शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजामा कोरोना संक्रमण : भारतमै भयो कि नेपालमा ?

कोरोनाका नयाँ भेरिएन्ट अत्यन्त घातक छन्, सतर्क बनौँ
बुधबार, ०८ वैशाख २०७८, १० : १०
बुधबार, ०८ वैशाख २०७८

आइतबार १८ अप्रिलमा भारतबाट स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएको खबरले अचम्मित बनायो । उहाँ नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको हो ।  दिल्ली विमानस्थलमा कोरोना नेगेटिभ रिपोर्ट नभएसम्म पस्न पाइँदैन ।  प्राप्त समाचारअनुसार उहाँले १७ अप्रिल शनिबार कोरोना परीक्षण गराउनुभएको थियो ।

उहाँले मात्रै होइन, टोलीमा रहेका सबैजना सदस्यले कोरोना परीक्षण नगराएसम्म हवाई यात्रा गर्नु त टाढै, विमानस्थलमा पस्न सक्ने परिस्थिति छैन दिल्लीमा ।

अर्थात्, आइतबार काठमाडौंमा ओर्लिनु अघिल्लो दिन शनिबार १७ अप्रिलसम्म उहाँमा कोरोना संक्रमण थिएन । १८ अप्रिलका दिन उहाँ काठमाडौं आइपुग्नुभयो । काठमाडौंमा ओर्लिँदा विमानस्थलमा उहाँका फलोअर्सले भव्य स्वागत गरे । उहाँ जुलुसकै रूपमा आफ्नो निवास पुग्नुभयो । मंगलबार २० अप्रिलका दिन उहाँ कोरोना संक्रमित भएको खबर आयो ।

यस पंक्तिकारले १३ अप्रिलका दिन उहाँ हरिद्वारमा रहँदा दोस्रो पटक  भेटेको थियो  । तत्पश्चात् उहाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीमा उहाँ अशोका होटलमा रहनुभएको टोलीका एकजना सदस्यबाट खबर प्राप्त भएको थियो ।

दिल्लीमा रहँदा शनिबार १७ अप्रिलसम्म उहाँलाई कोरोना संक्रमण भएको थिएन ।  उहाँलाई दिल्लीमा कोरोना संक्रमण हुने सम्भावना अति न्यून छ । किनभने, शनिबार दिल्लीमा उहाँको स्वाब लिँदासम्म उहाँलाई संक्रमण भइसकेको थिएन ।

स्वाब दिएपछि उहाँ दिल्लीमा के–कति र कस्ता कार्यक्रममा सहभागी हुनुभयो, त्यसबारे यकिन साथ केही भन्न सकिँदैन ।  यो उहाँ र उहाँको टोली गणलाई थाहा हुने कुरा हो । तर, सामान्य अध्ययन विश्लेषणले अनुमान गर्न सकिन्छ, उहाँ दिल्लीमा संक्रमित हुने सम्भावना अति अल्प छ । विमान यात्राका दौरान पनि संक्रमित हुने सम्भावना न्यून  नै छ ।

काठमाडौंको विमानस्थलमा ओर्लिँदा उहाँको र सम्पूर्ण टोलीको कोरोना परीक्षण हुनुपर्थ्यो ।  यसो भएको भए उहाँ भारतमै संक्रमित भएको अथवा नभएको प्रमाणित हुन्थ्यो ।

अप्रिल १ देखि भारत प्रवेश गरेको यस पंक्तिकारले पहिलो पटक ५ अप्रिलका दिन पुवायां, शाहजहांपुरको सरकारी अस्पतालमा कोरोना परीक्षण गरेको थियो ।  तत्पश्चात ११ अप्रिलमा ज्ञानेन्द्र शाहलाई हरिद्वारको चण्डीघाटस्थित स्वामी कैलाशनन्दजीको दक्षिणकाली आश्रममा भेट्न जानुअघि दोस्रो पटक परीक्षण गरेको थियो ।

​१२ तथा १४ अप्रिलको शाही स्नानमा सम्मिलित भएपछि हरिद्वार छाड्नुअघि १५ अप्रिलमा पुनः हरिद्वारमै यस पंक्तिकारले कोरोना टेस्ट गरेको थियो । १७ अप्रिलको बिहान धनगढ़ी प्रवेश गर्न लाग्दा पुनः परीक्षण गरिएको थियो ।

तात्पर्य के हो भने त्रिभुवन विमानस्थलमै पूर्वराजाको कोरोना परीक्षण भएको भए स्पष्ट हुने थियो कि उहाँ भारतमै संक्रमित हुनुभएको थियो अथवा नेपाल प्रवेश गरेपछि ? विमानस्थलमा उहाँको स्वागतार्थ भेला भएको जनसमूहबाट उहाँ संक्रमित हुन पुग्नुभएको हो कि ? त्रिभुवन विमानस्थलको यस्तो दुरावस्थाले खै नेपालले कसरी कोरोनाको रोकथाम गर्छ ?

अब यो जान्ने कुनै उपाय छैन कि उहाँ भारतमै रहँदा संक्रमित हुनुभएको थियो अथवा नेपाल प्रवेश गरेपछि संक्रमित हुन पुग्नुभएको हो ? उहाँको स्वागतमा विमानस्थल पुगेका प्रत्येक व्यक्तिले आफ्नो परीक्षण गराउन अति आवश्यक छ । त्यहाँ सरिक हुनुभएका महानुभावहरुले अविलम्व परीक्षण गराउन आवश्यक देखिन्छ ।

शनिबार, १७ अप्रिलसम्म ज्ञानेन्द्र शाह कोरोना संक्रमित हुनुभएको थिएन । आइतबार अथवा सोमबार उहाँबाट स्वाब लिएर परीक्षण गर्दा मंगलबार उहाँ संक्रमित भएको रिपोर्ट आएको छ ।

कोभिड १९ अर्थात कोरोनाको पूर्वभेरिएन्टको प्रवृति थियो – भाइरसले शरीरमा प्रवेश गरेपछि २÷३ दिन घाँटीमा बसेर फोक्सोको epithelial​ कोशिकालाई ‘होस्ट’ बनाएर आफ्नो ‘रेप्लिका’ गर्थ्यो । ‘‘रेप्लिका’ गर्दै जाँदा  संख्या बढेपश्चात् यस भाइरसले शरीरका अन्य अंगलाई आक्रमण गर्थ्यो÷गर्छ । यदि पूर्वराजालाई भाइरसको पुरानै प्रारूप (भेरिएन्ट ) को आक्रमण भएको हो भने अहिलेसम्म जे जति ‘लोड’ले उहाँको शरीरमा भाइरसले प्रवेश गरेको हो, त्यसको संख्यामा वृद्धि भएको छैन ।

कोरोनाका विभिन्न नयाँ प्रारूप बारे केही भन्ने अवस्था छैन । यसले शरीरमा प्रवेश गरेपश्चात् घाँटीदेखि फोक्सोसम्म पुग्न कति समय लिन्छ ? यसको अध्ययन हुन बाँकी नै छ ।

यस लेख मार्फत पूर्वराजासँग अनुरोध गर्छु– उहाँले आफु कोरोनाको कुन भेरिएन्टबाट संक्रमित भएको हुँ भन्ने कुरा थाहा पाउन जीन सिक्‍वेन्सिङ लागि पाइला चाल्नुपर्छ ।

बढी सम्भावना उहाँ कोरोनाको कुनै नयाँ भेरिएन्टबाट संक्रमित भएको देखिन्छ । अहिलेसम्म नेपालमा जीन सिक्‍वेन्सिङ परीक्षणको सुविधा उपलब्ध छैन । यसका लागि स्वाब भारत अथवा अन्य कुनै देशमै पठाउने बाध्यता छ । आशा छ, प्रस्तावमाथि विचार गरिन्छ होला ।

चिकित्सा विज्ञानले के भन्छ भने कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ दिन हो । कतिपय केसमा यो समयावधि लम्बिएको पनि पाइएको छ ।

स्थिति दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ ।  भारतमा दिनहुँ २ लाखभन्दा बढी नयाँ संक्रमित आइरहेका छन् । वर्तमान स्थितिको मूल्याङ्कन गर्दा भारतमा यो स्थिति आउँदो दस दिनमा अझै भयावह हुने सम्भावना छ । त्यहाँ दैनिक ५ लाख संक्रमित देखा पर्ने सम्भावना बलियो हुँदै गइरहेको छ ।  त्यहाँ दैनिक मृतक संख्या पनि १५ सय नाघिसकेको छ ।  दैनिक संक्रमित बढ्ने क्रम अनुसार मृतक संख्यामा पनि वृद्धि हुन्छ ।

कोरोनाको ग्राफ कुन विन्दुमा पुगेर ओरालो लाग्ने हो, अहिले केही अनुमान गर्न सकिन्न । अनुमान छ, भारतले कोरोना संक्रमण र कोरोना मृतक संख्यामा यस वर्षको अन्त्यसम्म अमेरिकालाई उछिन्छ  । स्थिति नेपालको पनि चिन्ताजनक भइसकेको छ ।  दैनिक १५ सय भन्दा बढी संक्रमित आउने क्रम देखा परेको छ ।  मृतक संख्या पनि दैनिक १० भन्दा माथि पुगिसकेको छ ।

कोभिड़ १९ का लागि  बनेका भ्याक्सिन कोरोनाका नयाँ भेरिएन्ट विरुद्ध निष्प्रभावी छन् ।  दुबै डोज भ्याक्सिन लगाएका अनेकौं व्यक्ति संक्रमित भइसकेका छन् । भ्याक्सिन लाइसकेका व्यक्ति पनि सुरक्षित छन् भन्ने अवस्था छैन । सबैले आफ्नो सुरक्षाका सम्पूर्ण उपाय आफै पालना गर्नुपर्ने जटिल अवस्था छ ।

नेपालमा कोरोनाका तमाम नयाँ भेरिएन्ट भित्रिसकेका छन् ।  युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्टका संक्रमित फेला परिसकेका छन् । कोभिड १९ बाट संक्रमित भई निको भएका (एन्टीबडी बनेका ) अथवा भ्याक्सिन लिएकाहरुका लागि पनि कोरोनाका नयाँ भेरिएन्ट घातक रहेका छन् । आफ्नो सुरक्षा, आफ्नो परिवारको सुरक्षा आफै गर्नुबाहेक कुनै विकल्प छैन ।

सरकारले घोषणा गर्ने लकडाउनको प्रतीक्षा न गर्नुस् ।  अत्यावश्यक कामबाहेक आफूलाई आफै लकडाउन गर्नुस् । आफूलाई संक्रमित हुन नदिनु नै सबैभन्दा राम्रो उपाय हो ।

नयाँ भेरिएन्टले बालबालिकालाई पनि शिकार बनाइरहेको छ ।  सरकारले स्कुल बन्द गरोस् अथवा जेसुकै नाटक गरोस, तपाईंहरुले आफ्ना बालबालिकालाई सुरक्षित राखने उपाय आफैं गर्नुस् ।

आउने केहीदिनमै नेपालमा कोरोना संक्रमित हुनेको ग्राफ अझै उच्च हुने देखिन्छ ।  व्यक्ति–व्यक्तिले आफै अनुशासित नभएसम्म यो ग्राफ ओरालो लाग्दैन । कोरोना भाइरसका नयाँ भेरिएन्ट पहिलाको तुलनामा कैयौं  गुणा घातक छन् ।  कुनै किसिमको लापरवाही नगरौं । सजग र सचेत बनी कोरोनालाई परास्त गरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप