शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी

मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ५८
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यस अवधिमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी, पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंक स्थापना भएको वर्ष समाप्तिमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको बैंकले जनाएको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरूबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ । बैंकिङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखि नै पहल कदमी थालेको थियो । 

स्थापना कालदेखि नै  कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको र ४४ जना कर्मचारीबाट शुरु भएको बैंकसँग हाल १ हजार ६ सय जना कर्मचारी आबद्ध रहेको पनि बैंकले जनाएको छ । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकले १११ वटा स्थानबाट एटीएम सेवा प्रदान गर्दै आएको छ । 

बैंकका डेबिट, क्रेडिट/प्रिभिलेज कार्डवाहकले विभिन्न प्रकारको सेवा सुबिधा लिँदा विशेष छुटका साथमा १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकसँग विशेष छुट दिने सम्बन्धी समझदारी भएको बैंकले जनाएको छ । बैंकले क्यूआर कोडको बारेमा जागरण फैलाउने उद्देश्यका साथ एक श्रव्य दृश्य सामाग्री सार्वजनिक गरेको छ । खुद्रा लेनदेन तथा दैनिक कारोबार गर्न क्यूआर कोडको महत्व समेटेर श्रव्य दृश्य सामाग्री पनि निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप