केन्द्रीय संस्करण
अन्तरवार्ता

‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’

मधेसी शक्ति गेमचेञ्जरको भूमिकामा छैन : जेपी गुप्ता

person explore access_timeबैशाख ७, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए । मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पनि बनाएका थिए । सो पार्टीबाट सरकारमा सञ्चारमन्त्री भएकै बेला उनलाई भ्रष्टाचार मुद्दा लाग्यो र पक्राउ परे ।

१३ महिनाको जेल बसाइपछि रिहाइ भएर केही समय तराई मधेस राष्ट्रिय अभियान गठन गरी मधेसमा सक्रिय भएका गुप्ता पछिल्लो समय राजनीतिबाट ओझेलमा परेका छन् । उनी विराटनगरमा कृषि फर्म सञ्चालन गरेर बसेका छन् । भ्रष्टाचार मुद्दाका कारण उनको राजनीतिमा कानुनी विश्राम लागेको छ ।

खेती किसानीमा लागे पनि पूर्वमन्त्री गुप्ता देशका हरेक राजनीतिमा अपडेट छन् । राजनीतिका हरेक विषयवस्तुमा उनले चासो लिइरहेका हुन्छन् । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट टिप्पणी गरिरहेका हुन्छन् ।

प्रस्तुत छ, मधेसको राजनीतिबारे जानकार उनै गुप्तासँग वर्तमान राजनीतिक अवस्था, जसपाको भूमिका लगायतका विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं सक्रिय राजनीति गर्ने मान्छे हुनुहुन्छ, तर एउटा घटनाक्रमले कानुनतः संसदीय राजनीतिमा ब्रेक लाग्यो । राजनीति सक्रियता घटेपछि अहिले के गर्दै हुनुहुन्छ ?

–राजनीतिक सक्रियता भनेकै दलीय सक्रियता हो । तपाईं कुनै स्थानमा हुनुहुन्छ, कुनै महत्त्वपूर्ण पदमा हुनुहुन्छ भने तपाईंको भूमिका रहन्छ अथवा आम मानिसले तपाईंको भूमिका देख्छ । संसद्मा हुनुहुन्न । राजनीतिको कुनै राम्रो भूमिकामा हुनुहुन्न भने राजनीतिमा तपाईंको भूमिका रहन्न ।

म अहिले निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा प्रतिबन्धात्मक अवस्थामा रहेको छु । म कुनै पार्टीको पदाधिकारी हुन सक्दिनँ, निर्वाचनमा उम्मेदवार हुन सक्दिनँ । यस्तो अवस्थामा मेरो कुनै दल भएन आजको स्थितिमा । म कुनै दलमा जाने स्थितिमा छैन । त्यसैले म अहिले आफ्नै घर व्यवहारको कामधन्दा, लेखपढ, स्वअध्ययनमा समय बिताइरहेको छु ।

मधेसवादी दलले झुटको राजनीति गरिरहेको छ । जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ । यसले आम मधेसीलाई मुख जोगाउने कभर दिइरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य रूपमा उठाइएको छ । उहाँ रिहाइ हुनुपर्छ, तर त्यो मधेसको एजेन्डा होइन । संविधान निर्माणका क्रममा मधेसी पार्टीले गुमाएको मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुन सक्दैन ।

तपाईं जेलबाट रिहाइ हुने वित्तिकै तराई मधेस राष्ट्रिय (तमरा) अभियानलाई सक्रिय गर्दै मधेसको राजनीतिमा सक्रिय हुनुभएको थियो, जिल्ला जिल्लामा सङ्गठन बनाउनेदेखि लिएर विभिन्न कार्यक्रमको घोषणा पनि गर्नुभएको थियो । तर, विस्तारै त्यो सक्रियता कम हुँदै गयो र आज कसरी यो अवस्थामा आइपुग्नुभयो ?

म जेलमा हुँदा मधेसका लगभग सबै ठूला नेताहरूसँग मेरो कुराकानी भइरहेको थियो । १६–१७ महिनाको बसाइमा कमसे कम १० पटक महन्थ ठाकुर आउनुभएको थियो । सोही हाराहारीमा राजेन्द्र महतो पनि आउनुभएको थियो । विजयकुमार गच्छदार गृहमन्त्री हुँदा पनि उहाँ पटक–पटक भेट्नका लागि आउनुभएको थियो । हृदयेश त्रिपाठी, शरतसिंह भण्डारीलगायतका नेताहरू आउनुभएको थियो । तर उपेन्द्र यादवजी आउनुभएन । त्यसका केही व्यक्तिगत कारण होलान् ।

त्यो भेटघाटका क्रममा हाम्रो पहिलो ध्यान मधेसको सवालमा केन्द्रित रहनेछ भनेर एउटा सहमति बनाएका थियौँ । त्यतिबेला पहिलो संविधान सभा भङ्ग भइसकेको थियो । नयाँ निर्वाचनको तयारी भइरहेको थियो । त्यतिबेला मधेस निकै कमजोर भइसकेको थियो । दोस्रो संविधान सभामा मधेसलाई शक्तिशाली शक्ति बनाउने र मधेसको राजनीतिलाई सत्ताबाट टाढा राखेर अधिकारको राजनीति गर्ने भनी हामीले सोच बनाएका थियौँ ।

म जेलबाट रिहा भएपछि मधेसमा एउटा स्वतन्त्र सङ्गठन बनाएर अन्य मधेसी नेतासँग भएको सहमतिअनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्दै तराई मधेस राष्ट्रिय अभियान गठन गरेको थिएँ । जेलबाट निस्केको केही महिनामै चुनाव हुने निश्चित भयो । त्यतिबेला तमरा अभियान राम्रो सङ्गठित भइसकेको थिएन । चुनावमा कुसैलाई कुनै पनि प्रकारको प्रतिबन्ध भएन र मलाई कानुनी प्रतिबन्ध लाग्यो र म चुनावमा भाग लिनबाट वञ्चित भएँ । अरू नेता तथा दलहरू चुनावमा सहभागी भए ।

मधेसको विरुद्धमा काँग्रेस, एमाले र माओवादी एक ठाउँमा थिए । यता मधेसवादी दलहरूले एउटा साझा एजेन्डा बनाएर मधेसका अन्य शक्तिसँग सहकार्य गरेर अगाडि बढौँ भने सोच पाइएन ।

उहाँहरू संसदीय राजनीतिमा जानुभयो । सत्ताको खेलमा लाग्नुभयो । मैले जेलमा हुँदा जुन प्रस्तावअघि सारेका थिए त्यसमा उहाँहरूको खासै चासो भएन र देखिएन पनि । म एक्लै मधेसमा हिँड्न थालेँ । तमरा अभियानलाई सङ्गठित बनाउँदै गएँ । १३–१४ जिल्लामा सङ्गठन बन्यो । राम्रा–राम्रा व्यक्तिहरू सङ्गठित हुँदै गए ।

तर, यो क्रम धेरै दिनसम्म चलेन । मसँग कुनै आकर्षण थिएन । त्यही कारणले तमरा अभियानमा भएका साथीहरूले विस्तारै मलाई छाड्दै जानुभयो । मधेसमा त झन् सत्तामा नरहने हो भने राजनीतिक निकै कठिन विषय हो । विस्तारै सङ्गठन कमजोर हुँदै गयो । अहिले तमरा अभियान पूर्ण रूपमा निस्क्रिय छ ।

जेलमा मधेसी नेताहरूसँग भएको सहमतिका आधारमा अहिलेको मधेसको राजनीति अगाडि बढिरहेको छ कि अर्कै बाटोमा गइसकेको छ ?

– पहिलो संविधान सभा चुनावपछि हामी एउटा शक्तिशाली सङ्गठनका रूपमा आएका थियौँ । त्यतिबेला यो देशको निर्णायक शक्तिका रूपमा मधेसी शक्ति आइसकेको थियो । दोस्रो संविधान सभासम्म आउँदा मधेसी शक्ति कमजोर हुँदै गयो । दोस्रो संविधान सभासम्म मधेसवादी दलले राज्य रूपान्तरणको मुद्दालाई आत्मसात गरेको देखिन्छ । दोस्रो संविधान सभाको चुनावपछि मधेसी शक्ति कर्नरमा प¥यो । मधेसको मुद्दालाई सबै अस्वीकार गरिदिए । जस्तो सङ्घीयता बन्यो, संविधानमा जे प्रावधानहरू राखियो, मधेसको चाहनाभन्दा धेरै फरक थियो । त्यसमा मधेसी पार्टीहरूले सफलता हासिल गरेनन् ।

मधेसको विरुद्धमा काँग्रेस, एमाले र माओवादी एक ठाउँमा थिए । यता मधेसवादी दलहरूले एउटा साझा एजेन्डा बनाएर मधेसका अन्य शक्तिसँग सहकार्य गरेर अगाडि बढौँ भने सोच पाइएन । सबैले आआफ्नै डम्फु बजाएका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा थियो । त्यसले चुनावमा भाग नलिने निर्णय गरेको थियो । तर, तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको थियो । उहाँले भित्रभित्रै चुनावको तयारीमा लाग्नुभयो र पश्चिममा उम्मेदवारी पनि दर्ता गराउनुभयो ।

यता राजपा नेपालले उम्मेदवारी दर्ता गराउन सकेन । त्यसको फलस्वरूप राजपा नेपालमा रहनु भएका हृदयेश त्रिपाठी, वृजेश गुप्ता, पशुपति दयाल मिश्रालगायतका नेताहरू अलग भएर एमालेको चुनाव चिन्हबाट चुनाव लड्नुभयो ।

राजपा नेपाल बाध्य भएर प्रदेश २ मा चुनावमा भाग लियो । बडो मुस्किल प्रदेश २ मा तालमेल भयो । ठाउँठाउँमा काँग्रेससँग चुनावी तालमेल पनि भयो । यसरी चुनाव लडेर दुवै दल मिलेर ३४/३५ सिट ल्याए ।

अहिले छिन्नभिन्न रहेका दलहरू अहिले एक ठाउँमा आएका छन् । ती दलहरू एक ठाउँमा रहन्छन् कि रहँदैनन् थाहा छैन, तर मधेसमा जुन सोचले अगाडि बढ्नुपर्ने थियो, त्यो भइरहेको छैन ।

भनिन्छ, पहिलो संविधान सभाका बेला मधेसवादी दलको अवस्था जस्तो थियो अहिले त्यही अवस्थामा आइपुगेको छ, अहिले जे भन्छ त्यही गर्छ भनिन्छ । तपाईंको बुझाइ के छ ?

–पहिलो संविधान सभामा माओवादी एउटा नयाँ शक्तिका रूपमा उदय भएको थियो र मधेस पनि नयाँ शक्तिका रूपमा आएको थियो । तर, त्यतिबेला काँग्रेस र एमालेले माओवादीलाई नयाँ शक्तिका रूपमा मान्यता दिन मानिरहेका थिएन । संसदीय गणितमा माओवादी र मधेसवादी दल नयाँ शक्तिका रूपमा आए पनि काँग्रेस र एमालेले लामो समयसम्म सरकार नै बन्न दिएका थिएनन् । राष्ट्रपति र प्रधानमन्त्री उनीहरूलाई नै चाहिने परस्थिति उनीहरूले निर्माण गरेका थिए ।

पहिलो संविधान सभाको जस्तो गेमचन्जरका रूपमा मधेसवादी दल अहिले छैन । अहिले खेललाई बदल्न सक्दैन । अहिले मधेसवादी दलका लागि जुन दुईवटा सम्भावना छन् तीमध्ये कुनै उपयुक्त होइन । न काँग्रेस, माओवादी केन्द्रलाई समर्थन गरेर केही फाइदा हुन्छ न ओली नेतृत्वको एमालेलाई समर्थन गरेर कुनै फाइदा हुन्छ ।

त्यतिखेर मधेसी जनअधिकार फोरम नेपालले अडान लिएका कारण माओवादीका अध्यक्ष प्रचण्ड गणतन्त्रको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभयो । यो कुरा कसैले बिर्सनु हुँदैन । त्यतिबेला फोरम गेम चेन्जर दलका रूपमा आएको थियो । अहिले रणनीतिक सङ्ख्या मधेसी दलहरूको छ । मधेसी शक्तिहरूले माओवादी र काँग्रेसलाई समर्थन गर्दियो भने उनीहरूको सरकार बन्छ । यता केपी ओलीलाई समर्थन ग¥यो भने सरकार बन्छ । तर, गेमचेन्जरको अवस्थामा छैनन् ।

त्यो किन छैन भने अहिले पनि काँग्रेस, माओवादी र एमाले मिले भने जसपाले केही गर्न सक्दैन अथवा काँग्रेसले केपी ओलीलाई समर्थन गरिदियो भने जसपा नेपालको केही चल्दैन । त्यति मात्र होइन, केपी ओलीले विश्वास मत लिने बेला माधव नेपाल गुटका सांसदले फ्लोरक्रस गरिदिए भने पनि जसपा नेपालको केही चल्दैन ।

अर्थात पहिलो संविधान सभाको जस्तो गेमचन्जरका रूपमा मधेसवादी दल अहिले छैन । अहिले खेललाई बदल्न सक्दैन । अहिले मधेसवादी दलका लागि जुन दुईवटा सम्भावना छन् तीमध्ये कुनै उपयुक्त होइन । न काँग्रेस, माओवादी केन्द्रलाई समर्थन गरेर केही फाइदा हुन्छ न ओली नेतृत्वको एमालेलाई समर्थन गरेर कुनै फाइदा हुन्छ ।

संविधान संशोधनको माग केपी ओलीले स्वीकार गरिदिए भने जसपा नेपालको दोस्रो माग रहेको छ । त्यो लाज छोप्नका लागि उठाइएको विषय मात्र हो । सबैलाई के थाह छ भने केपी ओलीले म संविधान संशोधन गर्ने भन्दै प्रस्ताव दर्ता गराए पनि संशोधन हुने सम्भव छैन । यसका लागि माओवादी केन्द्र र काँग्रेसको पूर्ण सहमति चाहिन्छ । माओवादी र काँग्रेसलाई किनारा लगाएर ओलीसँग मात्र टाँसिएमा यो माग कदापी पूरा हुन सक्दैन ।

प्रधानमन्त्री ओलीले जसपा नेपालका सबै माग पूरा गर्दैछन्, त्यही भएर समर्थन गरिरहेको भनिन्छ नि ?

–मधेसवादी दलले झुटको राजनीति गरिरहेको छ । जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ । यसले आम मधेसीलाई मुख जोगाउने कभर दिइरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य रूपमा उठाइएको छ । उहाँ रिहाइ हुनुपर्छ, तर त्यो मधेसको एजेन्डा होइन । संविधान निर्माणका क्रममा मधेसी पार्टीले गुमाएको मुद्दा रेशम चौधरीको रिहाइबाट प्राप्त हुन सक्दैन । किनभने त्यो एउटा तपशीलको विषय हो, देहायको विषय हो । त्यो मूलभूत राजनीतिक एजेन्डा होइन ।

संविधान संशोधनको माग केपी ओलीले स्वीकार गरिदिए भने जसपा नेपालको दोस्रो माग रहेको छ । त्यो लाज छोप्नका लागि उठाइएको विषय मात्र हो । सबैलाई के थाह छ भने केपी ओलीले म संविधान संशोधन गर्ने भन्दै प्रस्ताव दर्ता गराए पनि संशोधन हुने सम्भव छैन । यसका लागि माओवादी केन्द्र र काँग्रेसको पूर्ण सहमति चाहिन्छ । माओवादी र काँग्रेसलाई किनारा लगाएर ओलीसँग मात्र टाँसिएमा यो माग कदापी पूरा हुन सक्दैन । यो राजनीतिक कमोडिटी हो ।

मधेसवादी दलले संविधान संशोधन हुँदैछ, रेशम चौधरी रिहाइ हुँदैछन् भनेर आफूलाई मधेसमा बेच्न सक्छन् । तर, माग पूरा गराउन सक्दैनन् । त्यसैले म के भन्छु भने यो राजनीतिक एजेन्डा होइन, कमोडिटी मात्र हो । यहाँ विप्लवका मान्छे रिहाइ हुन्छन् भने रेशम चौधरी किन रिहाइ हुँदैनन् ? एकै रातमा प्रचण्डका पाँच हजार मान्छे रिहाइ भए भने मधेस आन्दोलनमा पक्राउ परेकाहरू किन रिहाइ हुँदैनन् ? सीके राउतका सबै मान्छे रिहाइ हुन्छन् भने मधेस आन्दोलनका क्रममा पक्राउ परेका मान्छे किन रिहाइ हुँदैनन् ?

मधेसी आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता हुने कुरा प्रचण्डजीको क्याबिनेटबाट नै पास भएको हो । माधव नेपाल नेतृत्वको क्याबिनेटले पनि मधेस आन्दोलनका क्रममा पक्राउ परेका र मुद्दा लागेकाहरूको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसपछि बनेको झलनाथ खनालको सरकारले पनि त्यस्तै निर्णय गर्यो । त्यसपछि बनेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि त्यही निर्णय गर्यो । अहिले पनि त्यही भइरहेको छ ।

अर्थात– सरकारले मुद्दा फिर्ता लिने र बन्दी रिहाइ गर्ने निर्णय पटक पटक गरेका छन् । तर, हालसम्म मधेस मुद्दका बन्दी किन रिहाइ भएनन् ? किन मुद्दा फिर्ता भएन त ? यसैबाट के प्रष्ट हुन्छ भने मधेसका मुद्दालाई दुवै पक्षले एउटा वस्तुको रूपमा प्रयोग गरिरहेका छन् । राजनीतिको टुल बनाएका छन् ।

अधिकांश नेता तपाईंका राजनीतिक सहकर्मी हुनुहुन्छ । सबैलाई राम्रोसँग बुझ्नु पनि भएको छ । माओवादीलाई समर्थन गर्ने कि एमालेलाई समर्थन गर्ने भनेर जसपा नेपाल विभाजित किन भएको छ ?

–जसपा नेपाल दुईवटा छुट्टै कमेस्ट्रीको पार्टी हो । यी दुई दलबीच एकीकरण हुनुहुँदैनथ्यो । आखिर जे भयो, राम्रै भयो । तत्कालीन राजपा नेपालमा मधेसका अधिकांश डेमोक्रेटहरू र सद्भावना पार्टी लाइनका नेताहरू छन् । तत्कालीन समाजवादी पार्टीमा अधिकांश नेता वामपन्थी लाइनका नेता छन् ।

राजपा नेपालमा रहेका नेताहरूबीच ट्युनिङ मिल्थ्यो । उहाँहरू कमसेकम एक ठाउँमा बस्नुहुन्थ्यो । समाजवादी पार्टीमा पनि त्यही अवस्था थियो । तर यी दुई पार्टी आपसमा मिलेका छन् । अलग अलग विचारधाराका पार्टी अलग अलग रहँदा ठिकै हुन्थ्यो तर एकताको दबाबले ती दुई दल प्राविधिक रूपमा मिले । तर, दुईवटै दलका नेताहरूको अभिव्यक्ति सुन्दा एक छैनन् जस्तो लागिरहेको छ । उपेन्द्र यादवले प्रचण्डलाई समर्थन गर्नुपर्छ भनिरहनुभएको छ भने महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुपर्छ भनिरहनुभएको छ ।

एउटै पार्टीमा बसेर यसरी फरक फरक धारणा आउनु सर्वथा राम्रो होइन । र, यो राम्रो सङ्केत पनि होइन । यसले आउने दिनमा मधेसको साख घटाउनेछ र मधेसको मुद्दा कमजोर पार्नेछ ।

भोलि गएर कुनै एउटालाई समर्थन गरेर निकास दिने अवस्था सिर्जना भयो भने मधेसले कसलाई साथ दिँदा उपयुक्त हुन्छ ?

–मधेसवादी दल पटक–पटक चुकेको छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिन सक्दैन । म जेलमा हुँदा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई एउटा म्यासेज पठाएको थिएँ, तपाईंका लागि एउटा ठूलो अवसर हो, पहिलो संविधान सभाबाट मधेसीलाई किनारा लगाइदियो ।

अब दोस्रो संविधान सभामा पनि मधेसीलाई किनारा लगाउने प्रयास भइरहेको छ । दोस्रो संविधान सभाको चुनाव हुन गइरहेको छ । त्यसमा मधेसवादी दललाई कमजोर बनाउने रणनीति तयार भइरहेको छ । मधेसी दललाई छेउमा राखेर राजनीतिक सहमति बन्दैछ । यसबेला तपार्इंले तपाईंहरू मिलेर आउँदा मधेसीलाई पनि मिलाएर ल्याउनुस् अनि मात्र चुनावी सरकारको गठन प्रक्रिया अगाडि बढाउँछु भन्नुभयो भने केही सम्भावना हुन्छ भनेको थिए । उहाँले त्यस्तै गर्नुभयो ।

मैले राजेन्द्र महतोलाई जेलमा बोलाएर के भनेको थिएँ भने राष्ट्रपति रामवरण यादवले तपाईंहरूलाई ठूलो मौका दिनुभएको छ । यसलाई क्यास गर्नुस् । तपाईंहरुको सहमतिबेगर अब कुनै कुरा अगाडि बढ्दैन अब तपार्इंहरू आफ्नो एजेन्डा राख्दै अगाडि बढ्नुस् भनेको थिएँ । तर उहाँहरूले त्यस्तो गर्नुभएन । महन्थ ठाकुरहरू आआफ्ना मन्त्री बनाएर नै खुसी हुनुभयो । मधेसवादी दलहरू उपयुक्त समयमा पोजिसन लिन चुक्छन् र पछि त्यसैका लागि रोइकराई गर्छन् । अहिलेको अवस्था पनि त्यही हो ।

अहिले पनि मधेसवादी दल आफ्नो एजेन्डामा चुक्दैछन् । अहिले निरपेक्ष बस्ने अवस्था छ । उपेन्द्र र महन्थ ठाकुरलाई पनि के थाह छ भने अहिले कुनै पनि दलले माग पूरा गर्न सक्दैनन् । उनीहरूले आफूलाई समर्थन गराउन र सरकार बनाउनका लागि माग पूरा गरिदिने भन्दैछन् । अनि त्यस्तो भ्रममा किन पर्ने ? अहिलेको विवाद तपाइँहरुको हो । तपाईंहरू सल्ट्याउनुस्, हामीलाई सरकार र सत्तासँग कुनै मतलब छैन भन्नुपर्यो । मधेसवादी दल तटस्थ बसिदिए भने बाध्य भएर काँग्रेस, माओवादी, एमालेहरू मिल्छन् र मधेसवादी दल विपक्षी दलका रूपमा बस्नुपर्छ । संसद्मा आफ्नो पोजिसन लिनुपर्छ । त्यो नभए चुनाव हुन्छ ।

चुनावबाट मधेसवादी दल डराउनु हुँदैन । चुनाव भयो भने आठ वटा जिल्लामा सीमित भएको जसपा नेपाल पूरै मधेसमा जानसक्छ । सङ्गठन बनाउन सक्छ । यसले एउटा बलियो शक्ति निर्माण गरेर आउने सम्भावना म देख्छु ।

कुनै घरमा झगडा हुँदा छिमेकीहरूले चासो लिइरहेका हुन्छन् नि । त्यस्तै यहाँ पनि भएको छ । यहाँको घर झगडामा बाहिरकाले पनि चासो लिइरहेका छन् । तर बाह्य शक्तिले जतिसुकै चासो लिए पनि आफूले अडान लिएपछि उनीहरूको केही चल्दैन भन्ने कुरा पहिला देखाइसकेको छ ।

काँग्रेस पार्टीले आफ्नो पोजिसन किन स्पष्ट पारेको छैन त ?

–काँग्रेस आफ्नो पोजिसनमा ठीक छ । उसको लागि अहिले दुईवटै अवसर छ । एउटा जसपा, काँग्रेस र माओवादी मिलेर सरकार बनाउनसक्छ । त्यहाँ पनि काँग्रेसले नेतृत्व लिन सक्छ ।

काँग्रेसले केन्द्रीय समितिबाट निर्णय पनि गरिसकेको छ । ओलीको एमालेसँग मिलेर पनि काँग्रेसले सरकार बनाउन सक्छ । त्यसकारण ओलीलाई पनि चिढ्याएको छैन । काँग्रेसले ओली नेतृत्व सरकारसँग सहकार्य पनि गरिरहेको छ । ढिलोचाँडो काँग्रेसका दुईवटै हातमा लड्डु हुन्छ ।

काँग्रेसले सरकारको नेतृत्व गर्ने निर्णय गरिसकेपछि त्यसको प्रक्रियामा किन जाँदैन त ?

–अहिले राजनीतिमा धेरै खेल भइरहेका छन् । अहिले बाहिरबाट हेरे जसरी राजनीति अगाडि बढिरहेको छैन । कर्णाली प्रदेशको घटनाले सबैलाई झस्काइदिएको छ । कर्णालीको घटना हेर्दा ओलीले सोचेको जस्तो राजनीति हुँदैन । जसपा नेपालले सोचेजस्तो पनि हुँदैन । काँग्रेसले सोचेजस्तो पनि हुँदैन र माओवादी केन्द्रले सोचेजस्तो पनि हुँदैन ।

कर्णालीमा त्यहाँका मुख्यमन्त्रीलाई काँग्रेसले समर्थन दियो । एमाले ह्विपलाई कसैले उल्लङ्घन गर्दैन भने कुराको विश्वास प्रधानमन्त्री ओलीलाई थियो । तर चारजनाले फ्लोरक्रस गरिदिए । अब ओलीले केन्द्रमा विश्वासको मत लिन जानुभन्दा पहिले सय चोटि सोच्नुपर्छ । त्यसैले सोचेजस्तो अवस्था  अहिले छैन ।

त्यसो भए अहिले जति पनि राजनीतिक खेल भइरहेका छन् तिनमा घरेलु खेल मात्र छन् कि बाह्य खेल पनि छन् ?

–हाम्रो राजनीतिमा केही भयो भने विभिन्न शङ्का र उपशङ्का गर्ने गरेको देखिन्छ । तर मैले के देखेको छु भने आपसको वैरभाव नै यसको प्रमुख कारण हो । सहकार्य अभावको संस्कृति पनि यसको एउटा कारण हो । यसमा विदेशीको हात छैन पनि भन्न सक्दैनौँ । हामी देखिरहेका छौँ, यसमा भारत, चीन, अमेरिका सबै सक्रिय छन् । तर झगडाको जड घरेलु नै हो ।

कुनै घरमा झगडा हुँदा छिमेकीहरूले चासो लिइरहेका हुन्छन् नि । त्यस्तै यहाँ पनि भएको छ । यहाँको घर झगडामा बाहिरकाले पनि चासो लिइरहेका छन् । तर बाह्य शक्तिले जतिसुकै चासो लिए पनि आफूले अडान लिएपछि उनीहरूको केही चल्दैन भन्ने कुरा पहिला देखाइसकेको छ ।

संविधान निर्माणका क्रममा भारतका तर्फबाट हस्तक्षेप भएकै हो । संविधान निर्माणको कार्य नगर्न भनेको थियो तर अडान लिएपछि भयो नि । त्यस्तै माओवादी र एमालेबीच एकीकरण हुँदा त्यसलाई रोक्ने प्रयास पनि भएको थियो । तर नेताहरूले अडान लिएपछि त्यो पनि सम्भव भयो । बाह्य शक्तिले जे गरे पनि आफू ठीक भए कसैको केही चल्दैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.