शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको ‘स्टीङ अपरेशन’ अमान्य घोषित, अधिकांश भ्रष्टाचार आरोपीले सफाइ पाउने सम्भावना

बुधबार, ०८ वैशाख २०७८, १५ : १४
बुधबार, ०८ वैशाख २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टीङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएको छ । बुधबार बसेको संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टीङ अपरेशनलाई अवैध भनेलगत्तै अब स्टीङ अपरेशनलाई प्रमाणका रुपमा पेस गरिएका दाबी पनि अमान्य हुने भएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सम्मिलित संवैधानिक इजलासमा यो मुद्दा पुगेको थियो ।

हेर्दाहेर्दैमा रहेको यो मुद्दामाथि २०७७ साल मंसिर २४ गते निसु अर्थात् निर्णय सुनाउने दिन तोकिएको थियो । तर उक्त दिन फैसला हुन नसकेपछि वैशाख ८ गते पेसीमा राखिएको थियो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन अवैध रहेको भन्दै त्यसलाई रोक्न र प्रमाणका रुपमा पेस नगर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गराएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यविधि बनाएर आफैले पैसा दिइ त्यसको फोटोकपी राखेर घुस दिने गरेको थियो । पछि अख्तियारले उक्त रकम समातेपछि त्यसलाई नै मुख्य प्रमाणका रुपमा पेस गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने गरेको थियो ।

अख्तियारले दायर गर्ने दुई तिहाई मुद्दा स्टीङ अपरेसनसँग सम्बन्धित रहेको छ । स्टीङ अपरेशनलाई नै प्रमुख सबुत मान्दै आएको अवस्थामा सर्वोच्चले त्यसलाई अवैध घोषण गरिदिएसँगै अदालतमा विचाराधीन सयौँ मुद्दा प्रभावित हुनेछन् ।  प्रतिवादीले इन्कारी बयान दिएको मुद्दाहरुमा अब उनीहरुले सफाइ पाउने सम्भावना बलियो बनेको छ ।

किनभने सर्वोच्चको आदेशमा स्टीङ अपरेशनलाई ग्रहणयोग्य प्रमाण मान्न नसकिने भनेलगत्तै यसअघि सोही प्रमाणका आधार दायर गरिएका मुद्दाको किनारासमेत छिटो लाग्ने सम्भावना रहेको छ । र अबदेखि कुनै पनि स्टीङ अपरेशन नगर्नसमेत सर्वोच्चले अख्तियारलाई आदेश दिएको छ ।

सर्वोच्चको संक्षिप्त आदेशमा स्टीङ अपरेशन र त्यसका प्रमाणलाई आधार मान्दा अख्तियारका अनुसन्धान अधिकृत स्वेच्छाचारी बनेकोसमेत उल्लेख छ । त्यसकारण अब आइन्दा त्यस्तो कुनै स्टीङ अपरेशन नगर्न संवैधानिक इजलासले आदेश दिएको छ ।

यद्यपि यसअघि सोही सबुत र प्रमाणलाई आधार मानेर फैसला गरिएका र अन्तिम किनारा लागिसकेका मुद्दाको हकमा भने सदर हुने ठहरसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप