रात्रिकालीन व्यवसाय बन्द गरिएकोमा व्यवसायीको आपत्ति
काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गर्दै स्कुल, कलेजदेखि होटल, रेष्टुरेन्ट, डान्स बार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।
सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले पर्यटन क्षेत्रको अभिन्न अङ्ग रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ तथा डान्स बारहरु केही समयका लागि पूर्णतः बन्द गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल रात्रिकालीन व्यवसाय बन्द नगराउन सरकारलाई आग्रह गरेको छ ।
व्यवसाय बन्द गरेरमात्र कोभिड–१९ को रोकथाम तथा नियन्त्रण नहुने भन्दै समितिले स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाएर व्यवसाय खुला गर्न सरकारसँग माग गरेको छ । उनीहरुले संगठित रुपमै पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।
‘कोरोनाको विकल्प केवल बन्दमात्र होइन । आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर काम गर्न पाउनुपर्छ,’ समितिका संयोजक विनोद श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालन गराएर सबैखाले व्यवसाय खोल्न दिन म सरकारसँग माग गर्दछु ।’
सरकारले जबरजस्ती व्यवसाय बन्द गर्न खोजे त्यसको प्रतिकार हुने उनको भनाइ छ ।
दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सुनधाराका संयोजक आरसी पोखरेलले सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेर व्यवसायीहरूमाथि अन्याय गरेको भन्दै सो फुकुवा नभए विद्रोह गर्ने चेतावनी दिए ।
‘दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७० हजार व्यवसायी जोडिएका छन् । १७ सय अपाङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौं । त्यतिमात्र होइन, हामीले राज्यलाई करसमेत तिरेका छौं । यति गर्दा पनि हामीमाथि सधैँ प्रहार ?’ पोखरेलले भने, ‘फेरि पनि हामीलाई रोक्न खोजिए विद्रोह हुन्छ । दमन गर्न खोजिए त्यसको सशक्त प्रतिकारमा उत्रन्छौं ।’
व्यवसायीहरुका अनुसार हाल दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने प्रत्यक्ष तथा परोक्ष गरी करिब ७० हजारले रोजगारी पाएका छन् । सो क्षेत्रबाट मात्र सरकारलाई वार्षिक ७ अर्बभन्दा बढी राजश्व प्राप्त भइरहेको उनीहरुको दावी छ ।
पर्यटन बोर्डले भने आवश्यकता र परिस्थितिको बाध्यतालाई मनन् गर्दै व्यवसायीहरुले सरकारको निर्णयलाई आत्मसात् गर्नुपर्ने बताएको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भने, ‘कोभिड–१९ को जोखिमलाई हामीले कम आँकलन गर्नु हुँदैन । अहिले आएको कोरोना भाइरसको दोस्रो लहर निकै खतरनाक रहेको भन्ने सुनेको छु । यसतर्फ हामी सबै सचेत हुनैपर्छ ।’
आफूहरु सधैँ व्यवसायीकै पक्षमा रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिममा स्वास्थ्य सुरक्षाको अधिकतम प्रोटोकल अपनाएर व्यवसायीहरुलाई निर्वाध व्यवसाय गर्न दिनुपर्ने बताए ।
रेग्मीले भने, ‘कोभिड–१९ पछि भर्खर भर्खरमात्र पर्यटन व्यवसायले खुट्टा टेक्न लागेको थियो । त्यसमा पनि रात्रिकालीन व्यवसाय त भर्खरै मात्र सञ्चालनमा आएका हुन् । यी व्यवसाय पुनः बन्द गर्दा सिङ्गो पर्यटन व्यवसाय नै प्रभावित हुन पुग्छ ।’
लामो समयको बन्दाबन्दीले आक्रान्त व्यवसायीहरुलाई पुनः बन्दाबन्दीले ठूलो नोक्सान पार्ने उल्लेख गर्दै उनले सरकारले केही समयका लागि मात्र बन्द गरिएको भनेकाले केही समयपछि पुनः खुल्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
त्यसो त सरकारले कोभिड–१९ को दोस्रो लहर मुलुकमा तीव्र संक्रमण बढेसँगै रात्रिकालीन व्यवसायमात्र होइन, अन्य व्यावसायिक तथा सामाजिक गतिविधिमा समेत कडाई गर्ने नीति लिएको छ ।
जसअन्तर्गत सरकारले अर्को निर्णय नभएसम्म सार्वजनिक स्थलहरुमा अधिकतम ५ जनाभन्दा बढी जमघट, भेला नहुन र सामूहिक पार्टी, सभा सम्मेलन तथा विवाहजस्ता सामाजिक कार्यक्रमहरुमा अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति हुन सार्वजनिक अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी