, आपसी गालीगलौज र पछिल्लो विघटनको समग्र प्रक्रियाले नेपालमा दक्षिणपन्थी संशोधनवाद पूर्णतः असफल भएको पुष्टि हुन्छ,’ उनले भनेका छन् ।

‘फेरि पनि केपी ओली, माधव नेपाल र पिके दाहालहरुले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र एकले अर्कोलाई देखाइदिने धम्की दिँदै हिँडेका छन् । यो उनीहरुको आत्मसन्तुष्टि मात्र हो,’ उनले भनेका छन्, ‘त्यसमाथि, साम्राज्यवाद र विस्तारवादका असली सेवकहरुले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र देश र जनताको मुक्ति गर्ने जुन कुरा गर्दै हिँडेका छन् त्यो जनतालाई पुनः धोका दिने र देश लुट्ने बाहेक अरु केही होइन । यो कम्युनिस्टको माया गर्ने जनतालाई भ्रममा पार्ने चालबाजी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप