शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित

बुधबार, ०८ वैशाख २०७८, ०० : ००
बुधबार, ०८ वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।

मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।

मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।

मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए । यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए ।

जितसँगै दिल्ली क्यापिटल्स चार खेलमा तीन जितका साथ अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने चार खेलमा दुई जित र दुई पराजयका साथ मुम्बई इन्डियन्स चौथो नम्बरमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप