शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तात्यो राजनीतिक माहोल, सुरु भयो नेताहरुको दौडधुप

काँग्रेस–माओवादी उत्साहित, केपी–माधवबीच आकस्मिक भेट
बुधबार, ०८ वैशाख २०७८, २१ : ०३
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउन राजनीतिक दलहरुबीच पुनः दौडधूप सुरु भएको छ । नयाँ सरकार गठनको दिशामा केही दिनयता शिथिल देखिएको राजनीतिक गतिविधि बुधबार एकाएक तातेको हो ।

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले अबको केही दिनमै मुलुकको राजनीतिले कोल्टे फेर्ने दाबी गर्नु र नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनु संयोग मात्र होइन ।

ओली नेतृत्वको सरकार विस्थापित गर्नका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रबीच बन्ने गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको सहभागिता अनिवार्य हुन्छ । यद्यपि बुधबारसम्म जसपा नेपालले भने यसबारे कुनै धारणा प्रकाशमा ल्याएको छैन ।

देउवामा आत्मविश्वास

बुधबार आफ्नै निवासमा आयोजित पदाधिकारी बैठकमा काँग्रेस सभापति देउवा निकै आत्मविश्वासका साथ प्रस्तुत भएको सहभागी स्रोतले जनायो ।

देउवाले माओवादी केन्द्र र जसपासँग निरन्तर हुँदै आएको वार्ता फलदायी भएको भन्दै केहीदिनमै ओली नेतृत्वको सरकार विस्थापित हुने दाबी गरे । उनले ओली सरकार ढाल्न तीन दल सहमति नजिक पुगेकाले केहीदिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए ।

​बैठकपछि पार्टीका एक शीर्षनेताले देउवा निकै उत्साहित हुँदै बैठकमा प्रस्तुत भएको जानकारी दिए । ती नेताका अनुसार देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङसमेत गरेका थिए ।

‘चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दैछ’, देउवाको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीलाई बताए ।

माओवादी पनि एक कदम अघि बढ्यो

लामो समयदेखि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि ठोस निर्णय गर्न नसकेको नेकपा माओवादी केन्द्रले बुधबार समर्थन फिर्ता लिने निर्णय गर्दै यससम्बन्धी थप निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

​बुधबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तर त्यसको तिथिमिति तोक्ने तथा आवश्यक पत्र पठाउने अख्तियारी अध्यक्ष प्रचण्डलाई दिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आत्मविश्वासका साथ केही दिनमै राजनीतिले कोल्टे फेर्ने दाबी गर्नु र माओवादी केन्द्रले समर्थन फिर्ताका लागि प्रक्रिया थाल्ने निर्णय एकसाथ गर्नु अर्थपूर्ण मानिएको छ ।

उल्लेखनीय छ, यी दुई दलले केन्द्रमा मात्र नभई प्रदेशमा पनि एमाले नेतृत्वका सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहकार्य गरेका छन् । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव ल्याइसकेका छन् भने प्रदेश १ र बागमती प्रदेशका लागि पनि प्याकेजमा सहमति खोज्ने प्रयास जारी रहेको बताइएको छ ।

चारवटा प्रदेशमा आपसमा गठबन्धन गरिसकेका यी दुई दलले केन्द्रमा पनि ओली सरकारलाई चुनौती दिने तयारी थालेका हुन् ।

जसपालाई फकाउँदै ओली 

सत्ता केन्द्रित राजनीतिक घटनाक्रम तीव्र गतिमा विकसित हुँदै गएका बेला प्रधानमन्त्री ओलीले पनि आफ्नो नेतृत्वको सरकारलाई स्थायित्व दिनका लागि अन्तिम प्रयासस्वरुप जसपालाई फकाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग मंगलबार छलफल गरेका थिए ।

भेटवार्तामा जसपा नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता, बन्दीहरुको रिहाइ लगायतका विषयमा छलफल भएको थियो । जसपा नेपालले यी मागलाई मुख्य शर्तका रुपमा अघि सार्दै आएको छ ।

यद्यपि, जसपा नेपालमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने पक्षमा देखिएका छन् ।

संसदीय दल समायोजन हुन बाँकी रहेका कारण जसपा नेपालले सरकारविरुद्ध अविश्वास प्रस्ताव आएको खण्डमा सिंगो जसपा नेपालका रुपमा नभई राजपा नेपाल र समाजवादी पार्टीका रुपमा आ–आफ्नो खेमालाई ह्वीप लगाएर मतदानमा सहभागी हुने सम्भावना रहेको स्रोत बताउँछ ।

‘फ्लोर क्रस’को डर

कर्णाली प्रदेश प्रकरणले दलहरुमा ‘फ्लोर क्रस’ को डर बढाएको छ । खासगरी नेकपा एमाले यो मामिलामा बढी त्रसित देखिएको छ ।

ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा एमालेमा खनाल–नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने र जसपाका दुवै खेमामा केही सांसदले फ्लोर क्रस गर्न सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।

जसपा नेपालमा रहेको साविक राजपा पक्षका महेन्द्र राय यादव लगायतका केही सांसद ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन् । अर्कोतिर तत्कालीन समाजवादी पार्टीका केही सांसद ओलीसँग सहकार्य गर्न इच्छुक देखिएको स्रोत बताउँछ । यो अवस्थामा संसदीय अंकगणितमा कसको पल्ला भारी हुन्छ भनेर अहिले नै किटान गर्न नसकिने विश्लेषकहरुको भनाइ छ ।

फ्लोर क्रसको यही सम्भावनालाई मध्यनजर गर्दै ओलीले एमालेका २७ सांसदमाथि कारवाहीको तयारी थालेका छन् । तर, सो पक्षले आफूमाथि अवैधानिक तरिकाले कारवाही गर्न थालिएको भन्दै सर्वोच्च अदालतमा न्यायका लागि निवेदन दर्ता गराएका छन् ।

ओली–माधव नेपाल आकस्मिक वार्ता

यसैबीच आफ्ना २७ संघीय सांसदमाथि कारवाहीको चेतावनीसहित स्पष्टीकरण सोधेको भोलिपल्टै प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई होटल मेरियटमा बोलाएर छलफल गरेका छन् ।

ओली–माधव सम्वादअघि माधव नेपाल पक्षका नेता योगेश भट्टराईले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई सहमतिमा आउन आग्रह गरेका थिए । बालुवाटारमा भट्टराईसँगको कुराकानीपछि प्रधानमन्त्री ओली माधव नेपालसँग सम्वादका लागि तयार भएका हुन् । 

कसरी सम्भव भयो वार्ता ?

बुधबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई टेलिफोन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । भट्टराईले आफूलाई प्रधानमन्त्रीले बोलाएको अर्का नेता घनश्याम भुसाललाई जानकारी दिए र उनी बालुवाटार गए ।

बालुवाटारमा करिब डेढ घण्टासम्म प्रधानमन्त्री र नेता भट्टराईबीच कुराकानी भयो । यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट आफूमाथि घेराबन्दी भएको, सरकारलाई सहयोग नगरेको र प्रचण्डसँग मिलेर माधव नेपालले आफूविरुद्ध घेराबन्दी गरेको गुनासो सुनाए । प्रधानमन्त्री ओलीले आफूमाथि कसरी घेराबन्दी भयो भनेर लामो व्याख्या गरेका थिए ।

यसक्रममा प्रधानमन्त्री ओलीले आफू मिलेरै जाने पक्षमा भए पनि अब अलग–अलग पार्टीका रुपमा चुनावमा जानुपर्ने स्थिति आउन लागेको बताएका थिए ।

प्रधानमन्त्रीको गुनासो सुनिसकेपछि नेता भट्टराईले सर्वप्रथम नेकपा एमालेलाई एकतावद्ध बननाउनुपर्ने र यसको पहल अध्यक्षको नाताले प्रधानमन्त्री ओलीले नै लिनुपर्ने बताएका थिए । द्वन्द्व समाधान गर्ने हो भने सम्वाद जरुरी पर्ने भन्दै प्रधानमन्त्रीले माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरुसँग सम्वाद अघि बढाउनुपर्ने भट्टराईले बताएका थिए ।

भट्टराईको सुझाव पछि त्यहीँबाट प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई टेलिफोन गरेको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । ‘प्रधानमन्त्रीज्यूले नेता नेपाललाई फोन गरेर छलफल गरौं, बालुवाटार आउनुस् भन्नुभयो, तर नेपालले बालुवाटार आउँदिनँ भन्नुभयो’ स्रोतले भन्यो, ‘त्यसपछि माधव नेपालले ओलीलाई आफ्नै घरमा आउन आग्रह गर्नुभयो, ओलीले घरमा त आउँदिन भनेपछि साँझ ६ बजे होटल मेरियटमा भेट्ने सहमति भयो ।'

होटल मेरियटका दुई नेताबीच एक्ला एक्लै कुराकानी भएकाले के–कस्तो छलफल भयो भन्ने खुलेको छैन । तर, होटलमा भेटिएका ओली निकट नेता मोती दुगडका अनुसार छलफलपछि दुबै नेता प्रफुल्ल देखिएकाले छलफल सकारात्मक भएको पाइएको छ । यद्यपि भेटमा भएको कुराकानी दुबै नेताहरुले गोप्य राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप