शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा अश्वेत नागरिक जर्ज हत्या प्रकरणः पूर्व प्रहरी दोषी ठहर

बुधबार, ०८ वैशाख २०७८, १४ : ३८
बुधबार, ०८ वैशाख २०७८

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।  झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो ।

मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए । जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताएका थिए । अदालतको जुरीमा सात जना महिला र पाँच जना पुरुष रहेका थिए ।

अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो जसमा फ्लोएडले पटकपटक “म सास फेर्न सकिरहेको छैन” भन्ने सुनिएको थियो ।

४६ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए ।

फैसला आउनुअघि अमेरिकी शहरहरुमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप