बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा खाद्यान्न उत्पादनमा गिरावट आउने

जथाभावी खनिएका सडकका कारण खानेपानीका मुहानसमेत सुके
बिहीबार, ०९ वैशाख २०७८, ०८ : १७
बिहीबार, ०९ वैशाख २०७८

रामहरि श्रेष्ठ

लामो समयदेखिको खडेरीका कारण ओखलढुंगामा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आले मगरलेले बताए । आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको उनको भनाई छ । जिल्लाको कुल २३ हजार ८ सय ७० हेक्टर खेती योग्य जमीन रहेको छ । जसमध्ये करिब २ हजार ७ सय ६५ हेक्टरमा गहुँ खेती गरिँदै आएको भएपनि २ हजार तीन सय १२ हेक्टर क्षेत्रफलमा मात्रै सिंचाईको सुविधा रहेको छ ।

सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ छर्न पाएका छैन्न भने छरेका स्थानमा समेत खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् । यो बर्ष समयमा वर्षा नहुँदा सिंचाई सुविधा नभएका ठाउँमा गहुँ बाली सुकिसकेको किसानहरुले बताएका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उत्पादनमा ह्रास आउने संकेत देखिएसँगै बाहिरी जिल्लाबाट गरिने खाद्यान्न आयातमा वृद्धि हुने आँकलन गरिएको छ । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाणमा वृद्धि हुने कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । पछिल्लो समय प्रत्येक वर्ष जिल्लामा हिउँदे बाली उत्पादनमा गिरावट आउने गरेको छ ।  सिंचाईको अभाव रहेका ठाउँका यो बर्ष भोकमरी हुने भन्दै सर्वसाधरण चिन्तित बनेका चम्पादेवी गाउँपालिका वडा नंं. १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए ।  गएको असोजदेखि पानी नपरेका कारण आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको र किसानहरुका खेतबारी बाँझै रहेकाले भोकमरीको चिन्ता बढेको उनको भनाइ छ ।

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न स्थानमा वनजंगलका रुखहरू समेत सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुखहरू सुक्न थाले पछि पानीका मुहान पनि सुक्दै गएका छन । जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार भएको छ । सुख्खापनका कारण यहाँका अधिकांश वनक्षेत्रमा डढेलो लागेको र कतिपय स्थानमा जथाभावी खनिएका सडकका कारण खानेपानीका मुहान समेत सुकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप