शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले तोक्यो क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति, बैशाख १५ पछि इन्ट्री नहुने

सोमबार, ०६ वैशाख २०७८, २२ : ५८
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको अन्तिम मिति तोकेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ७३ जिल्लालाई नवीकरण र नयाँ क्रियाशील सदस्यताको इन्ट्री गर्न वैशाख १५ को अन्तिम मिति निर्धारण गरेको छ ।

केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकका अनुसार बैशाख १५ गते राति १२ बजेदेखि नवीकरण र नयाँ क्रियाशील सदस्यता कम्प्युटर सफ्टवेयरमा इन्ट्री हुने सिस्टम स्वतः बन्द गरिने छ ।

यस्तै क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेबी रकम लगायतका कागजातसहित जिल्लाको प्रतिवेदन वैशाख १७ गते ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु बैठकले निर्देशन दिएको छ ।

लेखकका अनुसार अन्य राजनीतिक दलबाट नेपाली काँग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “अन्य राजनीतिक दल समायोजन समिति” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने छ ।

त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले बैशाख मसान्तभित्र केन्द्रमा पुर्याइसक्नु पर्ने र त्यसको इन्ट्री क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गरिएको छ ।

सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रकृया शुरु भएकोले ती जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा इन्ट्री समय दिइएको छ ।

यस्तै देशभरका विभिन्न जिल्लाबाट नवीकरण र नयाँ सदस्यको प्रविष्टि भइरहेको लेखकको भनाइ छ। सोमबार दिउँसो २ बजे र १९ मिनेट जाँदासम्म ६ लाख ५ हजार ४ सय ३ जना क्रियाशील सदस्यहरुको विवरण केन्द्रीय कार्यालयमा इन्ट्री भएको छ ।

जसमध्ये ३ लाख १९ हजार ३ सय ३५ जना नवीकरण गर्नुपर्ने क्रियाशील सदस्य रहेका छन् । त्यस्तै नयाँ क्रियाशील सदस्यहरुको संख्या २ लाख ८६ हजार ६८ रहेको छ । क्रियाशील सदस्यता थपिने क्रम जारी रहेको उनले बताए । 

सफ्टवेयरमा इन्ट्री भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने लेखकले जानकारी दिए ।

आगामी भदौ ७ १० महाधिवेशन गर्ने तयारीमा जुटेको नेपाली काँग्रेसलाई समयमा नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भइ नदिँदा समस्या खडा भएको देखिन्छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राखेका थिए । अर्को बैठक बुधबार बस्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप