शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसद्वारा भर्त्सना

सोमबार, ०६ वैशाख २०७८, २० : ५८
सोमबार, ०६ वैशाख २०७८

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले  प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएकोमा आपत्ति जनाएको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर काँग्रेस बैठकले गरेको छ ।

काँग्रेसले सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्त्सना पनि गरेको छ । यस्तै काँग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न माग गरेको छ ।

बैठकको निर्णयमा  भनिएको छ, कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र द्रुत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गरेको छ ।

साथै कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम नागरिकलाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप